विद्यालयभरका विद्यार्थी एउटै कोठामा

मीना बुढाथोकी
सल्यान । सल्यानको एक विद्यालयमा विद्यालयभरका पूरै विद्यार्थी एउटै कोठामा पढ्ने गरेका छन् । जिल्लाको कुमाख गाउपालिका–७ जिमालीमा रहेको ज्ञानज्योति आधारभूत विद्यालयमा विद्यालयका पूरै विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएका हुन् । कक्षा–३ सम्म सञ्चालन भएको विद्यालयमा जम्मा दुई वटा कोठा छन् । जसमा एउटा कोठामा बालविकास केन्द्र र विद्यालयको कार्यालय सञ्चालन गरिएको छ भने अर्को कोठामा १, २ र ३ कक्षाका विद्यार्थी बसेर पढ्छन् ।

कक्षाकोठाको अभावमा सबै कक्षालाई एउटै कोठामा राखेर पठाउनुपरेको विद्यालयकी प्रधानाध्यापक इन्द्रलता बस्नेतले बताइन् । ‘एउटै कोठाका तीन कुनामा तीन वटा कक्षाका विद्यार्थी राखेर पठाउँछौँ,’ प्रधानाध्यापक बस्नेतले भने, ‘बाहिर राखेर पढाउन पनि ठाउँ छैन ।’ सो विद्यालयमा रहेका ६५ विद्यार्थीमध्ये अधिकांश दलित छन् ।

शिक्षकले ६५ जना विद्यार्थीमध्ये बालविकास केन्द्रका २२ जनालाई कार्यालयमै राखेर पढाउँछन् भने बाँकी ४३ जनालाई एउटै कक्षामा पढाउँछन्् । प्रअ बस्नेतले भने, ‘एउटै कोठामा पढाँउदा एउटा कक्षाले अर्को कक्षालाई असर पार्छ । साना केटाकेटीलाई भेडाबाख्रा थुनेजस्तै गरी पढाउनुपर्छ ।’

विद्यालयकी शिक्षिका धनी विकले एउटै कोठामा सबै कक्षाका विद्यार्थी बस्दा पढाउन र उनीहरूको ध्यान केन्द्रित गर्न निकै समस्या भएको बताए । भवन नभएपछि उनीहरूलाई एउटै कोठामा राखेर जेनतेन पठाइरहेको उनले बताए ।  श्रोतकेन्द्रमा हुने बैठकमा आफूले भवनको लागि कुरा राखे पनि हुन नसकेको प्रअ बस्नेतले बताए । श्रोतकेन्द्र बैठकमा कुरा उठाउँदा अहिले नै तपाईंको विद्यालयलाई भवन निर्माणको सहयोग हुने अवस्था छैन भन्ने जवाफ आएको उनले बताए ।

विद्यालयले दुई कोठे भवनमा पढाइरहेकोमा एक वर्षअघि जिल्ला शिक्षा कार्यालयले दुई कोठे भवन सहयोग गरेको थियो । पुरानो २ कोठे भवन पहिरोले बगाएपछि विद्यालयलाई कक्षाकोठाको समस्या परेको उनले बताए । ‘विद्यालयको छेउबाटै सडक खन्दा विद्यालय भवन पहिरोको जोखिममा प¥यो,’ प्रअ बस्नेतले भने, ‘कक्षामा विद्यार्थीले किताब पढ्दाको वेला त एक किसिमको भद्रगोलको स्थिति नै हुन्छ ।’ एक वर्ष अघिदेखि विद्यालयले यस्तो समस्या झेलिरहेको हो । हाल विद्यालयमा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

‘भेडाभाख्रा हुलेजस्तै गरी कक्षाकोठामा पठाउनुपर्छ प्रअ बस्नेतले भने’ ‘निकै मिहिनेत गरेर पढाए पनि वातावरण नमिल्दा विद्यार्थीको पठाइमा समेत सुधार हुँदैन ।’ उनले थपे, ‘विद्यार्थीको पढाइ नसुध्रिएपछि आफूहरूको मिहिनेत बालुवामा पानी हालेजस्तो भएको छ ।’ विद्यालय भवन निर्माणको लागि कतैबाट कुनै सहयोग प्राप्त हुन नसकेको उनले बताए ।

विद्यालयलाई अहिलेसम्म कुनै किसिमको दरबन्दी प्राप्त नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम बोहराले बताए । ‘सानोतिनो श्रोत विद्यालयलाई प्राप्त हुँदा निजी श्रोतका शिक्षकलाई तलब खुवाउनमै खर्च हुन्छ,’ उनले भने, ‘भवन निर्माण गर्नको लागि गाउँलेले रकम उठाउन सक्ने अवस्था छैन ।’ विद्यालयमा निजी श्रोतमा कार्यरत तीनैजना शिक्षक महिला हुन् ।

प्रतिक्रिया