सडक सञ्जाल पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

सौर्य समाचार
सुर्खेत । प्रदेश–६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशको समृद्धिका लागि सडक सञ्जाललाई पहिलो प्राथमिकता दिँदै पाँच बुँदे योजना सार्वजनिक गरेका छन् । प्रदेशप्रमुख दुर्गाकेशर खनालबाट शपथ लिएका शाहीले पदभार ग्रहण गर्दै आफ्ना योजना सार्वजनिक गरेका हुन् । उनले भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासका लागि केन्द्रित गर्दै समृद्ध प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दौरासुरुवालका साथमा आउका मुख्यमन्त्री शाहीले सबैभन्दा गरिब प्रदेशका रूपमा चिनिएको प्रदेश–६ लाई सडक सञ्जालले एकताबद्ध बनाउने आफ्नो पहिलो लक्ष्य रहेको बताए । ‘यो प्रदेश अन्य प्रदेशको तुलनामा केही कमजोर छ, तर यहाँ प्राकृतिक स्रोत र साधन धेरै छ । यसैको भरपुर सदुपयोग गरेर समृद्ध बनाउनेतर्फ लाग्नेछु’ मुख्यमन्त्री शाहीको भनाइ छ ।

सडक सञ्जालसँगै विद्युत्को पहुँच विस्तार गर्ने, प्रदेशका हरेक जिल्लामा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने, दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्थाको विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने र स्थानीय तह, जिल्ला र प्रदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धतासमेत गरेका छन् ।

उनले प्रदेशभित्र रहेका प्राकृतिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पनि योजना सार्वजनिक गरे । सम्भावित पर्यटकीय क्षेत्रलाई विकास गर्ने योजना सुनाउँदै मुख्यमन्त्री शाहीले मानसरोवर, छायानाथ, कैलाश पर्वत, राराताल, से फोक्सुडो ताल, सुर्खेतको काँक्रेविहार, कालीकोटको त्रिवेणी, दैलेखको ज्वालाजस्ता प्रदेशका साना ठूला सबै धार्मिक तथा प्राकृतिक क्षेत्रहरूलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने बताए । प्रदेश–६ लाई ग्रिन प्रदेशको रूपमा विकास गर्ने, लगानीमैत्री र प्रदेश अनुकूलका ऐन निर्माण गरेर समृद्धिका लागि थप योजनाहरू अघि सारिने मुख्यमन्त्री शाहीको भनाइ छ ।

यसैबीच, मन्त्रिमण्डल विस्तार गर्ने कुरामा एमाले र माओवादी केन्द्रबीच कुरा नमिलेपछि शुक्रबार उनले मात्र शपथ लिएका हुन् । यसअघि ऊर्जामन्त्री हुँदा कोटपेन्टमा शपथ लिएका शाहीले मुख्यमन्त्री हँुदा भने दौरासुरुवालमा थिए । उनले ईश्वर भन्ने ठाउँमा देश र जनताका नाममा शपथ लिएका थिए ।

 

प्रतिक्रिया