प्रधानमन्त्रीका पाँच प्राथमिकता

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशीलतासहित समृद्ध नेपाल आफ्नो सरकारको मूल लक्ष्य रहेको प्रष्ट पारेका छन् । सरकार भष्ट्राचारी, गुन्डागर्दी, सिन्डिकेट, बलात्कारीविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने जनाउ दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा कानुनी राज स्थापित गर्ने योजनासमेत सुनाएका छन् । आफ्नै गृहजिल्ला झापाका मतदातामाझ सरकारको प्राथमिकता सुनाउँदै प्रधानमन्त्री ओलीले भष्ट्राचारी, मानव तस्करी, लागुऔषधका कारोबारी र गुन्डागर्दी र बलात्कारीविरुद्ध निर्मम ढंगले प्रस्तुत हुने र कसैको दबाबमा नपर्ने बताए ।
भष्ट्रले भाग्ने ठाउँसमेत पाउँदैन
भ्रष्टहरू हाम्रो, अर्काको, तेरो–मेरो, नजिकको–टाढाको, यताको उताको केही पनि हुँदैन । ती सबैका दुस्मन हुन् । तिनीहरूलाई टपक्क टिपेर फुत्त मिल्काइन्छ । अब त्यस्तालाई टपक्क टिपेर फुत्त मिल्काइयो भने अचम्म मान्नु पर्दैन । भ्रष्ट भयो कि गयो । त्यसमा सरकार प्रष्ट र प्रतिवद्ध छ । नेपालमा अब अशान्ति मच्चाउने, गुन्डागर्दी गर्ने, मान्छे तर्साएर चन्दा असुल गर्ने, मानव तस्करी गर्ने, लागुऔषध कारोबार गर्ने सबैमाथि सरकार कडा रूपमा प्रस्तुत हुन्छ ।

अब छोरीहरू बलात्कृत हुँदा मध्यस्तकर्ता बन्ने प्रहरी कसैलाई छाडिने छैन । पुराना मुद्दा खिचेर ल्याएर भए पनि अपराधी कारवाहीमा पर्नेछन् । महिला दिदी–बहिनी पनि सहर–बजारमा ढुक्कले हिँड्ने वातावरण निर्माण हुन्छ ।

पर्खने समय छैन
सरकारले अब सबै ध्यान समृद्धिमा लगाउने छ । मेरो पाइला देशको समृद्धितर्फ अघि बढ्नेछन् । तपाईंहरूका हिराजडित भोटमा मैलो लाग्न दिन्न । तपाईंहरूलाई थाहा छ, म हिजोबाट ६६ वर्ष पूरा भएर ६७ वर्ष लागेँ । अब मसँग केटाकेटीसँग ख्याल–ठट्टा गर्दा त हुन्छ । तर, जीन्दगीसँग ख्याल–ठट्टा गर्ने समय छैन । मसँग प्रयोग गर्ने समय छैन । एउटा प्रयोग गरी हेरौँ न भन्ने समय पनि मसँग छैन । अलिक समय पर्खिऔँ न त भन्ने समय पनि छैन । अब मैले छिटो–छिटो देशको विकास गर्ने काम गर्नुपर्छ । यसको लागि म प्रतिवद्ध छु ।

भोकले कोही मर्दैनन्
मलाई दुःख–कष्ट के हो भन्ने कुरा थाहा छ । त्यसैले अब कोही भोकै बस्नु पर्दैन । खान नपाएका अप्ठ्यारा, भोकमरी र कठिनाई देखेको छु । सरकारले अब विधिवत निर्णय गर्छ । अब नेपालमा कोही भोकै पर्दैन, कोही भोकले मर्दैनन् । यो सरकारी नीति हो, त्यसपछि यस्ता घोषणाको सिरिजमा आउँछ । घर नभएका केही नेपाली अब हुँदैन । चराले त गुँड बनाएर बसेको हुन्छ भने यत्रो जमिन छ । मान्छेले छाप्रो बनाएर पनि बस्न नपाउने ? अब सरकारले ती सवै काम गर्छ । कसैलाई पनि खान नपाएर मर्ने भइयो भन्ने चिन्ता हुन दिनेछैन ।

मनमा समृद्ध देश, सुखी जनता
अब मेरो उद्देश्य देशको समृद्धिबाहेक केही छैन । भावनात्मक ढंगले म सबै जनतासँग सँगै छु । महाभारतमा कृष्णका १६ सय गोपिनी छन् भन्दा धेरैले ईष्र्या गरे । धेरै लोभिए । उनीहरूले कृष्णलाई १६ सय आफैँले किन राखेको ? भनेर सोधे जवाफ कृष्णले भने, जुन गोपिनीसँग, वा जुन गोपिनीको खोपीमा म छैन, त्यो तिमीहरूले लगे हुन्छ । कृष्णले त्यसो भनेपछि कृष्णका साथीहरू गोपिनी खोज्न गए । गोपिनी भएको ठाउँमा गएर यहाँ त तपार्इं एक्लै हुनुहुन्छ होला होइन भनेर सोधे तर जवाफमा ‘होइन यहाँ त श्रीकृष्ण हुनुहुन्छ भन्छन् ।

अर्कोमा गयो त्यही जवाफ आयो । फेरि अर्कोमा गयो उनले पनि त्यही जवाफ दिन्थिन् । यसको अर्थ श्रीकृष्ण खोपीमा होइन, सबै गोपिनीको मनमा थिए । हो ठीक त्यस्तै तपाईंहरू मेरो मनमा हुनुहुन्छ, गोपिनीहरूले कृष्ण देखेजस्तै म जहाँ पुग्दा पनि तपाईंहरूलाई नै देख्छु, भेट्छु, तपार्इंहरू मेरो साथमा हुनुहुन्छ । म पनि तपाईंहरूको साथमा नै छु । मेरो अरू उद्देश्य नै छैन । देश बनाउने मात्रै मेरो उद्देश्य हो ।’

चक्रव्यूह तोडिन्छ
द्वापर युगको कलिलो अभिमन्युलाई चक्रव्यूहमा पारे जस्तो एमाले र बाम गठबन्धनलाई पार्न सकिन्न अब । मैले भनेको थिएँ, द्वापर युगमा चक्रव्यूह बन्यो । कलिलो अभिमन्युलाई निःशस्त्र बनाएर महारथीहरूले, महायोद्धाहरूले भर्खर हुर्किएको बालकलाई चक्रव्यूहमा पारेर हत्या गरेका थिए । अहिलेको चक्रव्यूह तोड्न सक्ने हामी छौँ । त्यसवेला अभिमन्युलाई चक्रव्यूह तोडेरभित्र पस्न आउँथ्यो तर बाहिर निस्कने कला थिएन । हामी द्वापर युगको बालक अभिमन्यु होइनौँ, चक्रव्यूह तोडन आउँछ, तोडिन्छ ।

बक्रदृष्टि लाग्यो कि सकियो
एमालेले जसको टाउकोमा तथास्तु भनेर हात राख्यो, त्यसले जित्यो । जसलाई राखेन त्यो गयो । राप्रपाको पनि कसैलाई जितेस्, गरिखाएस् भनेको आयो । अरूलाई पनि त्यस्तै हो । बुझे हुन्छ, हामीले बक्रदृष्टि लगाउँदा शनि, राहुले बक्रदृष्टि लगाउँदा केही हुँदैन । देश र जनताको निम्ति उभिने एमालेले बक्रदृष्टि लायो भने गयो । त्यो खतम् । अरू ग्रहदशा जस्तो होइन ।

समृद्धिको आधार जबज
एमाले र माओवादीबीच एकतापछि बनेको नयाँ पार्टीको नाम फरक भए पनि नीति सबै अहिले प्रयोग गर्दै आएकै हुनेछ । मैले ०७४ साल एमालेमय नेपाल भनेको थिएँ । त्यो भएको छ । नाम अलिकति फरक परे पनि काम एमालेले भन्दै आएको र गर्दै आएको हो, नीति पनि एमालेकै हो । मुलुकलाई समृद्धिमा लैजाने जनताको बहुदलीय जनवादले नै हो, सबै स्पष्ट भए हुन्छ । प्रष्ट नभएकालाई हामी बुझाउँछौँ । स्पष्ट नभएकाले पनि बुझनेछन् । बहसका क्रममा सबैले अपनत्व हुने गरी अघि बढिनेछ ।

 

प्रतिक्रिया