नेपाल आर्मी च्याम्पियन

काठमाडौं । नेपाल आर्मी आठौँ कोरियन एम्बासडर तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा आइतबार आर्मी महिला र पुरुष दुवैको सिनियरतर्फ च्याम्पियन भएको हो । आर्मीले महिलातर्फ ४ स्वर्ण, २ रजत र ६ कांस्य पदक जित्दा पुरुषमा ५ स्वर्ण, २ रजत ६ कांस्य पदक हात पार्न सफल भयो ।

नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको आयोजनामा भएको च्याम्पियनसिपको पुरुषमा नेपाल पुलिसले ३ स्वर्ण, १ रजत तथा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १ स्वर्ण, ३ रजत र ३ कांस्य पदक हात जित्दै क्रमशः टिम दोस्रो र तेस्रो स्थान हात पार्न सफल भए । महिलामा पनि पुलिसले ३ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्दै दोस्रो हुन सफल भयो ।

तेस्रो भएको कोटेश्वरले २ रजत पदक मात्र जितेको थियो । जुनियरतर्फ महिलामा आर्मीले ३ स्वर्ण र २ रजत तथा पुरुषमा कोटेश्वरले ३ स्वर्ण र १ रजत पदक जित्दै बाजी मारे । महिलामै युनाइटेड तेक्वान्दो डोजाङले १ स्वर्ण र १ रजतका साथ दोस्रो तथा शिक्षा अभियान १ स्वर्ण र १ कांस्य पदक जित्दै तेस्रो हुन सफल भए ।

पुरुषतर्फ दोस्रो भएको सीतापाइला तेक्वान्दो डोजाङले २ स्वर्ण, २ रजत र २ कांस्य जित्दा तेस्रोमा सीमित ललितपुरले १ स्वर्ण र १ कांस्य पदक हात पारेको थियो । समग्र टिम पुम्सेमा महिलातर्फ पुलिस पहिलो, स्युचाटार दोस्रो र जेसिस स्कुल तेस्रो भयो । महिला टिम पुम्सेमा पुलिस पहिलो, स्युचाटार दोस्रो र आर्मी तेस्रो हुन सफल भयो ।

प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष लामा टेन्डि शेर्पा, नेपाल तेक्वान्दो संघका उपाध्यक्षद्वय भोजबहादुर शाह र नन्दु राई र दक्षिण कोरियाली दूतावासका काउन्सलर युन जोङ योङ, सामसुङ ग्यालेक्सी काठमाडौं नेपालका म्यानेजरद्वय ज्योती शाह र सौरभ करनजित लगायतले पुरस्कृत गरे ।

प्रतिक्रिया