तेल भण्डारको देशमा ढाड सेक्ने महँगी

दूध लिटरको ८० हजार, एउटा रोटीको १ हजार, मासु किलोको ३ लाख

एजेन्सी
भेनेजुयला । संसारकै ठूलो तेलको भण्डार भएको देश भेनेजुयलाको यतिखेरको आर्थिक स्थिति कसैबाट लुकेको छैन । अहिले त्यहाँको स्थिति यति नराम्रो भएको छ कि, मानिस देश छोडेर छिमेकी देश कोलम्बिया जान बाध्य भएका छन् । त्यही कोलम्बियाले भने यो संकटबाट उत्पन्न समस्या समाधान गर्न संसारैसँग मानवीय आधारमा सहयोग मागेको छ ।

यो संकटलाई लिएर दुवै देश एकअर्कालाई आरोप–प्रत्यारोप पनि गरिरहेका छन् । दुवै देशमा आक्रमणको आशंका पनि गरिँदै छ । कोलम्बियाले हालसालै गरेको दाबीअनुसार भेनेजुयलाका १० लाख शरणार्थी उसको देशमा छन् । यहाँ अहिले खाद्यान्नको मात्र होइन, औषधिको पनि हाहाकार भएको छ । चिकित्सकहरू आफ्ना बिरामीलाई अर्को देशमा गएर उपचार गराउन सल्लाह दिन विवश छन् । सुरक्षाको दृष्टिले पनि भेनेजुयला आज खतरनाक देशका रूपमा प्रसिद्ध भइरहेको छ । यसबाहेक अमेरिकाले भेनेजुयलामा सेनाद्वारा सत्ताकब्जा हुन सक्ने आशंका गरेको छ ।

भेनेजुयलाको यस्तो हालत रातारात भएको भने होइन । करिब दुई वर्षदेखि त्यहाँका नागरिक यस्तै अवस्थामा बाँचिरहेका छन् । अवस्था यस्तो छ कि, त्यहाँको मुद्रामा आएको गिरावटले एक लिटर दूध ८० हजारमा बिक्रि भइरहेको छ । तपार्इंहरूलाई आश्चर्य लाग्न सक्छ, यहाँ एउटा रोटीको मूल्य पनि हजारभन्दा बढी भइसकेको छ । त्यहाँ एक किलो मासु किन्न ३ लाख खर्चिनपर्छ । यहाँ बोराभरि पैसा लिएर बजार जाँदा एक साँझको खाना मात्र खान पाइन्छ भन्दा अत्युक्ति हुँदैन । अर्कोतिर, भेनेजुयलाको सरकार यस्तो आर्थिक मन्दीको अन्त्य गर्न असफल भएको देखिँदैछ ।

धर्मरायो अर्थव्यवस्था र विरोधी भए छिमेकी
भेनेजुयलामा आएको आर्थिक मन्दीको सबैभन्दा ठूलो कारण विश्वस्तरमा तेलको मूल्यमा आएको ठूलो गिरावटलाई मानिँदै आएको छ । यसबाहेक, सरकारको गलत नीति पनि कहीँ न कहीँ जिम्मेवार छ । सरकारी नीति र भोकमरीका कारण यहाँ प्रत्येक दिन सडकप्रदर्शन भइरहेका हुन्छन् । अवस्था यस्तो छ कि, भेनेजुयलाको छिमेकी देश मेक्सिको, ब्राजिल, अर्जेन्टिना, चिली, स्पेनसहित युरोपियन युनियन पनि अब उसको पूरै विरोधी भइसकेका छन् । यहाँसम्म कि, पेरूजस्तो देश पनि भेनेजुयलाको सरकारलाई तानाशाह भन्न चुकेको छैन । पेरूको राजधानी लिमामा अप्रिलमा एक सम्मेलन हुन गइरहेको छ, जसमा भेनेजुयलाका राष्ट्रपतिलाई नबोलाउने र उनको स्वागत नगर्ने कुरामा कैयौँ देशले सहमति जनाइसकेका छन् । यस्तो त्यसवेला भयो, जब भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोका तर्फबाट सो सम्मेलनमा सहभागी हुने सहमति जनाइसकिएको छ । अर्थात्, यस्तो देखिँदै छ कि, भनेजुयला यस्तो आर्थिक संकटमा एक्लै उभिनुपरेको छ ।
अमेरिकासँग भनाभन
रुस भने भेनेजुयलाको यो संकटमा सहयोगी देखिएको छ । त्यही अमेरिका त्यहाँको आर्थिक संकटका विषयमा भेनेजुयलाका राष्ट्रपतिलाई जिम्मेवार ठह¥याउँदै आलोचना गरिरहेको छ । राष्ट्रपति ट्रम्पको आलोचनापछि भेनेजुयलाका राष्ट्रपति माडुरोले यतिसम्म भनेका छन् कि, ‘ट्रम्पले मलाई के भन्छन्, भन्दैनन्, यसले मलाई कुनै फरक पर्नेवाला छैन । मलाई हाम्रा जनता के भन्छन्, त्यसले मात्र फरक पार्छ ।’

भारतका लागि भेनेजुयला
यहाँ तपाईंलाई यो पनि जानकारी दिऔँ कि, भेनेजुयलाको अर्थव्यवस्था पूर्ण रूपमा तेलमाथि निर्भर छ । भेनेजुयलामा साउदी अरबभन्दा बढी तेलको भंडार छ । तर, यहाँको तेल केही भिन्नै किसिमको छ, जसलाई भारी पेट्रोलियम भनिन्छ । भारी पेट्रोलियम शुद्ध गर्न खर्चिलो हुन्छ । यही कारण भेनेजुयलामा तेलको मूल्य अन्य देशभन्दा कम हुन्छ । भारतसमेत संसारका कैयौँ देश यहाँ तेलको उत्खनन गर्न लागिरहेका छन् । तर, सरकारको गलत नीति र विदेशी कंपनीहरूलाई गरिएको कडाइका कारण कतिपय कम्पनीहरू बीचमै छाडेर हिँडिरहेका छन् । यही कारण यहाँ प्रतिदिन ३० लाख ब्यारेल तेल निकालिने गरेकामा अहिले दैनिक १० लाख ब्यारेल निकाल्न पनि मुस्किल हुँदैछ । अमेरिकापछि भारत मात्र यस्तो देश हो, जसले यहाँको तेल नगदमा किन्ने गरेको छ । भारतका लागि भेनेजुयला औषधि उद्योगको महत्वपूर्ण बजार हो ।

भेनेजुयलामा चीनको ऋण
यसबाहेक भेनेजुयलामाथि चीनको ६५ अर्ब डलर ऋण छ । चीनलाई तेल बेचेर भेनेजुयलालाई केही फाइदा हुने स्थिति छैन । किनभने, यसबाट उसको ऋण मात्रै तिरिनेछ, उसको ढिकुटीमा रकम जम्मा हुनेछैन । भेनेजुयलाको अहिलेको संकटमा चीनले केही बोलेको छैन । भारतका सञ्चार माध्यम भने यसलाई चीनको उपनिवेश बनाउने चाल मान्दछन् । अधिकांश भारतीय चीनले कुनै पनि देशलाई दिने आर्थिक ऋणलाई ऋणको बोझले थिचेर पिछलग्गु बनाउने कूटनीति भन्ने गर्दछन् ।

महँगीको अवस्था
भनेजुयलामा महँगीले निकै खराब स्थिति पैदा गरेको छ । गत वर्षको मार्च महिनापछि भेनेजुयलाको मुद्रास्फीति २ सय २० प्रतिशत नाघेको छ । देशको सबैभन्दा ठूलो नोट सय बोनिबारको मूल्य वर्षको अन्त्यमा आउँदा शून्य दशमलव शून्य ४ डलरभन्दा कम भएको थियो । बोनबार अहिलेको स्थितिमा शून्य दशमलव १४ को स्थितिमा पुगेको छ । भारुसँग यसको तुलना गर्ने हो भने, ९ रुपैयाँ ३२ पैसा हुन्छ । भोकमरीको स्थिति यस्तो छ कि, मानिस सामान किन्न घण्टाँै लाइनमा बस्नुपर्छ र अधिकांशको दिन यसरी नै बित्छ ।

ढल्यो तेलको किल्ला
ल्याटिन अमेरिकी देशमा तेलको मूल्य घट्दा यसको मार भेनेजुयलाले सबैभन्दा बढी खेप्नुपर्छ । यसको प्रमुख कारण भेनेजुयलाको ९५ प्रतिशत आय तेल र ग्यासबाट हुन्छ । भेनेजुयलाले सन् २०१३ र २०१४ मा तेल सय डलर र त्यसअघि १ सय ४० डलरमा बेचेको थियो । तर, माडुरोको समयमा यो २५ डलर प्रतिब्यारेलमा झरेको छ । भेनेजुयला ३ वर्ष पहिले ७५ मिलियन डलरको तेल व्यापार गथ्र्यो । सन् २०१६ मा यो केबल २७ मिलियन डलरमा रहेको छ । २०१४ मा तेलको मूल्यमा आएको ५० प्रतिशत गिरावटले तेलमा निर्भर देशको आर्थिक अवस्था नराम्ररी हल्लियो । सन् २०१३ मा तेलबाट ८० अर्ब डलर कमाएको भेनेजुयलाले सन् २०१६ मा २० अर्ब डलर मात्र कमाउन सक्यो ।

विरोधमा विपक्ष
अब यहाँको राजनीतिको पनि केही कुरा गरौँ । २०१५ मा भएको राष्ट्रपति निर्वाचनमा माडुरोको पार्टीलाई बहुमत प्राप्त थिएन र यो विपक्षीभन्दा पछाडि परेको थियो । यो स्थितिबाट बच्न माडुरोले १५ जनवरी २०१६ मा देशमा आर्थिक संकटकाल घोषणा गरेका थिए । देशको सर्वोच्च अदालतले पनि माडुरोको यो घोषणामा सहमति जनाएको थियो । तर, विपक्षी एकजुट भए र राष्ट्रपतिको राजीनामा माग्न थाले ।

प्रतिक्रिया