काठमाडौँ । ४ दिनदेखि जारी इजरायल–इरान युद्ध थप चर्किएपछि परराष्ट्रमन्त्री डा. आरजु राणाले २ देशबीचको युद्ध तथा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाबारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छिन् । मन्त्री डा. राणालाई राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व तथा त्यहाँको पछिल्लो अवस्थाका बारेमा सोमबार परराष्ट्रमन्त्रालयमा जानकारी गराएका हुन् । त्यस अवसरमा मन्त्री डा. राणाले त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरिन् ।
राजदूत बासले हाल त्यहाँस्थित नेपाली नागरिक सुरक्षित रहेको जानकारी गराएका थिए । पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन् ।
अझै चर्कियो युद्ध
इजरायल र इराकबीच जारी युद्ध चौथो दिन अझै चर्किएको छ । इराकले सोमबार दिनभरजसो इजरायलको राजधानी लक्षित आक्रमण गरेपछि हताहत हुने र घाइते हुनेको संख्या बढेको छ । सोमबार इरानले इजरायलमा गरेको आक्रमणमा ८ जनाको मृत्यु हुनुका साथै ९२ जना घाइते भएको इजरायलको म्यागेन डेभिड एडोम (एमडिए) आपतकालीन सेवाले बताएको छ । मध्य इजरायलका ४ स्थलमा भएका आक्रमणमा हताहत भएको एमडिएले एक विज्ञप्तिमार्फत जनाएको छ ।
अहिलेसम्म एमडिए टोलीहरूले ९२ जना घाइतेलाई अस्पतालमा लगेका छन् । जसमा १ महिलाको अवस्था गम्भीर रहेको र बाँकी सामान्य घाइते रहेको जनाइएको छ । सिएनएनका अनुसार इरानको आक्रमणमा परी हालसम्म इजरायलमा २४ जनाको मृत्यु भएको छ भने ४९५ जना घाइते छन् । जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । यसैगरी इजरायली आक्रमणमा परी इरानमा २२४ जनाको मृत्यु भएको सिएनएनले जनाएको छ । सोमबार इजरायली राजधानी तेलअभिभ नजिकै रहेको पेताह टिक्वा सहरमा एउटा आवासीय भवनमा मिसाइल खस्दा भवनका सिसा फुटेका छन्, कंक्रिटका पर्खालहरू जलिसकेका छन् । धेरै अपार्टमेन्टहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।
यसैगरी इजरायलको उत्तरी बन्दरगाह सहर हैफामा करिब ३० जना घाइते भएका छन् । उद्धारकर्मीहरू घटनास्थलमा खोज तथा राहत कार्यमा जुटेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बन्दरगाह नजिकैको विद्युत उत्पादन केन्द्रमा आगलागी भएको छ । इरानको सरकारी टेलिभिजनका अनुसार इरानले इजरायलतर्फ कम्तीमा १०० वटा मिसाइल प्रहार गरेको छ ।
इरानी रिभोलुसनरी गार्डस्लाई उद्धृत गर्र्दै उक्त टेलिभिजनले यस पटक (सोमबार)को आक्रमण नयाँ तरिकाले गरिएको दाबी गर्दै भनेको छ, ‘यसले इजरायलको धेरै तहको प्रतिरक्षा प्रणाली आफैँ आपसमा भिड्ने स्थिति सिर्जना भयो ।’ इराकी दाबीबारे इजरायली सेनाले कुनै प्रतिक्रिया दिएको छैन । बेलायती अखवार गार्डियनका अनुसार, अधिकारीहरूले पहिले नै इजरायली सुरक्षा प्रणाली शतप्रतिशत भरपर्दो नरहेको र आगामी दिनहरू कठिन हुने चेतावनी दिँदै आएका थिए ।
अर्कातर्फ इजरायलको आक्रमणमा इरानको रिभोलुसनरी गाड्र्सका गुप्तचर प्रमुख मोहम्मद काजेमीसहित २ अधिकारीको मृत्यु भएको इरानका समाचार संस्थाहरूले उल्लेख गरेका छन् । आइतबार साँझ अबेर इजरायली सेनाले इरानको सतहबाट मिसाइल प्रहार गर्ने स्थलहरूमा आक्रमण गरिएको जनाएको थियो । इरानको राजधानी तेहरानमा इजरायली आक्रमणपछि इन्धन डिपोमा आगलागी भएको र आकाशमा ठुलो आगो देखिएको छ, जसले इरानको अर्थतन्त्र र राज्य सञ्चालनमै असर पर्ने संकेत दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया