नेता रवीन्द्रको ह्याट्रिक

पोखरा, २४ मङ्सिर । एमालेका युवा नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेका छन् । लगातार २ संविधानसभा चुनावमा विजयी भएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।

उनले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरे । अधिकारीले २७ हजार २ सय ७ मत पाउँदा चालिसेले १८ हजार ६ सय ६१ मत पाएका छन् । ७० हजार ६ सय ५१ मतदाता रहेको यो क्षेत्रमा ५० हजार १ मत खसेको थियो । अधिकारीले २०६४ मा माओवादी नेता झलकपाणी तिवारीलाई पराजित गरे भने दोश्रो पटक २०७० मा कांग्रेस नेता शोभियतबहादुर अधिकारीलाई पराजित गरेका थिए ।

वि.सं. २०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष भएका रवीन्द्र अधिकारी वि.सं. २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमै अनेरास्ववियु कास्की अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य भए ।

वि.सं. २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वाचित भएका अधिकारी वि.सं. २०५६ सालमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष बनेका हुन् ।

वि.सं. २०५३ सालमै स्ववियु काउन्सिल नेपालका संयोजक उनी निर्वाचित भए । वि.सं. २०४५ सालमा पार्टीको संगठित सदस्यता लिएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित थिए । वि.सं. २०४० मा इलाका पार्टी कमिटीमा, २०४६र०४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रह े। वि.सं. २०६० र २०६३ मा एमाले कास्की जिल्ला सचिव भएका अधिकारी पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन ्।

वि.सं. २०२६ वैशाख २२ गतेका दिन आमा लक्ष्मीदेवी अधिकारी र बुवा इन्द्रप्रसाद अधिकारीका जेष्ठ सुपुत्रका रुपमा कास्कीको भरतपोखरीस्थित जामुनाबोटमा रवीन्द्र अधिकारीको जन्म भएको हो । उनले ब्रह्मज्योति प्राविबाट प्राथमिक शिक्षा हासिल गरे । शान्ति उदय माविबाट एसएलएसी पास गरेका अधिकारी वि.सं. २०४२ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्ना भए ।

त्यहाँ प्रविणता प्रमाणपत्र तह र स्नातक तहको पढाई पूरा गरे। त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका अधिकारीका संविधान सभा लोकतन्त्र र पुनर्संरचना र समृद्ध नेपाल पुस्तक प्रकाशित गरेका छन् । उनी विकास समितिका सभापति समेत भइसकेका छन् ।

प्रतिक्रिया