खोजखबर

रहस्यमयी रजनीशबारे थाहा पाउनुस्

सौर्य अनलाइन २०७४ मंसिर २६ गते ११:१० मा प्रकाशित

काठमाडौं । रजनीशको मृत्यु भएको २७ वर्ष पूरा भएको छ । सोमबार ११ डिसेम्बर उनको जन्मदिन हो । ओशोको जीवन जति रहस्यमय थियो उनको मृत्यु पनि त्यति नै रहस्यमय छ । यही जन्मदिनको अवसर पारेर उनका जीवनका केही महत्वपूर्ण कुराबारे यहाँ चर्चा गर्न खोजिएको छ । ११ डिसेम्बर १९३१ मा भारतको मध्यप्रदेशको कुचवाडा गाउँमा उनको जन्म भएको थियो । न्वारनमा उनको नाम चन्द्रमोहन जैन राखिएको थियो ।

सानै उमेरदेखि उनको दर्शनमा रुचि देखिएको थियो । यस्तो कुरा उनले आफ्नो किताब ‘ग्लिप्सेंस आफ द माई चाइल्डहुड’मा लेखेका छन् । उनले आफ्नो पढाइ जवलपुरमा पूरा गरे र पछि जवलपसर युनिभर्सिटीमा लेक्चररको रूपमा काम गर्न थाले । उनले अलग–अलग धर्म र विचारधाराका विषयमा भारतभर प्रवचन दिन थाले । उनको व्यक्तित्व नै यस्तो थियो कि जोकसैलाई प्रभाव पार्न सक्दथे । उनले प्रवचन गर्दागर्दै ध्यान शिविरको पनि सुरुआत गरे ।

सुरुमा उनलाई आचार्य रजनीशका रूपमा चिनिन्थ्यो । जागिर छोडेपछि उनले नवसंन्यास आन्दोलनको सुरुआत गरे । यसपछि उनले आफूलाई ओशो भनाउन सुरु गरे । सन् १९८१ देखि १९८५ का बीचमा उनी अमेरिका रहे । अमेरिकाको ओरेगान प्रान्तमा उनले आफ्नो आश्रमको स्थापना गरे । यो आश्रम ६५ हजार एकड जमिनमा फैलिएको थियो । ओशोको अमेरिका बसाइ धेरै विवादास्पद रह्यो । महंगा घडी, रोल्स रोयल कार, डिजाइनर कपडाले उनी सधैँ चर्चामा रहे ।

ओरेगनमा ओशोका चेलाले उनको आश्रमलाई रजनीशपुरम् नामले एक सहरका रूपमा दर्ता गराउन चाहे, जसको स्थानीयले विरोध गरे । यसपछि, उनी १९८५ मा भारत फर्के । भारत फर्केपछि उनी पुणेको कोरेगाउँ इलाकामा रहेको आफ्नो आश्रममा बसे । उनको मृत्यु १९ जनवरी १९९० मा भयो । उनको मृत्युपछि उनी बसेको आश्रम उनका नजिकका चेलाहरूले नियन्त्रणमा लिए । आश्रमको सम्पत्ति करोडौँ मूल्यको मानिन्छ र यस विषयमा उनका चेलाहरूबीच विवाद छ ।

ओशोका चेला रहेका योगेश ठक्करले भने, ‘ओशोको साहित्य सबैका लागि उपलब्ध हुनुपर्छ । त्यसकारण मैलै यसको स्वामित्वको विषयमा मुम्बई उच्च अदालतमा मुद्दा हालेको छु ।’ ओशोको मृत्यु प्रमाणपत्र जारी गर्ने डाक्टर गोकुल गोकाणी लामो समयसम्म केही बोलेनन् । पछि उनले मौनता तोड्दै मृत्युसम्बन्धी गलत जानकारी दिएर आफूलाई हस्ताक्षर गराइएको बताए । अहिले डाक्टर गोकुल गोकाणीले सपथपत्र पेस गरेका छन् ।

उनको भनाइ छ कि, ओशोको मृत्युपछि पनि कैयौँ प्रश्नका उत्तर पाइएको थिएन र आजसम्म उनको मृत्युका कारणबारे रहस्य जस्ताका तस्तै छन् । ओशोको मृत्युका विषयमा ‘हु किल्ड ओशो’ शीर्षकमा पुस्तक लेख्ने अभय वैद्य भन्छन्, ‘१९ जनवरी १९९० मा ओशो आश्रमबाट डाक्टर गोकाणीलाई फोन आयो । उनलाई भनियो– आफ्नो लेटरप्याड र आकस्मिक किट लिएर आउनुस् ।’ डाक्टर गोकुल गोकाणीले आफ्नो बयानमा भनेका छन्, ‘त्यहाँ म करिब २ बजे पुगेको थिएँ । उनका चेलाले भने कि, ओशोले देह त्याग गर्दै छन् ।

तपाईं उनलाई बचाउनुस् । तर, उनको नजिक मलाई जान दिइएन । कैयौँ घण्टा आश्रममा घुमेपछि अन्त्यमा मलाई उनको मृत्यु भइसकेकाले मृत्यु प्रमाणपत्र जारी गर्न भनियो,’ डाक्टर भन्छन्, ‘ओशोका चेलाले उनलाई उनको मृत्युको कारण हृदयाघात लेख्न दबाब दिए ।’ ओशो आश्रममा कुनै सन्यासीको मृत्यु उत्सवजस्तै मनाउने प्रचलन थियो । तर, जब स्वयं ओशोको मृत्यु भयो, तब एक घण्टाभित्रै उनको दाहसंस्कार गरियो र उत्सवको प्रचलन पनि अति छोटो राखियो ।

ओशोको आश्रममै रहन्थिन् उनकी आमा । तर, उनलाई पनि छोराको मृत्युको खबर धेरै समयपछि दिइयो ।  ओशोकी चेली रहेकी निलमले एक अन्तर्वार्तामा भनेकी छन्, ‘उनकी आमाले धेरैपछिसम्म भनिरहन्थिन् कि, छोरा ! उनीहरूले तिम्रो हत्या गरे ।’ योगेश ठक्करको दाबी छ कि, ओशो आश्रमको सम्पत्ति हजारौँ करोडको छ र पुस्तक तथा अन्य कुराबाट करिब एक सय करोड रोयल्टी आउँछ । ओशोको पैत्रिकता ओशो इन्टरनेसनलको नियन्त्रणमा छ ।

ओशो इन्टरनेसनलको दाबी छ कि, उसलाई यो वारेसबाट प्राप्त भएको हो । योगेश ठक्करको दाबी छ कि, ओशो इन्टरनेसनलले जुन वारेसको कुरा गरेको छ, त्यो नक्कली हो । जबकि, उनकी चेली अमृत साधनाले यसको खण्डन गर्दै आरोपलाई झुठा भनेकी छन् । ओशो इन्टरनेसनलले युरोपमा ओशो नामको ट्रेडमार्क लिएको छ । यो ट्रेडमार्कलाई युरोपकै अर्को संस्था ओशो लोटस कम्युनले दाबी गरेको थियो । यसै वर्ष ११ अक्टुबरमा युरोपियन युनियनको एक अदालतले ओशो इन्टरनेसनलको पक्षमा यो मुद्दाको फैसला सुनाएको छ ।

ओशो इन्टरनेसनलको प्रतिलिपि अधिकार र ट्रेडमार्कका विषयमा उठ्ने विवादका विषयमा भनिएको छ कि, यसले ओशोका विचारहरू शुद्ध रूपमा उनलाई चाहनेहरूसमक्ष पु¥याउँछन् । त्यसैले, यो अधिकार उनीहरू आफैँसँग राख्न चाहन्छन् । तर, ओशोले नै भनेका थिए, ‘प्रतिलिपि अधिकार वस्तुहरू र चीजहरूको हुन सक्छ तर, विचारको हुन सक्दैन ।’  पुणेस्थित उनको समाधिस्थलमा लेखिएको कुराले उनको महत्व बुझ्न सकिन्छ ।

त्यहाँ लेखिएको छ, ‘न कहिले जन्मे, न कहिले मरे । उनी धर्तीमा ११ डिसेम्बर १९३१ र १९ जनवरी १९९० का बीचमा आएका थिए ।’

प्रतिक्रिया