८० प्रतिशत युवा वैदेशिक रोजगारीमा

बारा । मुलुकमा बढ्दो बेरोजगारीका कारण बाराको सिंगो गाउँको ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । जितपुर सिमरा उपमहानगरपालिका–२४ हरपुर गाउँका ८० प्रतिशत युवा वैदेशिक रोजगारीमा गएका छन् । यादव र मुस्लिमको बसोवास रहेको हरपुरका युवा वैदेशिक रोजगारीमा छन् । उनीहरू वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया, कतार, दुबई, ओमान, साउदी अरबलगायत मुलुकमा रोजगारीमा छन् ।सामान्य लेखपढ गरी कमाउँदै आएको रकमबाट घर खर्चसमेत चलाउन धौधौ परिरहेका वेला गाँउका युवा विस्तारै विदेशिने क्रम बढेको छ ।

यहाँको कमाइले छाक टार्न धौधौ पर्न थालेपछि युवा विदेशिने क्रम बढेको हो ।  दुई दशक पहिला बसोवास गर्नेकोे अवस्था निकै दयनीय थियो । गाउँमा स–साना कच्ची घरमात्र थिए । ‘पहिला–पहिला गाउँमा एकदुई वटा पक्की घर थिए, अहिले गाउँमा पक्की नै पक्की घर देख्न पाइन्छ,’ स्थानीयवासी गीता थापाले भनिन्, ‘४ सय ७० घरधुरीको हरपुरका युवा विदेशमा श्रम गरी पर्याप्त कमाइ गर्न थालेपछि गाउँको मुहारै फेरिन थालेको छ । गाउँको प्रत्येक घरमा एक जनादेखि पाँच जनासम्म विदेशमा गई श्रम गरिरहेका छन् ।’

विदेशको कमाइबाट गाउँका युवाले साना तथा ठूला सवारीका साधनसमेत जोडिसकेका छन् । विदेशको कमाइले स्थानीयवासीले जग्गा जमिन जोड्दै छोराछोरीलाई महँगो शुल्क तिरेर निजी विद्यालयमा पढाउन थालेका छन् । स्थानीय करिसन खातुनका ६ छोरामध्ये चारजना वैदेशिक रोजगारीमा गएका छन् । गाउँको ६ सयभन्दा बढी युवा विदेशमा गई श्रम गरेपछि मासिक ५० लाखभन्दा बढी रकम भित्रिने गरेको वडा नं २४ का वडाध्यक्ष इलियास अन्सारीले बताए ।

प्रतिक्रिया