बुटवल । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा पुसभित्रै नयाँ सरकार गठन हुने बताएका छन् । जनताले वाम गठबन्धनलाई स्पष्ट बहुमत दिएको भन्दै पुस मसान्तभित्रै नयाँ सरकार गठन हुने उनको भनाइ छ ।
सोमबार एमाले गुल्मी रूपन्देही सम्पर्क मञ्च क्षेत्र नं. १ ले बुटवलमा आयोजना गरेको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता ज्ञवालीले नयाँ सरकार गठनसँगै पार्टी एकता पनि हुने बताए । गुल्मी क्षेत्र नम्बर १ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका ज्ञवालीले केन्द्रीय पुस महिना भित्र ७ वटा प्रदेश मध्ये ६ वटामा वाम गठबन्धनको बहुमत सरकार गठन हुने बताएका छन् ।
उनले नेपाली कांंग्रेस अझै पनि सत्तामोहमा भएको भन्दै जसरी पनि पुसमा वाम गठबन्धनको सरकार बनेरै छाड्ने बताए । ‘राप्रपाको पुच्छर छोपेर कांग्रेस सत्ता लम्बाउने प्रयासमा लागेको छ, जनताले स्पष्टरूपमा कांग्रेसलाई ५ वर्षसम्म प्रतिपक्ष बस्ने गरी मत दिएका छन’ उनले भने–‘केही कांग्रेसीहरूले राष्ट्रियसभा गठनको नचाहिदो कुरा मात्र गरिरहेका छन ।’ नयाँ सरकार गठन भएसँगै माओवादी केन्द्रसँग पार्टी एकिकरण हुने कुरामा कुनै शंका नगर्न आग्रह गर्दै ज्ञवालीले अब देशमा वाम गठबन्धनको सरकार बन्ने र उक्त सरकारले अव आर्थिक समृद्धिका योजनाहरू बनाउने बताए ।
वाम गठबन्धनको जनादेश स्पष्ट भएको भन्दै कांग्रेसलाई प्रतिपक्ष दलको रूपमा जनताले बनाइदिदासमेत कांग्रेसले राष्ट्रियसभा गठनको विषयमा अनावश्यक किचलो झिकेको उनको भनाई । उनले संविधानमा कहि पनि राष्ट्रियसभा गठन र प्रधानमन्त्रीको चयनमा कुनै सम्बन्ध नरहेको समेत प्रस्ट पारे ।
ज्ञवालीले एमाले र माओवादी केन्द्रको विचमा पार्टी एकताको एजेन्डा जनताको एजेन्डा भएको भन्दै उनले जनताको मागअनुसार नै पार्टी एकता हुने जानकारी दिए । पछिल्लो समयमा कांग्रेसले सत्ता लम्बाउने खेल रचेको भन्दै नेता ज्ञवालीले संविधानमा नै परिकल्पना नभएको कुरालाई लिएर सत्ता लम्बाउन खोज्दा कांग्रेसकै लागि घातक भएको धारणा राखे । गुल्मी जिल्ला कृषिको आधुनीकरण र पर्यटनको प्रसार प्रसारबाट विकास संभव भएको भन्दै उनले कफि खेती अनुसन्धान केन्द्र स्थापनाबाट कृषिमा आधुनीकरणको सुरुवात भएको बताए । गुल्मी जिल्लाको रुरुधाम, रेसुङ्गा क्षेत्र लगायतको विकास गर्न सकेमा गुल्मी समृद्ध हुने उनको भनाई थियो ।
कार्यक्रममा रूपन्देही क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का प्रतिनिधिसभा सदस्य लिला गिरी, गुल्मी क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का प्रतिनिधीसभा सदस्य कमलराज श्रेष्ठ, एमाले रूपन्देही गुल्मी मञ्चका अध्यक्ष हिराध्वज शाह, गुल्मी रूपन्देही सम्पर्क मञ्चका अध्यक्ष देवराज खनाल लगायतले बोलेका थिए ।
प्रतिक्रिया