असहायलाई घर बनाउनै समस्या


शुकदेव थपलिया
काभ्रे । काभे्रको तेमाल गाउँपालिकाकी ७७ वर्षीया ललिता तामाङको आफ्नै व्यथा छ । यतिवेला उनी सामान्य घरधन्दाबाहेक अरू कुनै काम गर्न सक्दिनन् । अझै भूकम्पको पुनर्निर्माणबारे त उनले सोच्नसमेत नसकेको बताउँछिन् । भूकम्पपछिको लाभग्राहीको सूचीमा समेत उनको नाम छ । तर, घर बनाउने कुरा उनका लागि बुढेसकालमा जवानीको सपना देख्नुजत्तिकै चुनौती रहेको बताउँछिन् ।

यता, घर भत्किएर पनि लाभग्राहीको सूचीमा नअटाएका ४७ वर्षीय चन्द्रबहादुर अझै गुनासो सुनुवाइको सूची कुरिरहेका छन् । यस्तै, बनेपा १० थापागाउँ निवासी लक्ष्मी थापा अहिले निकै समस्यामा छिन् । आफ्नो सन्तान नभएका कारण पतिले अर्काे पत्नी ल्याएपछि उनी एक्लै बस्दै आएकी थिइन् । पहिले छुट्टै घरमा बस्दै आएकी थापा गत ०७२ सालमा गएको भूकम्पका कारण घरबारविहीन बन्न पुगिन् ।

सरकारले राहतस्वरूप दिएको पहिलो किस्ता पाए पनि उनले अहिलेसम्म घर बनाउने तयारी भने गरेकी छैनन् । ‘धनीले त यो गाउँमा घर बनाइसके, अर्काेतिर एकल महिला कसरी घर बनाउन सक्नु ?’ उनले भनिन् । सरकारले राहतस्वरूप दिने भनेको तीन लाख रुपैँया एकैचोटि दिए घर बनाइहाल्न सक्ने उनी बताउँछिन् ।

त्यस्तै, बनेपा १ निवासी धनमाया खड्काका छोरा छैनन् । हाल उनी ७० वर्षकी भइन् । उनको हालत पनि लक्ष्मीको जस्तै छ । ‘भुँइचालोले घर ढलाएपछि अहिले छोरीको घरमा बस्छु,’ उनले भनिन् । बुढेसकालमा घर बनाउन नसक्दा आफूलाई निकै समस्या भएको उनी बताउँछिन् ।

सरकारले कतिपय भूकम्पपीडितलाई तेस्रो किस्तसमेत बाँडिसकेको अवस्था छ । तर, कतिपय भूकम्पपीडितले भने सरकारी प्रक्रियाबारे जानकारी नहुँदा पहिलो किस्तासमेत पाउन सकेका छैनन् । यस्तै, बाबु आमा नै नभएका बालबालिका बस्दै गरेको काभ्रेको विकट मानिने डाँडापारिको खानीखोला ३ मा रहेका १२ वर्षीया सुमित्रा तामारूलाई घर बनाउने विषयमा केही थाहै छैन । आफ्नो दुई भाइहरूको समेत स्याहार–सुसार गर्नुपर्ने जिम्मेवारीमा रहेकी उनको पनि लाभग्राही सूचीमा नाम भने आएको छ । घर बनाउने विषयमा भने अन्योलमा छिन् ।

बनेपा नगरपालिका १ की अर्की स्थानीय सरिता पाण्डेका पति भूकम्पलगत्तै वैदेशिक रोजगारीका गएका छन् । सरकारी प्रक्रियाकाबारे जानकारी नहुँदा हालसम्म पनि उनले पहिलो किस्तासमेत लिन सकेकी छैनन् ।

यी त केही उदाहरण मात्रै हुन् । पुनर्निर्माणको गति सुस्त हुनुमा यस्ता थुप्रै समस्याका चाङ छन् । तर, असहायहरूका लागि भने काभ्रेमा त्यस्तो कुनै अभ्यास भएको पाइँदैन । पुनर्निर्माण प्राधिकरण शाखा काभ्रेका प्रमुख ध्रुव गैडाले भने अब एकल महिला, महिला, अपांगता भएका र घर बनाउन नसक्नेहरूको तथ्यांक संकलन गरी कतै पहल गर्न आफूहरू लागिपरेको बताएका छन् । पछिल्लो समय काभ्रेमा भूकम्पको पुनर्निर्माणमा ढिलाइ हुनुमा, खेतीपाती, चाडपर्व र चुनावी चटारो पनि बाधक बनेको तर्क प्रमुख गैडाको छ ।

प्रतिक्रिया