सारसको मुख्य प्रजनन केन्द्र बन्दै कपिलवस्तु

Sarusजितपुर, कपिलवस्तु, २८ असोज । सबैभन्दा बढी सारस पाइने जिल्लाका रूपमा परिचित कपिलवस्तु पछिल्लो समय सारसको मुख्य प्रजनन केन्द्र बन्न थालेको छ । विश्वमै लोपोन्मुखको सूचीमा परेको दुर्लभ पक्षी सारसले यहाँ आफ्नो प्रजनन केन्द्र बनाउन थालेको हो ।

पछिल्लो तथ्याङ्कअनुसार नेपालमा रहेका ४०० मध्ये कपिलवस्तु, रुपन्देही र नवलपरासीमा मात्रै २५० भन्दा बढी सारस भएको बताइन्छ । त्यसकारण पनि यो जिल्ला सारसको मुख्य प्रजननको केन्द्र बन्दै गएको हो ।

जिल्लाको विश्व सीमसार क्षेत्रमा सूचीकृत जगदीशपुर ताल छेउछाउमा केही वर्षयता सारस आउने क्रम बढ्दै गएको स्थानीयवासीको भनाइ छ । आहार विहार पाइने र सुरक्षित महसुस गरेपछि सारसको संख्या बढेको उनीहरुकोे भनाइ छ ।

उड्न सक्ने चरामध्ये सबैभन्दा अग्लो सारस अहिले कपिलवस्तुका विभिन्न स्थानमा अण्डा पार्ने र बच्चा कोरल्न व्यस्त देखिएका छन् । विशेषगरी सारसले असोज र कात्तिक महिनामा अण्डा पार्ने र बच्चा कोरल्ने गर्छन् ।

कपिलवस्तुको कुदान क्षेत्रमा सारसले अण्डा दिएका छन् भने गोटिहवा क्षेत्र नजिक सारसले आफ्ना बच्चा चराउँदै हिँडेको देखिन्छ । त्यस्तै यशोधरा गाउँपालिकाको सिहोखोर, गोटिहवाको पोखरी, निग्लिहवाको नहरका पूर्व धानखेतलगायतका स्थानमा ओथारो बसेका छन् ।

सामान्य खतराबाट जोगिन चारैतिर पानी रहेको पोखरीको बीचमा झारपात राखेर उँचो बनाई सारस ओथारो बसेका छन् । सारस ओथारो बसेको ३१ देखि ३४ दिनभित्रमा बच्चा जन्माउने चराविद् डा. हेमसागर बरालले जानकारी दिए ।

प्रतिक्रिया