फिदिममा अन्तर्राष्ट्रिय केःलाङ महोत्सव

कृष्ण ओझा  पाँचथर । पाँचथर सदरमुकाम फिदिममा तीन दिने अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाच) महोत्सव सुरु भएको छ । किरात–लिम्बू जातिको लोकप्रिय नाच च्याब्रुङ नाचको संरक्षण र विकासका लागि महोत्सव गरिएको मूल आयोजक समितिका अध्यक्ष मनकुमार केरुङले बताए । फिदिम माविको खेलमैदानमा जारी महोत्सवमा एक हजार च्याब्रुङ प्रदर्शनी गरिनुका साथै एक सयभन्दा बढी समूहको च्याब्रुङ नाच प्रस्तुत गरिने बताइएको छ । ‘लिम्बू जातिको मौलिक बाजा च्याब्रुङ र च्याब्रुङ नाचको संरक्षणका लागि महोत्वस गरिएको हो,’ अध्यक्ष केरुङले जानकारी दिए ।

महोत्सवमा भारतको सिक्किम, दार्जिलिङसँगै नेपालको ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम, काठमाडौं उपत्यका र पाँचथरका च्याब्रुङ नाच समूहहरूको सहभागिता रहेको छ । महोत्सवको पहिलो र दोस्रो दिन च्याब्रुङ र च्याब्रुङ नाच प्रदर्शनी हुनेछ भने अन्तिम दिन ९ फागुनमा च्याब्रुङ नाचबारे कार्यपत्र प्रस्तुति र विमर्श गरिने मूल आयोजक समितिका सचिव मधुराज केरुङले बताए । महोत्सवमा लिम्बू जातिको मौलिक भेषभूषा, परिकार र पुस्तक प्रदर्शनी साथै गिती एल्बमसमेत विमोचन गरिएको छ ।

करिब साढे १० लाख खर्च हुने अनुमान गरिएको कार्यक्रमका लागि आर्थिक स्रोतका लागि भने स्थानीय तह, विभिन्न संघ–संस्था र व्यक्तिहरूसँग समन्वय गरिएको आयोजकले जानकारी दिएको छ । जिल्लामै पहिलोपल्ट भएकोे केःलाङ महोत्सव केःलाङ सांस्कृतिक समाज, किरात याक्थुङ चुम्लुङ पाँचथर, लिम्बू भाषा विकास संस्था (लिल्डा), लिम्बू चलचित्रकर्मी संघ पाँचथर र लिम्बूवान स्टडी सेन्टर सुम्हालुङ च्याप्टरले संयुक्त रूपमा गरेको होे । लिम्बू जातिले विवाह कर्म, नयाँ घर सर्ने क्रममा र त्यस्तै विभिन्न मेला, पर्व र उत्सवहरूमा ‘केःसाम’ (च्याब्रुङ नाच्दा गाइने गीत) गाउँदै च्याब्रुङ नाच्ने गर्दछन् ।

सिक्किमको च्याब्रुम नाच फरक शैलीमा प्रस्तुत गरिएको थियो । बाजाको ताल, स्टेप, हाउभाउले दर्शक केलाङप्रेमीहरू झुमेका छन् । अन्तर्राष्ट्रिय केःलाङ उत्सव प्रदेश प्रमुख गोविन्द सुब्बाले उद्घाटन गरेका थिए । सुब्बाले प्रदेशका मन्त्री र सांसदहरूले जनतामाझ गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरे प्रदेश समृद्धिको बाटोतिर जाने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया