काठमाडौं । नेपालका दीपेश धामी र रत्नजित तामाङ दोस्रो संस्करणको योनेक्स–सनराइज नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन सिरिजको मेन्स सिंगल्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा रत्नजितले भारतका यस योगीमाथि २१–१६ र २१–१३ तथा दीपेशले भारतकै सिद्धार्थमाथि २३–२१ र २१–१६ को जित निकाले ।
मेन्स सिंगल्समै नेपालका साजनकुमार ताम्राकारले मलेसियाका मोहम्मद मिस्बुनसँग वाकओभर(रिटायर्ड) पाए । मेन्स सिंगल्सकै अन्य खेलमा नेपालका प्रिन्स दाहाल चिलीका कुइन जिइङसँग २१–११ र २१–१६ तथा सुदीप सेढाईं मलेसियाका मोहम्मद ताहसँग २१–१५, १६–२१ र २१–१४ ले स्तब्ध भए ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको सिरिजअन्तर्गत भएको उमन्स सिंगल्समा नेपालका सबै खेलाडी पराजित भए । महिला सिंगल्समा नङसलदेवि तामाङ भारतकी शैली रानीसँग १३–२१, २१–१४ र २१–१२, अनुमाया राई भारतकै प्रनली कारनीसँग १९–२१, २१–९ र २१–१६ तथा जेसिका गुरुङ बंगलादेशकी एलिना सुल्तानसँग २१–१३ र २१–१० ले पराजित भइन् ।
महिला सिंगल्समै नेपालकी सुनैना मुखिया भारतकी ए कष्यपसँग २१–८ र २१–९, शोभा गौचन भारतकै बुद्धु नैरसँग २१–१८ र २१–१५ तथा अमृता गिरी भारतकै मुघा एग्रेसँग २१–१७ र २१–४ ले पराजित भए । ब्याडमिन्टन सिरिज आगामी ९ पुससम्म सञ्चालन हुनेछ । सिरिजमा दक्षिण एसियाका नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स र भुटान तथा म्यानमार र मंगोलिया, ओसियानाबाट अस्ट्रेलिया र उत्तर अमेरिकाबाट चिलीको पनि सहभागिता छ । सौर्य समाचार
प्रतिक्रिया