ट्रम्पका वकिलको स्वीकारोक्ती: पोर्नस्टारलाई आफ्नै गोजीबाट रकम दिएको हुँ

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलले पोर्नस्टारलाई आफ्नै खल्तीको रकम दिएको बताएका छन् । उनलाई ट्रम्पसँग यौनसम्बन्ध राखेकी ती पोर्नस्टारलाई निर्वाचनका वेला मुख बन्द राख्न १ लाख ३० हजार डलर दिएको आरोप लागेको थियो । ती स्टारसँग ट्रम्पले २००६ मा यौनसम्बन्ध राखेको बताइएको छ । ट्रम्पका निजी वकिल माइकल कोहेनले न्युयोर्क टाइम्ससँग कुरा गर्दै आफूलाई स्टार्मी डेनियल्सलाई दिने पैसा ट्रम्प अर्गनाइजेसनबाट प्राप्त नभई आफ्नै खल्तीबाट दिएको बताएका हुन् ।
डेनियल्सको असली नाम स्टेफनी क्लिफोर्ड हो । कोहेनले भने, ‘मिस क्लिफोर्डलाई दिइएको रकम वैध थियो र निर्वाचन खर्च वा कुनै व्यक्तिले निर्वाचन खर्चका लागि दिइएको पैसा होइन ।’ द वाल स्ट्रिट जर्नलको गत महिनाको एक समाचारमा भनिएको थियो कि कोहेनले अक्टुबर २०१६ मा ती पोर्नस्टारलाई १ लाख ३० हजार डलर दिएका थिए । यो रकम दिनुको सर्त थियो कि उनले राष्ट्रपति निर्वाचनको क्रममा आफू र ट्रम्पबीचको यौनसम्बन्धका कुरा सार्वजनिक रूपमा नगरून् ।

प्रतिक्रिया