चलचित्र फ्लप भएपछि टिभी ‘सो’ मा फर्किंदै कपिल

मुम्बई । भारतीय हास्य कलाकार कपिल शर्माका लागि सन् २०१७ निकै खराब वर्षको रूपमा रह्यो । चलचित्र ‘फिरंगी’ फ्लप भएपछि गायब भएका कपिल पछिल्लो समय निकै निराश बनेका छन् ।  यसैवर्ष कपिलको हास्य कलाकार सुनील ग्रोबरसँग झगडा भयो । झगडाका कारण सुनीलसहित अन्य कलाकारले सोनी च्यानलको ‘द कपिल शर्मा सो’ नै छाडे । उनीहरूले छाडेपछि बिस्तारै सो को टिआरपी खस्कियो र अन्ततः कार्यक्रम नै बन्द भयो ।
निकै महत्वकांक्षा पालेर कपिलले बनाएको चलचित्र दर्शकले नरुचाएपछि ‘फिरंगी’ बक्स अफिसमा फ्लप भयो । सबैतिरबाट असफलता बेहोरे पनि कपिल फेरि एकपटक पुरानो मञ्च अर्थात् टिभी सोमा फर्कने तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कपिल आगामी वर्ष ‘द कपिल शर्मा सो’ को सिजन–२ सुरु गर्ने तयारीमा रहेका छन् ।

उनी ‘द कपिल शर्मा सो’ सिजन–२ को प्रोमोको चाँडै सुटिङ गर्ने तयारीमा छन् ।  खबरमा जनाइएअनुसार जनवरीको पहिलो सातामा प्रोमोको सुटिङ हुँदै छ ।  कपिलले सञ्चालन गर्ने सो सोमा कुनकुन कलाकारले काम गर्दै छन् सो बारेमा अहिले केही खुलाइएको छैन । तर, कपिलले आफ्नो छवि सुधारेर फेरि आफ्ना प्रशंसकलाई प्रभावित पार्न सक्छन् कि सक्दैनन्, यो भने उनका लागि चुनौती बनेको छ ।

पछिल्लो समय कपिलले पुरानो सामा बलिउडका हस्तीहरूलाई सुटिङ सेटमा कुराएर आफू नआउने कारण बदनाम बनेका थिए । उनले अभिनेता शाहरूख खान, अजय देवगन र अनिल कपुर, अक्षय कुमार आदि कलाकारलाई लामो समय कुराउनुका साथै कतिलाई फिर्ता जान बाध्य पारेका थिए ।

प्रतिक्रिया