विकाश पराजुली
बुटवल, १० पुस । रुपन्देहीको बुटवलमा सञ्चालनमा रहेको साहाराको घर (बालगृह) मा रहेका बालबालिकामाथि शोषण र कुटपिट गर्ने गरेको आरोप लागेको छ । बुटवल–१३ स्थित बेलवासमा सञ्चालनमा रहेको साहारको घर बालगृहमा रहेका बालबालिकाहरू शनिबार राती आफुमाथि शोषण र कुटपिट गरेको भन्दै भागेपछि बालगृहमा बालबालिकामाथि अत्याचार हुने गरेको तथ्य बाहिर आएको हो ।
आश्रममा रहेका मध्ये पाँच जना बाबलिका राती भागेर सडकमा आएका थिए । मुगुबाट केही दिनअघि मात्र उनीहरूलाई आश्रम ल्याइएको थियो । सुविधा सम्पन्न होस्टलमा बस्ने भनी आपूmहरूलाई ल्याएको भए पनि आश्रममा रहेका सहयोगीहरूले मानसिकरूपमा यातना दिँदै शोषण गरेको बालबालिकाले प्रहरीसामु बताएका छन् । घरपरिवारलाई राम्रो होस्टलमा राखेर पढाइदिने भन्दै ल्याइएको बुझिएको छ ।
उनीहरू अहिले इलाका प्रहरी कार्यालयको संरक्षणमा छन् । संरक्षित बालबालिकामा १५ वर्षका रमेश रोकाय, ११ वर्षका निराजन बुडा, रबिन्द्र रोका, चक्र बुडा र १० वर्षीय हस्त बुडा रहेका छन् । ‘हामीले उनीहरूको बारेमा अनुसन्धान गरिरहेका छौँ ।’ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) पवन भट्टराईले भने ।
बेलुका पेटभरी खान पनि नदिई उनीहरूलाई सुसारेले कुटपिट गरेपछि उनीहरू आफ्नै घर जाने भन्दै हिँड्दै गर्दा गस्तीमा रहेको प्रहरीले फेला पारी उद्धार गरेको हो । नयाँगाउँ प्रहरीचौकी इन्चार्ज विष्णुप्रसाद मिश्रले सडकमा हिँडिरहेको अवस्थामा फेलापारी उद्धार गरेको बताए ।
घरवारविहीन बालबालिकालाई आश्रय दिने भनिए पनि परिवारमा अभिभावक भएका उनीहरूलाई ५० हजारसहित मुगुबाट बालगृहसम्म ल्याइएको स्रोतले बताएको छ । आश्रम सञ्चालक र सहयोगीहरूले बालबालिकाहरूलाई घरमा कोही छैन भनि बोल्न बाध्य पार्ने र त्यसो नगरेमा कुटपिट गर्ने गरेकोे उनीहरूले बताएका छन् । मुगुबाट बालबालिका ल्याइने गरेको भए पनि उनीहरू सबैलाई चितवनबाट आएको भन्न बध्य पारेको स्रोतले जानकारी दिएको छ ।
देवदह नगरपालिकामा स्थायी घर भएका शंकर प्यासीले सञ्चालन गरेको बालगृहमा अहिले ३४ जना बालबालिका बस्दै आएका छन् । चितवन केन्द्रीय कार्यालय रेहेको बताउने प्यासीले सुनवल, धनगढी र सुर्खेतमा शाखा सञ्चालन रहेको बताएका छन् । प्रहरीको अनुसन्धानमा रहेका उनले आपूmले नियम र परिधिभित्र रहेर आश्रम सञ्चालन गरेको बताएका छन् ।
एक तले सामान्य घरमा बालगृह सञ्चालन गरेका उनले बालबालिकालाई भेडाबाख्रा जस्तै व्यवहार गरेको प्रष्ट देख्न सकिन्थ्यो । सामुहिक नेतृत्वमा सञ्चालक समितिमार्फत बालगृह सञ्चालन गर्नुपर्ने भए पनि उनको एकल कब्जामा आश्रम सञ्चालन भइरहेको छ ।
उनका बुबा स्वर्गीय बाबुरा प्यासीले देवदहमा बालआश्रम सञ्चालन गरेका थिए । उनको अवसानपछि आश्रममा बालबालिका जोखिममा परेको भन्दै जिल्ला बाल कल्याण समितिले आश्रमका बालबालिकालाई केन्द्रीय बालकल्याण गृहको जिम्मा लगाएको थियो ।
जिल्ला बालकल्याण समिति रुपन्देहीले केही दिनअघि सो आश्रममा अनुगमनसमेत गरेको थियो । प्रहरीले आश्रमका बारेमा थप अनुसन्धान भइरहेको र राती भागेका पाँच जना बालबालिकालाई सोधपुछ थालिएको बताएको छ ।
प्रतिक्रिया