यू–१९ फुटबल टोली घोषणा

काठमाडौं १२ कात्तिक । किर्गिस्तानमा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिप छनोटको लागि नेपाली युवा फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अर्पण कार्कीको नेतृत्वमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीमा गत महिना भुटानमा सम्पन्न साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जित्ने टोलीका अधिकांस सदस्यहरु परेका छन् ।

नेपाली टोलीमा कप्तान अर्पणसहित उपकप्तानमा प्रिजन तामाङ रहेका छन् । टोलीमा अविशेक बराल, विश्व उदास, विकास खवा,राजन गुरुङ, सुमन अर्याल, निराजन महर्जन,रोमन लिम्बु, अशोक थापा, दिनेश हेन्जन र अविशेक रिजाल रहेका छन् । टोलीमा अनिल महर्जन, सेसेहाङ आङदेम्बे,आकाश श्रेष्ठ, एरिक बिष्ट, रेजीन सुब्बा, धिराज श्रेष्ठ,सुरज ठकुरी,राजेश परियार, मनिष थापा र सोजित गुरुङ टोलीमा अटाएका छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ, प्रशिक्षकमा पुस्कर शाह र गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन् । नेपाली टोली आइतबार त्यसतर्फ जाने छन् । आगामी मंगलरबारबाट सुरु हुने छनोटमा नेपाल कठिन मानिएको समूह ‘समूह ए’ मा रहेको छ । नेपालको समूहमा किर्गिस्तान, ओमान, युएइ र बहराइन रहेका छन् ।

नेपालले पहिलो खेल आयोजक किर्गिस्तानसँग १४ कात्तिकमा खेल्नेछ । नेपालले कात्तिक १६ मा बहराइन, कात्तिक १८ मा युएइ र कात्तिक २२ मा ओमानसँग खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टिम फाइनल चरणको लागि छानिनेछ । दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछ । फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया