नाइजेरियामा आत्मघाती आक्रमण, १९ को मृत्यु ७० घाइते

एजेन्सी
कानो । उत्तरपूर्वी नाइजेरियाको एउटा माछा बजारमा शुक्रबार भएको ३ आत्मघाती आक्रमणमा १९ जनाको मृत्यु भएको छ । सो आक्रमणमा परी अन्य ७० जना घाइते भएका छन् । यो आक्रमण जिहादी समूह ‘बोको हराम’ ले गरेको आशंका गरिएको छ ।

समाचारमा जनाइएअनुसार विस्फोट शुक्रबार मैडुगुरी प्रदेश राजधानी बोर्नोदेखि ३५ किलोमिटर टाढा कोन्डुंगामा स्थानीय समयअनुसार साढे ८ बजे भएको हो । नाइजेरियन सेनालाई सहयोग गरिरहेको नागरिक संयुक्त टास्क फोर्स (सिजेटिएफ) का सहयोगी बाबाकुरा कोलो तथा मुसा अरीले बताएअनुसार आक्रमणकारी सबै पुरुष थिए ।

आक्रमणमा १९ जनाको मृत्यु भइसकेको छ भने अहिलेसम्म ७० जना घाइते भएको समाचार छ । आक्रमणकारी दुवैजनाले पहिले टसन किफी माछा बजारमा आफँैलाई विस्फोट गराएको बताइन्छ । त्यसको चार मिनेटपछि तेश्रो विस्फोट नजिकैको क्षेत्रमा भएको थियो । आक्रमणमा परी मर्नेमा १८ सर्वसाधारण र एकजना सैनिक जवान छन् ।

भनिन्छ कि, टफन किफी त्यहाँको एउटा सामान्य बजार हो, जहाँ मानिस घुम्न र खानपिन गर्न जाने गर्छन् । अरीले दिएको जानकारीअनुसार घाइते ७० जनामा २० को स्थिति गम्भीर रहेको छ । आक्रमण कसले गराएको भन्ने कुनै प्रश्न हुन नसक्ने बताउँदै अरी भन्छन्, ‘बोकोहरामले यो क्षेत्रमा कैयौँपटक विस्फोट गराएकाले ऊबाहेक अर्को हुनै सक्तैन ।’

जब कि, बोर्नो स्टेटबाट प्रहरी र सेनाले अहिले केही बताएका छैनन्, उनीहरू विगत ९ वर्षदेखि यो क्षेत्रमा बोकोहरामविरुद्ध लडिरहेका छन् । सन् २००९ देखि अहिलेसम्म २० हजारभन्दा बढी यसैगरी मारिएका छन् भने २६ हजारभन्दा बढी घाइते भएका छन् । कैयौँ घरबारविहीन पनि भएका छन् ।

नाइजेरियाली सेना र सरकारको भनाइअनुसार यो समूह धेरै शक्तिशाली छ । गत ३१ जनवरीमा यही समूहका दुई महिलाले कोन्डुगानजिक मंदाररी गाउँमा आफैँलाई विस्फोट गराएका थिए । जब कि, त्यसको केही समयअघि मात्र यस्तै विस्फोटमा ४ जनाको मृत्यु र ४४ जना घाइते भएका थिए ।

प्रतिक्रिया