पार्टी एकता र सरकार विस्तार

-डा. डिआर उपाध्याय  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने औपचारिक सहमति भएको छ । यो हामी सबै नेपालीका लागि खुसीको कुरा हो । दलहरू फुट्नुभन्दा जुट्नु नै लोकतन्त्रको लागि राम्रो कुरा हो । ७ फागुन सोमबार एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत दुबै दलका शीर्ष नेताहरूले सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमति पत्र जारी भएपछि पार्टी एकीकरणसम्बन्धी देखिएका अन्योल र आशंकालाई चिरेर परिस्थिति अगाडि बढेको छ । अब सबैको मनमा रहेको भ्रम हटेको छ ।

ठूला दुई कम्युनिस्ट पार्टी मिल्नु भनेको साना दलहरूलाई पनि ठूलो दबाब हो । अब यो दुई पार्टी बीचको एकताले केही तत्वहरूलाई निदहराम गराउनेवाला छ । सात बुँदे सहमति पत्रमा पार्टी एकीकरणपछि पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहने कुरा उल्लेख छ । माक्र्सवाद र लेनिनवादलाई पार्टीको निर्देशक सिद्धान्त मान्ने, जनताको बहुदलीय जनवाद र २१आैँ शताब्दीको जनवादलाई छलफलका माध्यमबाट परिमार्जन गर्ने लगायतका कुरा उल्लेख छन् । राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्यायलाई सुदृढ बनाउँदै मुलुकको सामाजिक आथिक रूपान्तरणमार्फत समाजवादको आधार निर्माण गर्नेजस्ता महत्वपूर्ण कुराहरूसमेत सहमतिपत्रमा उल्लेख भएका छन् ।

एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण दिगो रूपमा गए मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्नेछ । र, वाम गठबन्धनले सोचेको आर्थिक समृद्धिको सपना पूरा हुनेछ । गुट र फुटको शृंखला हुँदै अगाडि बढेको कम्युनिस्ट पार्टीमा लामो इतिहास छ ।  १७ असोजमा एमाले र माओवादी केन्द्रले एकीकरणको सन्देश दिएर चुनावी तालमेल गरेका थिए । जसले नेपाली राजनीतिलाई तरंगित बनाएको थियो । आमजनमानस खुसी बनेका थिए । चुनावी तालमेल गर्दै पार्टी एकतासम्म गर्ने लक्ष्यसहितको सहमतिपत्रमा नेताहरूले हस्ताक्षर गरेका थिए । र, एउटै घोषणापत्रमा चुनाव लडेका थिए । त्यही कारणले चुनावमा बहुमत ल्याएका छन् ।

वाम गठबन्धनले अहिले एकमनाको सरकार बनाएका छन् । लामो समयदेखि अस्थिर बन्दै गएको मुलुकले अब स्थिर सरकार पाउने आशले आमजनता खुसी छन् । वाम गठबन्धन बनाएर चुनावमा होमिएका दुई दलको उद्देश्यलाई प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा जनताले अनुमोदन गरे । चुनावी परिणामले जनता वाम एकताको पक्षमै रहेको देखायो । सात मध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनकै सरकार बनेको छ । प्रदेशसभामा वाम गठबन्धनको बलियो उपस्थिति छ । जनताले वाम गठबन्धनकै सरकार चाहेको कुरा प्रस्ट देखाएको छ । विभिन्न समयमा एमाले र माओवादी नेताका अभिव्यक्तिले दुई पार्टीबीच एकता हुँदैन कि भन्ने शंका थियो । ७ फागुनमा दुई पार्टीबीच भएको सहमतिले सकारात्मक सन्देश दिएको छ ।
वाम गठबन्धनले जस्तै प्रजातान्त्रिक गठबन्धनले पनि विचार मिल्नेसँग पार्टी एकता गर्दा राष्ट्र र जनतालाई फाइदा नै हुनेछ । यसले लोकतन्त्रलाई बलियो बनाउँछ । मुलुक दुई दलीय प्रतिस्पर्धातर्फ उन्मुख हुन्छ । यसले राजनीतिक स्थिरता दिनेछ । राजनीतिक दलको एकता र सहकार्यले मुलुकमा ठुल्ठूला परिवर्तन भएका छन् । ०४६ सालको आन्दोलन नेपाली कांग्रेस र वाममोर्चाको सहकार्यबाट सफल भएको थियो । ०६२÷६३ मा कांग्रेस, एमाले र तत्कालीन माओवादीको संयुक्त आन्दोलनबाट मुलुकमा गुमेको प्रजातन्त्र पुनःस्थापना र गणतन्त्र स्थापना भयो । मुख्य दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्र बीचको सहमतिले नयाँ संविधान जारी भयो ।

यो नै महत्वपूर्ण उपलब्धि हो । विगतमा जुनवेला दलहरू फुटे एकता र सहकार्य कमजोर भयो त्यसवेला प्रजातन्त्र विरोधी तत्वहरू बलिया भए । र, मुलुक अस्थिरतातर्फ होमियो । नेपाली जनताले धेरै दुःख कष्ट भोग्नुप¥यो । मुलुकमा युगान्तकारी परिवर्तन गर्न प्रमुख दलहरूको महत्वपूर्ण भूमिका रहेको छ । अब सबै राजनीतिक दलबीच एकता तथा न्यूनतम कार्यक्रममा सहकार्य आवश्यक छ । देश बनाउन दलहरू मिल्नुको विकल्प छैन । एमाले–माओवादी केन्द्रबीच भएको सहमतिले राजनीतिक अस्थिरताको अन्त्य गर्दै मुलुकलाई विकास र समृद्धिको बाटोतर्फ लैजाने संकेत देखिन्छ । तर, एमाले र माओवादी केन्द्रबीचको एकता कति दिगोपन र बलियो हुन्छ, त्यसले नै भावी सफलता निर्धारण गर्दछ । यतिखेर हाम्रा अगाडि धेरै चुनौती छन् ।

ती चुनौतीलाई सामना गर्दै अगाडि बढे भविष्य राम्रो छ ।  विकास र समृद्धितर्फको यात्रा अगाडि बढाउनु नै आजको आवश्यकता हो । नेपालका कम्युनिस्ट पार्टीहरू फुट र जुटको लामो शृंखला चलिरहेकै वेला दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता हुनु आफैँमा ऐतिहासिक हो । यो कम्युनिस्ट राजनीतिमा महत्वपूर्ण उपलब्धि पनि हो । यो एकताले मुलुकको राजनीतिमा दूरगामी प्रभाव पार्नेछ । पार्टी एकता गर्ने र स्थिर सरकार बनाउने वाचाका साथ निर्वाचनमा होमिएका वाम गठबन्धनले बहुमत प्रप्त गरेको छ । ०६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी विभिन्न चरणमा विभाजित भई छिन्नभिन्न भएका थिए । यति वेला दुई ठूला कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आउनुले कम्युनिस्ट शुभेच्छुक र समर्थकलाई उत्साहित बनाएको छ ।

यो एकताले कम्युनिस्ट शक्तिलाई बलियो बनाउने संकेत देखिएको छ । जुन वेला मुलुकले साँच्चिकै राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटो समात्छ, त्यसवेला मात्र पार्टी एकताको सार्थकता रहनेछ । नेपालका कम्युनिस्ट पार्टीहरूले सर्वसाधारण जनतालाई निकै ठुल्ठूला सपना बाँडेका छन् । अब ती सपना पूरा गर्छन् कि गर्दैनन् हेर्नु छ । अहिले ती सपनालाई साँच्चिकै पूरा गर्ने नै हो भने एउटा उपयुक्त अवसर आएको छ । यो अवसरलाई ओली सरकारले सदुपयोग गर्न सक्नुपर्छ । लामो संक्रमणकालपछि मुलुकमा नयाँ संविधान आएको छ । तीनै तहका चुनाव भएका छन् । यो ठूलो सफलता हो । केन्द्र प्रदेश र स्थानीय तिनै तहमा कम्युनिस्टहरूको वर्चस्व छ ।

यो वेला पनि कम्युनिस्ट सरकारले जनताको पक्षमा राम्रो काम गर्न सकेन भने कहिले गर्छ ? यो उपयुक्त समय हो । मुलुकमा दीर्घकालीन शान्ति कायम गर्ने लोकतान्त्रिक पद्धति थप सुढृढ बनाउने र आर्थिक विकासका मुद्दा अघि बढाउन दुई ठूला कम्युनिस्ट पार्टीको ठूलो भूमिका छ । संविधानको बलियो कार्यान्वयन गर्दै राजनीतिक स्थायित्व दिनु पनि यो सरकारको कर्तव्य हो । यो वाम सरकार हो । वाम एकता पछिको बाटो के हुने भन्र्ने बारेमा दुबै पार्टीले छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ । अब हुने पार्टी एकतामा दुई पार्टीका तल्ला तहका कार्यकर्तामा उत्साह ल्याउने किसिमले पार्टी एकीकरण हुनुपर्छ । कार्यकर्ताको उत्साह र ऊर्जाले पार्टी एकीकरण भयो भने मात्र दिगोपन ल्याउन सक्छ ।

यो एकता प्रक्रियालाई भावनात्मक एकता बनाउनु जरुरी छ । दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियाले निश्चिय पनि मुलुक स्थिरतातर्फ जान्छ । कम्तिमा पाँच वर्षसम्म एउटै पार्टी सरकारमा बस्ने वातावरण निर्माण हुनुपर्छ । त्यसो भयो भने विकास र समृद्धिले फड्को मार्नेछ । सात बुँदे सहमतिपछि तल्लो तहका कार्यकर्ताहरू बढी उत्साहित छन् । यी उत्साहित नेता कार्यकर्तालाई अवसर र जिम्मेवारीबाट वञ्चित गरिनु हँुदैन । त्यसो भयो भने मात्र पार्टी तलदेखि बलियो हुँदै आउँछ । एकतापछिको पार्टीले कस्तो किसिमको वैदेशिक नीति र कूटनीति अपनाउँछ भन्ने विषयमा पनि धेरैको चासो रहेको छ । विगतमा वाम शक्तिको फुट सिद्धान्त नभई पदको कारणले हो । पद बाँडफाँडमा वैज्ञानिक धारणा अपनाउनु जरुरी छ । पार्टी र सरकारमा गरिने आलोपालोलाई आमजनताले शंकाको दृष्टिले हेरेका छन् ।

आमजनतालाई विश्वस्त पार्न सकियो भने मात्र राम्रो हुनेछ । सरकार आलोपालो ढंगले चलाइयो भने विगतको जस्तै नजीर बस्नेछ । यस कुरामा सजक बन्न जरुरी छ । आलोपालो ढंगले सरकार चलाउने परिपाटी बसालियो भने यसले राष्ट्र र जनतालाई फाइदा गर्दैन । स्थिर सरकारले नै विकास र समृद्धि दिन्छ । जनताको चाहना पनि त्यो हो । एउटाले पार्टीको नेतृत्व र अर्कोले सरकारको गर्दा धेरै राम्रो हुनेछ । जनताको बहुदलीय जनवाद र २१आँै शताब्दीको जनवाद दुई पार्टीबीच बहसको विषय बनेको छ । माओवादीले १० वर्षसम्म गरेको सशस्त्र विद्रोहको अस्तित्व सात बुँदे सहमतिपत्रमा उल्लेख छैन । यसले माओवादी कार्यकर्तामा निराशा आउन सक्ने जोखिम पनि उत्तिकै छ । यस वारेमा दुबै पार्टीका नेता बढो चनाखो हुनुपर्ने आवश्यकता देखिन्छ ।

 

प्रतिक्रिया