-अनिल योगी वाम गठबन्धनले संसद्मा प्राप्त गरेको करिब दुईतिहाइ बहुमतका साथ एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् । उनी विगतका प्रधानमन्त्रीभन्दा फरक हुनेछन् या पूर्वजको शैलीलाई अनुसरण गर्दै पतन हुनेछन् ? मूूल्यांकन हुन बाँकी छ । संसारभरका शासकहरूको पतन सत्तामा पुगेपछि राज्यबाट सबै सुविधा लिने र आफ्नो पूर्ववत जीवनको धरातललाई बिर्सिदिने रोगका कारण हुने गर्दछ । समाज र राष्ट्रको उत्थानका निमित्त भन्दा पनि आफ्नो उत्थानका निमित्त राज्यसत्ता र शक्तिको चरम दुरूपयोग गर्ने प्रवृतिबाट शासकहरू मुक्त हुन सक्दैनन् ।
राष्ट्र र समाजप्रति फराकिलो दृष्टिकोण बनाउन नसक्ने शासकहरू लोकसम्मतिको शासन व्यवस्थाको वकालत् त गर्छन् तर व्यवहारमा लोकतन्त्रवादी हुन सक्दैनन् । जनतालाई आश र त्रास दुबै अस्त्र प्रयोग गरेर राज्यसत्तालाई सधैँ आफू अनुकूल बनाइराख्ने ध्याउन्नमा फसेका हुन्छन् । नेपालका नेताहरूका प्रवृतिलाई बुझ्दा नेपालका राजनीतिक दल र नेताहरू शासक बन्न र शासन गर्न योग्य छैनन भन्ने कुरा सहजै बुझ्न सकिन्छ । हुलहुज्जत गर्नु, समाजमा दंगा फसाद गर्नु मात्र राजनीति होइन । शासन सत्तामा पुगेपछि राष्ट्र र जनताको उत्थानका लागि कस्तो राजनीतिक चरित्र र चिन्तन प्रदर्शन गर्छन् त्यो मुख्य कुरा हो ।
नेपालमा कुनै पनि राजनीतिक दल र नेताहरूले जनतासामु जतिसुकै क्रान्तिकारी गफ गरे पनि सत्तामा पुग्दा सच्चा नेपाली भएर राजनीतिक चरित्र प्रदर्शन गर्न सकेनन् । नेपालका नेताहरूले सामाजवाद, साम्यवाद, उदारवादका नानाथरी हावादारी राजनीतिक दर्शनका निकै चर्को स्वरमा भाषण त गरे तर आपूmले फलाक्दै आएको राजनीतिक सिद्धान्तलाई आत्मसाथ गर्न सकेनन् । शासनसत्तामा पुग्ने भनेको राष्ट्रको विकास गर्नका लागि र जनतालाई शान्तिपूर्ण तरिकाले बाँच्न सक्ने स्थिति र विधि निर्माण गर्नका लागि हो भन्ने कुराको चेतना नेपालका नेताहरूका दिमागमा छिर्न सकेन । मुठ्ठिभर नेताहरूले मुख मिलाएर सञ्चालन गरिने शासन व्यवस्थाले प्रजातन्त्र र जनमतको प्रतिनिधित्व गर्न सक्दैन भन्ने कुरा आफूलाई प्रजातन्त्रका मसिया ठान्नेहरूले बुझ्नै चाहेनन् ।
प्रजातन्त्रअर्थात लोकतन्त्र अर्थ एउटै हो, त्यो शासन व्यवस्था सञ्चालनको माध्यम मात्र हो । प्रजातन्त्रअर्थात लोकतन्त्र कुनै खाद्य वस्तुजस्तो आयात गरिने वस्तु होइन । प्रजातन्त्र वा लोकतन्त्र भनेको मानिसको अन्तरहृदयबाट मुखरित हुने नैतिक र मौलिक चरित्र र चिन्तन हो । यो देशका नेताहरू बारम्बार प्रजातन्त्र वा लोकतन्त्रका आदर्शवादी कुरा गर्छन् जनतालाई आन्दोलित गराउँदै राष्ट्र र जनताको क्षति गराउँछन् तर वास्तविक प्रजातन्त्र अनुकूलको शासन शैली र राजनीतिक चरित्र जनताबीच प्रस्तुत गर्न सक्दैनन् । जनमुखी प्रजातान्त्रिक शासन व्यवस्था सञ्चालन गर्नका लागि सक्षम राजनेता हुने हो भने दशकाैँ वर्ष लाग्दैन ।
सक्षम राजनेतासँग बनिबनाउ विकासको कार्यक्रम र समाज व्यवस्थापनको राजनीतिक र सामाजिक दृष्टिकोण हुन्छ । त्यस्तो चेतना भएको नेतालाई मात्र राजनेताको उपाधि दिनु न्याय संगत हुन्छ । एकले अर्कोलाई धारेहात लगाउने र दुनियाँलाई विभाजित गर्दै आफ्नो स्वार्थ पूरा गर्नेहरूलाई राजनेता भन्न सुहाउँदैन र भन्नु पनि हुँदैन । हाम्रो राष्ट्र कमजोर हुनुको मुख्य कारण राजनेता नहुँदाको परिणाम हो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक जनाका पहलमा र बाँकी हाम्रा पुर्खाहरूका तागतमा नेपाल राष्ट्र निर्माण हुन सक्यो । राजा महेन्द्र एक जनाको बल र विचारमा नेपाल राष्ट्र पूर्णरूपमा स्वाधीन बनाइयो र देशमा विकासका पूर्वाधार पनि निर्माण गरिए ।
मलेसियामा एक जना डा. मोहम्मद महाथिरले त्यति ठूलो काम गरे, सिंगापुरमा लिक्वान यु एक जनाले सिंगापुर बनाए । राष्ट्रको विकास गर्न र जनतालाई सुखको जीवन दिनका लागि राजनेता धेरै चाहिँदैनन् भन्ने कुराको यो प्रमाण हो । एक÷दुई जना गतिला विचार भएका राजनेता भए मात्र पुग्दोरहेछ । नेपालमा लम्पड नेताहरूको संख्या हजाराैँ पुगिसक्यो, भाषणमा सबैले नेपाल राष्ट्रलाई सिंगापुर बनाउँछाैँ भने र अहिले पनि भन्दैछन् । तर, देशलाई विगतको भन्दा कमजोर बनाए र नेपाली समाजलाई छिन्नभिन्न बनाए । गरिबीको रेखामुनि रहेका नेपालीका लागि नेपालका नेताहरूले ठोस उत्थानको कुनै कार्यक्रम अघि सार्न सकेनन् ।
यो वा त्यो व्यवस्थाका नाममा जनताको बाँच्न पाउने नैसर्गिक अधिकार दलका नेताहरूले बन्धक बनाए । जनताका लागि राजनीतिक दल र यी दलका नेताहरूले शिक्षा, स्वास्थ्य र रोजगारको उपयुक्त प्रवन्ध मिलाउन सकेनन् । शिक्षा र स्वास्थजस्ता जनताका लागि सर्वसुलभ हुनुपर्ने निकायमा दलकै धनी नेताहरू र अन्य आर्थिक माफियाहरूले लगानी गरेर जनताको चरम शोषण गरे र अहिले पनि गर्दैछन् । यो दुई दशकमा धेरै नेताहरू धनी बनेका छन् तर गरिब नेपाली जनताको जीवन जहाँको त्यहीँ छ । देशभित्र काम र मामको व्यवस्था हुन नसक्दा ५०आँै लाख नेपाली युवा विदेशी मुलुकमा रगतपसिना बगाउँदै छन् । यस्ता विषयले यो देशका नेताहरूलाई अलिकति पनि छुँदैन ।
पुँजीको गरिबी र दरिद्रताभन्दा चेतना र विचारको गरिबी र दरिद्रता निकै डरलाग्दो हुने रहेछ । राष्ट्र र राज्यको पहिलो धर्म भनेको आफ्नो दुनियाँलाई कसरी हुन्छ सुख र सुविधा दिने हो । शासकहरू त्यसैका लागि जन्मिन्छन् र जन्माइन्छन् । हाम्रो देशमा राष्ट्र र राज्यविरुद्ध अपराध गर्ने नेताहरू जन्मिन्छन् र जन्माइन्छ । राज्यसत्तामा पुग्दा कथित नेताहरू भ्रष्टाचार गर्न र गराउन उद्यत हुन्छन् । नेताहरूले आफूलाई नियन्त्रण गर्ने कुनै पनि निकाय बाँकी राखेका छैनन् । नेता अनुकूल हुँदा सबै ठीक हुने नेताहरू अनुकूल नहुँदा लोकमानसिंह कार्की र सुशीला कार्कीले माहाअभियोगको सामना गर्नुपर्नेजस्ता घटना घटाउने नेताहरू इमानदार हुन् भन्ने कुनै आधार छैन ।
अदालतका न्यायाधीश, अख्तियारका प्रमुख, प्रहरी र सेनाका प्रमुख नेताहरूका तजबिजमा छानेर राख्ने दलका नेताहरूलाई नियन्त्रण गर्न सक्ने कसैको हिम्मत हुँदैन । यस्तो राष्ट्र र राज्य आमदुनियाँप्रति इमानदार हुनुपर्ने बाध्यता पनि हुँदैन । दलका नेताहरूले जे जे भन्छन् त्यो त्यो गर्न वाध्य हुने राज्यका सबै उच्च निकायमा बस्नेहरूसँग राष्ट्रिय चरित्र समाप्त भएको छ । राष्ट्रिय चरित्र र चिन्तनविनाको उच्च ओहदा विवेकयुक्त मानिसका लागि गलपासो हुन्छ । जुन राष्ट्रका शासक प्रशासकहरूको दिमागमा राष्ट्रिय चरित्रको खडेरी परेको हुन्छ, त्यो राष्ट्रको उच्च ओहदामा बस्नेहरूले आफ्नो ओहदाको औचित्य पुष्टी गर्नु आवश्यक हुँदैन ।
राजनीतिक दलका नेताहरूले मात्र होइन, यो देशका विद्वान बुद्धिजीवीहरूले समेत राष्ट्र र नेपाली जनतालाई धोका दिए । आफ्नाे स्वार्थका लागि जे पनि गर्ने नेताहरू र समाजका अगुवा भन्नेहरूले राष्ट्र र नेपाली जनताप्रति घोर अन्याय गर्ने काम गरेका छन् । राज्यसत्ता र यो व्यवस्था आफ्नो राष्ट्र र समाजप्रति न्याय गर्न नसक्नेहरूका कब्जामा परेको छ, भने वुद्धिजीवी भन्नेहरूले नेपाली समाजमा चरम रूपमा भ्रम सिर्जना गर्ने काम गरेका छन् । के गर्दा नेपाल राष्ट्र र नेपालीको उत्थान हुन्छ र के गर्दा राष्ट्र र नेपालीलाई दुःख हुन्छ भन्ने कुरा सोच्न र बुझ्न नसक्ने निम्नस्तरको चेतना र चिन्तनले राष्ट्र र समाजको प्रतिनिधित्व गर्न सक्दैन ।
जातीय र क्षत्रीय विभाजन निम्त्याउने राजनीतिक नेतृत्वको घोर विवेकहीनप्रति मुकदर्शक भएर बस्न सक्ने विद्वता भएका समाजका बुद्धिजीवीहरूलाई मातृभूमिको पाप अवश्य लाग्नेछ । जब देश विखन्डन र विग्रहको भूमरिमा फस्नेछ, त्यसपछि मात्र समाजका बुद्धिजीवीहरूको दिमागमा लागेको बट्टा खुल्नेछ । संविधान नियम कानुन कमजोर भएको हुनाले राष्ट्रको विकास हुन नसकेको हो र नेपालीले सुखको जीवन बाँच्न पाएनन् भन्नेजस्ता हावादारीतर्क गर्ने पाखन्डता सचेत नागरिकका लागि पाच्य हुने विषय हुँदै होइन । राष्ट्र र समाजलाई हाँक्ने भनेको मानिसका विवेकयुक्त विचारका आधारमा हो ।
संविधान नियमकानुन साधन मात्र हुन् साध्य होइनन् । राजनीतिक विचार भएको विवेकयुक्त राजनीतिक नेतृत्वले मात्र राष्ट्रको उत्थान गर्नसक्छ । मुल विषयलाई ओझेलमा राखेर हुलका हुल कथित नेताहरू जन्माउँदैमा उन्नत प्रकारको चिन्तन र राजनीतिक आदर्श भएको राजनेता जन्मिने पनि होइन । यस्तै अराजकता र अव्यवस्थामा मानिसको जन्म त हुन्छ । तर, मान्छे जन्मिन पनि समाजको चेतना परिपक्क नहुँदासम्म मानिस जन्मेर पनि केही नाप्न सक्दैन । असल मान्छेका लागि यस्तो अनैतिक विधि र व्यवस्था घाँडो हुन्छ ।
यस्तो व्यवस्थाले राष्ट्र र समाजको कल्याण गर्न सक्दैन भन्ने विषयप्रति सजक भएर समाजमा अदृश्य भएरै धेरै मानिस बाँचेका हुन्छन् । राष्ट्रलाई म यस्तो बनाउँछु र दुनियाँको जीवन यस्तो सुखद् बनाउँछु भन्ने चेतना शासकहरूका दिमागमा हुनुपर्छ । विदेशीले प्रतिपादन गरेका सिद्धान्तका किताब घोकेर मात्र राष्ट्र र दुनियाँको उत्थान गर्न सक्ने जबर्जस्त विचार पैदा हुन सक्दैन, आजको संकट विचार विहीनताको मात्र हो । विचार गतिलो भएको राजनेता यस धर्तीमा जन्मेको हँुदो हो त राष्ट्र र दुनियाँलाई यस्तो विपद्मा पार्ने नै थिएन । राजनेताको खाँचो पूरा गर्नेतर्फ प्रधानमन्त्री ओली लागून् ।
प्रतिक्रिया