अन्तरबैंक नगद कारोबारमा परिचयपत्र अनिवार्य


काठमाडौं, ८ माघ । अन्य बैंक तथा वित्तीय संस्थाका जुनसुकै शाखामा नगद जम्मा गरी आफ्नो खाता रहेको बैंकमा जम्मा गर्न सकिने भएको छ । राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै यसरी रकम जम्मा गर्दा अनिवार्य रूपमा रकम जम्मा गर्नेको परिचयपत्र माग्नुपर्ने व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थालाई नगद जम्मा गर्ने व्यक्तिको पहिचान विवरण लिन निर्देशन जारी गरेको छ । त्यस्तै, एक लाख रूपैयाँभन्दा बढी रकम जम्मा गर्नेको परिचयपत्र र नगद जम्मा गर्नुको प्रयोजनसमेत खुलाउनुपर्ने भएको छ ।

बैंकले हरेक शाखामा रकम जम्मा गर्न उपलब्ध गराउने फारममा कम्तीमा खाता रहेको बैंकको नाम, खाता नम्बर, खातावालाको नाम र रकम जग्मा गर्ने व्यक्तिको नाम उल्लेख हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । साथै, ग्राहकलाई रकम जम्मा गरेको निस्सा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

तोकिएको बैंक तथा वित्तीय संस्थाको खातामा कुनै कारणवश रकम जम्मा हुन नसकेमा त्यसको जानकारी रकम जम्मा गर्ने व्यक्तिलाई गराउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । साथै, यसरी रकम जम्मा गर्दा कति शुल्क लाग्ने हो, त्यसको जानकारी ग्राहकलाई दिन पनि निर्देशनमा भनिएको छ ।

 

प्रतिक्रिया