विश्वनाथ खरेल
होलीलाई सद्भावको पर्वका रूपमा लिइन्छ । यो एउटा रहर पूरा गर्ने अवसर हो, तर आफ्नो रहर पूरा गर्ने धुनमा अरूलाई पीडा दिनु हुँदैन । परम्पराअनुसार यो अबिरको पर्व हो । आपसी सद्भाव, मित्रता, माया र प्रेम अभिव्यक्त गर्ने महान पर्व हो होली । यसरी होली चाडलाई हामी फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रंग छ्यापेर तथा अबिर दलेर नाच्ने गाउने गरी मनाउँछौँ ।
विभिन्न किसिमका रङहरूले एकअर्कोमा रमाइलो मनाउने यही उत्सवलाई फागु अर्थात होली नामबाट चिनिन्छ । यसकारणले गर्दा होली भनेकै रङको पर्व हो । ऋतु परिवर्तनसँगै आउने होलीको रङ पनि विभिन्न प्रकारका छन् । युवाहरूका लागि होलीले जति उमंग लिएर आउँछ, कतिपय महिलाका लागि यसले पीडा दिइरहेको छ । होलीको दिन सडकमा न्यून संख्यामा मात्र महिला देखिन्छन् । महिलालाई लक्षित गरेर रङ र लोला हाल्ने प्रवृत्ति भने केही वर्ष यता बढेको देखिन्छ । यस पर्वलाई फागु वा होली भनेर उच्चारण गर्नुका पछाडि फागुन महिनामा पर्ने धेरै चाडहरू मध्ये यो पर्व एउटा रमाइलो चाड हो ।
यो पर्व होलीका नामकी राक्षसलाई मारेको खुसीमा मनाइने पर्व भएकोले होली या फागु भनिएको हो भन्ने किंवदन्ती छ । यसरी होलीका मरेको उपलक्ष्यमा सबैले खुसीयाली मनाउन होली खेल्ने चलन सुरु भएको कुरा भविष्य पुराणमा उल्लेख छ । यसर्थ वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रङ नलगाएर आफू आफूमा मात्र खेल्यौँ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । यो पर्व नेपाल र भारतलगायत विश्वभर नै रमाइलो गरी मनाउने गरेको पाइन्छ ।
नेपाली समाजमा फागुपर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष यही १७ फागुनमा परेको छ । फागुपर्वले नयाँ उत्साह, जोस, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्भाव मैत्री र भाइचारा जगाउने गर्दछ । उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एकसाता लामो फागु उत्सवको उष्कर्ष फागु पूर्णिमा नै हो ।
सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृति प्रेमीको यो सिंगो चाड हाम्रो तराई क्षेत्रमा त झनै विशेष धूमधामका साथ मनाइन्छ । मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भू–भाग र काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पवित्र होली उत्सवले चिनिने फागु पर्वलाई ‘चीरदाह’ को रूपमा पनि लिइन्छ । असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवको रूपमा लिइने यस पर्वलाई मिथिली भाषामा ‘संमत जलाउने’ पनि भनिन्छ । विशेषगरि युवापुस्ताको लागि रंगिन र जीवन्त यो महोत्सव होलिका महोत्सवले पनि चिनिएको छ ।
हाम्रो यहाँ फागुपर्व विभिन्न नामले मनाइन्छ । फगुवा, होली, होरी आदि नामले मनाइने यो पर्वलाई रङको उत्सव एवं आपसी सद्भावको महान पर्व भन्दा फरक पर्दैन । होली एवं फागु पर्व नेपाल र भारतमा मात्र नभएर विभिन्नरूपमा विश्वभरी नै धुमधामसँग मनाइन्छ । नेपाल र भारतमा भने एकै प्रकारले प्रेम, सद्भाव प्रकट गरी रङ, अबिर दलेर रंगीन पानी छ्यापेर, शुभकामना आदानप्रदान गरेर नाचगान गरी मनाउने गर्दे आइएको छ । चीन, जावा, श्रीलंकामा आगोको पूजा अर्चना गरी फागु पर्व मनाइन्छ । बर्मा, थाइल्यान्डमा पानीको पूजा अर्चना गरी वौद्ध मठमा गएर भिक्षुलाई दान दिई यो पर्व मनाउने गरिन्छ । थाइल्यान्डमा ‘साक्रान’ र बर्मामा ‘टिंगुला’ नामको यो पर्व प्रचलित छ । जर्मनीमा इस्टरका रूपमा रंगीन पानी छ्यापेर नाचगान गरी यो पर्व मनाइन्छ भने इजिप्ट, जापान, सुमात्रा आदि देशमा नाचगान गर्दै नयाँ अन्नको स्वागत गरी पर्व मनाउने गरिन्छ ।
युनानमा यो पर्व मनाउन आगो बालेर नाचगान गरिन्छ भने स्विडेन, फ्रान्स, इटली, पोल्यान्डमा विशेष गरी नाचगान रमाइलो गरी मनाइन्छ । यसबाट फागु पर्वलाई एउटा खुसियालीको विश्वव्यापी रंगीन पर्व मान्न सकिन्छ । तर, हाम्रो मुलुकमा भने विशेष गरी पहाडी भेगमा पूर्णिमाको दिनमा र तराईमा पूर्णिमाको भोलिपल्ट धूमधामका साथ मनाइन्छ । त्यस्तै गरी मुलुकका सुदूरपश्चिमका थारू एवं थकाली सम्प्रदायले ठूलो महत्वका साथ मनाउने गर्दछन् । थारूहरू फागु पर्वलाई नयाँ वर्षको रूपमा पनि मनाउँछन् ।
प्राचीन कालदेखि मनाउंदै आएका विभिन्न चाडपर्वहरूमध्ये फागु वा होली पनि एउटा विशेष महत्वको चाड हो । फागुन शुक्ल अष्टमीका दिन चीर गाडी अबिर छरेर पूजा गरी सुरु गरिने चाड पूर्णिमाको रातमा चीर बालेपछि समाप्त हुन्छ । मुख्य होलीको दिन एकआपसमा अबीर दलादल गर्ने र मीठामीठा कुराहरू खाने चलन छ । फागुन शुक्ल पूर्णिमाका दिन आफन्तहरूबीच रंग र अबीरले रंगिएर बडो हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा अर्थात होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने विभिन्न धार्मिक कथाहरू भेटिन्छन् जसको कारणले होली पर्व चलेको छ ।
प्राचीनकालमा हिरण्यकश्यपुनामक राक्षसका प्रल्हाद नाम गरेका छोरा थिए, तर बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रल्हाद भने बडो विष्णुभक्त थिए । बाबुले आफ्नो छोरालाई विभिन्न कोशिस गरेर आफ्नो बाटो अगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रल्हादको डेग नचलेपछि आफ्नी बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर, प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलीका उल्टै भष्म भइन् भने प्रल्हादलाई आगोले केही गर्न सकेन । सोही खुसीयालीमा होलीपर्व चलेको हो भन्ने किंवदन्ती छ ।
हाम्रो देशमा हिजोआज फागुपर्वभित्र विकृति देखा पर्न थालेको छ । फागुपर्व आउनुपूर्व नै पानी भरेर लोला हान्ने गरिन्छ । लोला हान्नु असभ्यता हो । इच्छा विपरीत लोला हान्नु, रङ दल्नु फागुपर्वको विशेषता होइन । मनका खराब भावलाई हटाएर, एकापसमा सम्बन्ध स्थापित गर्न रङ दलेर होली खेल्नुलाई यसपर्वको विशिष्टता मानिन्छ । त्यसैले, अन्तरकुन्तरमा लुकेर लोला हान्ने गर्नु असभ्यता हो, सोधेर, खुसियालीमा उमंग वातावरणमा होली खेल्नु पर्दछ ।
आफूभित्र भएको गलत प्रवृत्तिलाई त्यागेर सुमार्गतिर अभ्रिप्रेरित हुन फागुपर्वले निर्देश गरेको देखिन्छ । फागु धार्मिक, सामाजिक, पौराणिक, आयुर्वेदिक सबै दृष्टिले उत्कृष्ट पर्व हो । खराव प्रवृत्तिलाई त्यागेर सत्मार्गतिर लाग्नु र विजय देखाउनु फागुपर्वको मूल आशय हो । यसरी संस्कृति र सभ्यता समेतलाई नराम्रो गोरेटोमा धकेल्न थालेको फागुपर्वसम्बन्धी विसंगतिविरुद्व एकजुट हुनुपर्ने वर्तमान अवस्था हरेक परिवारका खासगरी अभिभावकवर्ग विशेष सजग सचेत हुनु अतिजरुरी देखिन्छ । वर्षमा एकचोटी आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रंग नलगाएर आफू आफूमा मात्र खेल्यौ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ ।
प्रतिक्रिया