कपडा उद्योगमा समस्या

सुस्मिता लाल
काठमाडाैं । हाल नेपालमा साना–ठूलासमेत गरी करिब ३ सयवटा कपडा उद्योग रहेको अनुमान छ । तर, यसको यकिन तथ्यांक भने छैन । यी उद्योगमा आधा खर्ब रुपैयाँभन्दा बढीको लगानी भएको देखिन्छ । यी उद्योगले स्वदेशी मागको ३० प्रतिशत कपडा पूर्ति गर्दै आएका छन् । हाल नेपालमा वार्षिक ३५ देखि ४० करोड मिटर कपडाको माग रहेको छ ।

त्यसमध्ये स्वदेशी उद्योगले वार्षिक ४/५ करोड मिटर कपडा मात्र उत्पादन गर्दै आएका छन् । हाम्रा उद्योगले सुती, सेन्थेटिक, सर्टिङ–सुटिङलगायत कपडा उत्पादन गरिरहेका छन् । एक दशकयता औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका धेरै कपडा उद्योगहरू बन्द भएका छन् । राजनीतिक अस्थिरता, मजदुर समस्या, बैंकको चर्को व्याजदर, विद्युत् समस्या र सरकारको अदूरदर्शी नीतिका कारण उद्योगहरू बन्द भइरहेका छन् ।

सरकारी अदूरदर्शिताले कपडा उद्योग बन्द हुने क्रम बढिरहेको छ । जसको कारण तयारी कपडाको निर्यात पनि घटेको छ । भूकम्प र नाकाबन्दीले कपडा उद्योगलाई झनै धेरै असर ग¥यो । मधेस आन्दोलनका कारण नाका ठप्प भएको बेला कपडा निकासी शून्य थियो । कपडाको निर्यात बर्सेनि घट्दै गएको छ । देशभर करिब ४ सय कपडा उद्योग छन् । सरकारी अदूरदर्शिताका कारण १० प्रतिशत उद्योग मात्र सञ्चालनमा रहेका छन् ।

कच्चा पदार्थको आयातमा उच्च राजस्व वृद्धि, विद्युत् कटौती तथा बन्दहड्तालका कारण कपडा उद्योगको उत्पादन घट्दै गएकाले निकासीमा असर परेको उद्योगी व्यवसायीहरू बताउँछन् । सरकारको अदूरदर्शी नीतिका कारण अधिकांश कपडा उद्योग बन्द भएपछि निर्यात घटेको छ । कपडा उद्योगलाई चाहिने सिन्थेटिक धागो नेपालमै उत्पादन हुन्छ भने सुती धागो भारतबाट आयात हुने गरेको छ ।

सबैभन्दा बढी जनशक्तिको आवश्यकता पर्ने कपडा उद्योग बिस्तारै बन्द हुँदै जाँदा ठूलो संख्यामा मजदुर तथा कर्मचारी बेरोजगार भएका छन् । उद्योगीहरूले कपडा उद्योगलाई सहुलियत दिनुपर्ने कुरा भनेका छन् । भारत, चीन लगायतका मुलुकमा पनि कपडालाई अत्यावश्यक भौतिक वस्तुमा राखेर भ्याट नलगाउने गरेको भन्दै नेपालमा भने ठीक उल्टो भइरहेको छ ।

पर्सा–बारा करिडोरमा रहेका कपडा उद्योगले मूल्य अभिवृद्धि कर र आयकर गरेर सरकारलाई वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी राजस्व तिर्दै आएको छ । यस्तै स्थिति रहे कपडा उद्योग र उत्पादन दुवै अझ घट्न सक्छ । हाल मुलुकमा वार्षिक ३३ करोड मिटरभन्दा बढी कपडाको माग छ । देशभित्रका उद्योगले ७ करोड मिटर कपडा उत्पादन गर्ने गरेको छ । अन्य कपडा भारत लगायतका मुलुकबाट आयात हुने गर्छ ।


कपडा उद्योग पुनरुत्थानको चरणमा छ

शैलेन्द्रलाल प्रधान अध्यक्ष, नेपाल कपडा उद्योग संघ

सरकारको असहयोग, लोडसेडिङ, भन्सारमा हुने न्यून बिजकीकरणलगायत विविध कारणले धराशयी भएको कपडा उद्योग अहिले पुनरुत्थानको चरणमा रहेको छ । पछिल्ला समयमा सरकारको सहयोग अलि बढेको छ । खासगरी केही छुट तथा सुविधा सरकारले दिन थालेको छ । यसले गर्दा बन्द हुने क्रममा रहेका उद्योग सञ्चालन हुन थालेका छन् भने बन्द भइसकेका उद्योग पनि पुन सञ्चालनामा आउने क्रममा छन् । अहिले लोडसेडिङ पनि घटेको छ ।

यद्यपि, उद्योगका लागि पूर्ण अनुकूल वातावरण भने अझै भइसकेको छैन । ५० जना मन्त्री हुँदा पनि उद्योगमन्त्री कोही थिएन । सरकारले नेपाली कपडा उद्योगलाई प्रोत्साहन गर्ने काम कहिल्यै पनि गरेन जुन सरकारको सबैभन्दा ठूलो कमजोरी हो ।

नेपाली कपडा उद्योगले भारतीय र चिनियाँ कपडासँग प्रतिस्पर्धा गरिरहेका छन् । तर, भन्सारमा हुने न्यून बिजकीकरण र अवैध आयातले स्वदेशी कपडा उद्योग मारमा परेका छन् । तौल तथा मूल्यमा न्यून बिजकीकरण भई नेपाल भित्रने चीन र भारतका कपडासँग प्रतिस्पर्धा गर्न गाह्रो भएको छ । त्यस्तै, भारतबाट अवैध रूपमा कपडा आयात भइरहेका छन् ।

कपडा उद्योग सम्भावना भएको क्षेत्र हो । ७० प्रतिशत बजार आयातले धानिरहेको छ । यस्तो अवस्थामा कपडा उद्योगमा ठूलो सम्भावना भए आयात प्रतिस्थापन हुनुका साथै ठूलो मात्रामा रोजगारीसमेत सिर्जना हुन्थ्यो । अहिलेको अवस्थामा एउटा कपडा उद्योग खोल्न कम्तीमा २–३ करोड रुपैयाँ लगानी लाग्छ । सरकारले लगानीलाई प्रोत्साहन गरे यस क्षेत्रमा राम्रो सम्भावना रहेको छ । नेपालमा अझै पनि उद्योगमा लगानी गर्न गाह्रो छ । अहिले केही नीतिगत सुधार भएका छन् ।

कार्यान्वयनमा आए औद्योगीकरणमा सहज हुन्थ्यो । कपडा उद्योगमा राम्रो सम्भावना छ । कसैले लगानी गर्न चाहन्छ भने उसले कपडाबारे बुझ्नुपर्छ । संघ पनि छ, त्यसले पनि जानकारी दिन्छ । बजार खोज्नुपर्छ । लगानीका लागि रिस्क पनि लिनुपर्छ । आँट गरेर आउनेलाई अहिले कपडा उद्योगमा लगानीका लागि राम्रो सम्भावना छ । अहिले उद्योगलाई प्रवद्र्धन गर्ने सरकारको नीति देखिएको छ । तर, कार्यान्वयन न्यून छ ।

लोडसेडिङ घटेको छ, स्वदेशी कच्चा पदार्थमा लाग्ने भ्याट फिर्ता दिइएको छ । यसले केही राहत दिएको छ । कपडा उद्योगको कच्चा पदार्थमा पनि भन्सार छुट दिनुपर्छ । रङ तथा केमिकल लगाइएको भन्सार घटाउनुपर्छ । यस्ता कुरामा सरकारको सहयोगको खाँचो छ ।


कपडा उद्योगलाई अगाडि बढाउनु पर्छ

आन्दराज पोखरेल शाखा अधिकृत घरेलु तथा साना उद्योग विभाग

कुनै पनि कपडा उद्योग खोल्नको लागि ठूलो लगानीको आवश्यक हुन्छ । त्यसपछि आपूmले गरेको लगानी सुरक्षित छ कि छैन, भन्ने प्रश्न आउँछ । त्यसपछि कच्चापदार्थको जरुरी पर्छ । कपडा उद्योगलाई चाहिने कच्चा पदार्थ हाम्रो देशमा उपलब्ध छैन । जसले गर्दा कच्चापदार्थहरू छिमेकी मुलुकहरूबाट ल्याउनुपर्छ ।

यसले गर्दा हाम्रो देशको कपडा उद्योगले विदेशी कपडाहरूसँग प्रतिस्पर्धा गर्ने सक्दैन । यसका साथसाथै कामदार पाउनको लागि गाह्रो हुन्छ । जसले गर्दा कपडा उद्योगमा लगानी गरेर निरन्तर रूपमा चलाउन निकै नै गाह्रो रहेको छ ।

वैधानिक किसिमबाट आउने कपडा उद्योगहरूलाई सञ्चालन हुन गाह्रो छैन । मजदुरको समस्याले पनि उद्योगहरू राम्रोसँग सञ्चालन हुन सकेका छैनन् । जसमा ७ सयभन्दा बढी मजदुरले प्रत्यक्ष रोजगारी पाएका थिए । भारत र चीनबाट अवैध रूपमा आउने कपडाको कारणले पनि नेपाली उद्योग विस्थापित भइरहेको छ ।

विशेष गरी चीन र भारतबाट चोरीपैठारी भएर आउने कपडाका कारण यहाँका उद्योग विस्थापित भइरहेको छ । भन्सार नतिरी आउने कपडासँग यहाँ कच्चापदार्थ आयतदेखि १३ प्रतिशत भ्याट तिरेर उत्पादित कपडाले कसरी प्रतिस्पर्धा गर्न सक्छन् । यसले चोरीपैठारी भए अहिले नेपाली कपडा उद्योगको स्थिति कमजोर नै छ । झन् दसैँपछि यसको बजार कम नै हुन्छ । अहिले विद्युतीय सामान, मोबाइल लगायतका समानहरूमा मानिसहरूले बढी खर्च गर्छन् । उनीहरूले कपडामा त्यति धेरै पैसा खर्च गर्दैनन् । अरू उद्योगजस्तो कपडा उद्योग पनि सञ्चालन भइरहेको छ । मजदुर समस्याकै कारणले पनि उद्योग बन्द हुने गरेको छ ।

अहिले विदेशी कपडाहरूसँग स्वदेशी कपडाहरूले प्रतिस्पर्धा गर्न सकेका छैनन् । जसरी भए पनि नेपाली कपडा उद्योगलाई अगाडि बढाउनुपर्छ । यसको लागि सरकार र उद्योगीहरू मिलेर लाग्नुपर्छ । कपडा उद्योगले गर्दा धेरै कामदारहरूले रोजगारी पाउन सक्छन् । कपडा उद्योग सञ्चालन गर्नका लागि कच्चापदार्थ चाहिन्छ, जुन कि त भारतबाट ल्याउनुपर्छ कि त चीनबाट । जसले गर्दा स्वदेशमा उत्पादन भएको कपडाको मूल्य विदेशी कपडाभन्दा अलि महँगो हुन्छ । तर, भन्सार छलेर आएको विदेशी कपडाको मूल्य कम हुन्छ । यसले गर्दा स्वदेशी कपडाले राम्रो बजार पाउन सक्दैन ।

नेपाली उद्योगले ९० प्रतिशत स्वदेशमै उत्पादित कच्चापदार्थ प्रयोग गर्दै आएको छ । एउटा उद्योग बन्द भयो भने कच्चापदार्थ उत्पादन गर्नेदेखि मजदुरका परिवारसम्मलाई असर पुग्ने गर्छ । यसरी कपडा उद्योगहरू बन्द हुँदै गयो भने देशको अर्थतन्त्र कता जाँदै छ भन्ने प्रस्ट हुन्छ । जसरी पनि कपडा उद्योगलाई अगाडि बढाउनुपर्छ ।

 

प्रतिक्रिया