अघिल्लो मंगलबार राष्ट्रियसभा गृहमा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच भएको ६ बुँदे सहमतिको मसी सुक्न नपाउँदै गल्ली, टोल र बस्तीहरूमा नयाँ राजनीतिक तरंग सिर्जना हुन पुगेका छन् । अघिल्लो दिन वाम तालमेलको कुरा र पछिल्लो दिन प्रधानमन्त्री शेरबहादुर देउवानिवास बालुवाटारमा भएको लोकतान्त्रिक शक्ति जसले आफूलाई लोकतान्त्रिक गठबन्धनको संज्ञा दिएका छन् तिनै दलको भेला पनि सम्पन्न भयो ।
खासगरी १० र २१ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै वाम तालमेलको सहमति भएको वाम दलहरूद्वारा संयुक्त रूपमा जारी गरेको सहमति पत्रमा उल्लेख छ । उक्त तालमेलका लागि एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच लामो गृहकार्य भएको छ र थिए पनि । पहिलो संविधानसभापछि पनि एमाले र तत्कालीन नेकपा माओवादीबीच पार्टी–पार्टी एकताका लागि एक महिने छलफल र बहस भएको थियो ।
जो विफल हुन पुग्यो । एमाले र माओवादी केन्द्रका नेताबीच चलेको वैचारिक बहसलाई शीर्ष नेतृत्वले ६ बुँदेमा ल्याएर कार्यगत एकता र पार्टी एकीकरणका सम्बन्धमा पनि स्पष्ट रूपले बुँदागत सहमतिमा हस्ताक्षर पनि गरिसकेका छन् । तर, नेपाली राजनीतिक आकाशमा नेपाली कांग्रेसले उक्त ६ बुँदेको सहमति बाहिर आउन नपाउँदै सहमतिपूर्व नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बालुवाटार बोलाएर कार्यगत एकाताबारे सोधनीसमेत गरे ।
त्यसलगत्तै शेरबहादुर देउवाले दोस्रो दिन सरकारमा सहभागी भएका र नभएका गरी ६ राजनीतिक दलका नेतालाई बैठकमा बोलाए । उक्त बैठकमा राप्रपाका अध्यक्ष कमल थापा, राजपाअध्यक्ष महन्त ठाकुर, राप्रपा(प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी थिए । नेताहरूले वाम एकताविरुद्ध सशक्त प्रतिकारका लागि चुनावी रणनीति तय गर्ने र चुनावी तालमेल गरेर जाने सम्बन्धमा सहमतिसमेत जनाएका छन् । यद्यपि, उनीबीच चुनावी तालमेलको रणनीति के हुने भन्ने कुरा अहिल्यै बाहिर आइनसकेको अवस्था हो ।
खासगरी अघिल्लो दिन वाम तालमेल र दोस्रो दिन लोकतान्त्रिक शक्तिहरूबीच चुनावी तालमेल गरेर जाने सम्बन्धमा भएका राजनीतिक गतिविधि छन् यी सबै वाम र लोकतान्त्रिक शक्तिहरू बीचको ध्रुवीकरण हो भन्ने कुरालाई सहजै अनुमान गर्न सकिन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईबीच राष्ट्रिय आवश्यकता, राष्ट्रिय हित र नेपालमा राजनीतिक स्थायित्वका कायम गर्नका लागि स्वच्छ मनले कुनै छलजामविना प्राकृतिक रूपले कार्यगत एकता गरिएको हो या होइन भन्ने कुराले आज व्यापक शंका र उपशंका आमनेपाली जनता र राजनीतिक विष्लेषकहरूमाझ उत्पन्न गराइदिएको छ ।
नेपाली वाम आन्दोलन २००६ सालपछि पटक–पटक सयौं उतारचढाव हुँदै आजको अवस्थामा आइपुगेको छ । नेपाली वाम आन्दोलन कहिले जुट्ने त कहिले फुट्ने समस्याबाट ग्रसित छ । एकीकरण र विभाजनको पीडा भोगेका आम सोझा साझा पार्टी शुभेच्छुक र पार्टी कार्यकर्ताहरूमा शंका उत्पन्न हुनु पनि स्वाभाविकै हो । पुष्प लालले जन्माएको नेपाली कम्युनिस्ट पार्टी आज दर्जनौं कम्युनिस्ट पार्टीमा विभक्त छन् । जुट्ने, फुट्ने समस्याबाट नेपाली कम्युनिस्ट आन्दोलनले खासै सर्वहारा नेपाली जनताको अधिनायकत्व प्रदान गर्न सकेन । नेपाली श्रमजीवी जनतालाई दासबाट मालिक बनाउने अभियानले मूर्तरूप दिन सकेन । पुष्पलालले जनतालाई रैतीबाट मालिक बनाउने समाजवाद हुँदै साम्यवादी दिशामा देशलाई अघि बढाएर विभेदरहित नेपाली समाज बनाउने परिकल्पना गरेर नै २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
हालको अवस्थामा आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनमा ०२७ को झापा आन्दोलन, ०३३ मा पुष्पलालले स्थापना गरेको कम्युनिस्ट पार्टी पुष्पलाल समूह र मुक्ति मोर्चा सर्वहारा क्रान्तिकारी संगठन भएर विभाजन भए । त्यसपछि ०४३ मा मनमोहन अधिकारीको नेकपा, साहना प्रधानको पुष्पलाल समूहसँग एकता भयो र नेपालमा नेकपा माक्र्सवादी गठन भयो । ०४७ मा माक्र्सवादी र मालेबीच एकता भई एमाले गठन भयो । ०५४ मा एमालेबाट वामदेव गौतमले माले विभाजन गरे र फेरि ०५८ मा एमाले र मालेबीच पार्टी एकीकरण भयो तर सिपी मैनाली भने नेकपा मालेमा नै रहे ।
त्यो माले पनि फेरि ०६९ मा सिपीबाट जगतबहादुर बोगटी विभाजन भए । उता, ०४७ मा मोहनविक्रम सिंहबाट फेरि बाबुराम भट्टराई अलग भई मसाल गठन गरे । ०४७ मा बाबुरामको विद्रोही मसाल, नेकपा चौम, नेकपा मशाल (मोटो) र रूपलाल समूहको सर्वहारा श्रमिक संगठनबीच एकता भई नेकपा एकता केन्द्रको गठन भएको देखिन्छ । ०५१ मा फेरि एकता केन्द्र र नेकपा मसालबीच विभाजन भई नेकपा माओवादीको गठन भयो । ०५९ मा एकता केन्द्र र नेकपा मसाल (पातलो) बीच एकता भई नेकपा एकताकेन्द्र मसाल गठन भयो । त्यसपछि गोपाल किरातीको किरात वर्कस पार्टी नेकपा माओवादीसँग विलय हुन पुग्यो । ०६० मा नेकपा एकता केन्द्र मसाल विभाजन भई एकता केन्द्र मसाल गठन भयो ।
०६० मा नेकपा माओवादीबाट रवीन्द्र श्रेष्ठ र मणि थापाद्धारा नयाँ नेकपा माओवादी सांस्कृतिक समूह गठन भयो । यस्ता साना ठूला एकता ,गठन पुनर्गठन लगायतका मुद्दा निरन्तर रूपले अगाडि बढ्दै पनि गए । ०६५ मा नेकपा माओवादी र नेकपा एकता केन्द्रबीच एकीकरण भयो । ०६५ मै मात्रृका यादवले नेकपा (माओवादी) पार्टीको गठन गरे । ०६७ मा नेकपा एकीकृतबाट नवराज सुवेदीहरू नेकपा माओवादीमा विलय भए । ०६९ मा नेकपा एकीकृत विभाजन भई मोहन वैद्य किरणले नेकपा–माओवादी वैद्य समूहको गठन गरे । ०७० मा मोहन वैद्यमा पनि विभाजन आयो र त्यो समूहबाट डा. बाबुराम भट्टराईद्वारा नयाँ शक्ति पार्टीको गठन भयो ।
साथसाथै वैद्य समूहबाट विप्लव समूहले पनि अलग कम्युनिस्ट पार्टी गठन गरेको इतिहास छ । ०७३ मा फेरि मणि थापा, वैद्य, मात्रृका यादवसहित १० साना दल माओवादी केन्द्रमा सामेल हुन पुगे । यसरी नेपालको वामपन्थी आन्दोलन कहिले गठन, कहिले विघटन हुँदै आएको इतिहास छ । नेपालको राष्ट्रिय राजनीतिमा आएका हरेक परिवर्तनगामी आन्दोलनमा वामपन्थीहरूको ठूलो योगदान रहेको छ । पहिलो सहिद लखन थापादेखि लिएर जनआन्दोलन ०६२÷०६३ सम्म आइपुग्दा नेपालको कम्युनिस्ट आन्दोलनले समाज परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएको इतिहास साक्षी छ । या त्यो झापा आन्दोलन होस् या नेपाली कम्युनिस्ट आन्दोलनमा जनताको साथ र समर्थनका साथ अघि बढेको जनताको बहुदलीय जनवादी आन्दोलन र अभियान नै किन नहोस् र नेपालमा रक्तक्रान्ति पनि भए ।
नेकपा माओवादीले गरेको १० वर्षे जनयुद्धले त १५ हजार नेपाली जनताको ज्यान गएको छ । नेपाली जनतामा राष्ट्र, राष्ट्रियताको पक्षमा पछिल्लोपटक एमालेले लिएको अडान पनि काफी हुन्छ । नेपाली क्रान्ति उत्सर्गमा पुग्नै आँट्दा देशी विदेशी षड्यन्त्र, पद, प्रतिष्ठा र अभिमानका लागि भन्दै नेपाली कम्युनिस्ट पार्टीहरू एक आपसमा विभाजन भएको देखिन्छन् । दोस्रो महाधिवेशनबाट पार्टीका महासचिवसमेत रहेका केशरजंग रायमाझीले दरबारमा पार्टी पु¥याए पनि त्यसपछिका इतिहासमा बढी क्रान्तिकारी र राष्ट्रवादीको भन्ने दम्भ र खोक्रो प्रतिस्पर्धाकै कारण विदेशीको इसारामा नेपाली कम्युनिस्ट पार्टीहरू विभाजनको संघारमा पुगेका देखिन्छन् ।
०५४ मा एमाले पार्टी र मालेबीचको विवाद पनि राष्ट्रियतासम्बन्धी थियो र महाकाली सन्धिकै कारण पार्टी विभाजन भएको देखिन्छ । नेपाली जनतामा एउटा असल छाप के परेको छ भने कम्युनिस्ट पार्टीहरूले नै क्रान्ति गर्न जानेका हुन्छन् र परिवर्तन पनि यिनै कम्युनिस्टहरूका कारण सम्भव भएको हो भन्ने बुझाइ । तर, यहाँनीर के कुराले आमजनतामा असर पु¥याइरहेको छ भने नेपालमा कम्युनिस्टहरू लामो समय एक ठाउँमा बस्न सक्दैनन् र उनीहरू एकजुट पनि हुन सक्दैनन् भनेर । यही विषयलाई दक्षिणपन्थी र साम्राज्यवादीहरूले विभिन्न अफवाहरू फैलाएर कम्युनिस्ट पार्टीलाई बदनाम गर्ने कार्य गरिरहेका थुप्रै इतिहास छन् । हुन पनि नेपालका केही विदेशी दलालहरूको भाषमा फसेका दलका नेताले विभिन्न स्वार्थमा परेर आफ्नै दलका नेता र नेतृत्वविरुद्ध विषबमन गर्ने लगायतका कार्य नगरिएका पनि होइनन् ।
जसका कारण नेपाली कम्युनिस्ट आन्दोलनमा नराम्रो असर पुगाएको देखिन्छ। अर्कोतर्फ १० वर्षे माआवादी जनयुद्धले पनि नेपाली जनतामा एक प्रकारको वितृष्णा पैदा गरिदिएको छ । खासगरी नेपालमा रहेका दक्षिणपन्थी र आफूलाई प्रजातान्त्रिक पार्टी भन्न रुचाउने नेपाली कांग्रेस, मधेसका नाममा खोलिएका मधेसवादी र राजावादी दलहरू ऐतिहासिक भौतिकवाद र द्वन्द्ववादको अध्ययन गर्न नसक्नु यथार्थवादीहरूको महान् कमजोरी र भुलका रूपमा लिन सकिन्छ । कम्युनिस्ट पार्टीले यसलाई आफ्नो मार्ग निर्देशक सिद्धान्तका रूपमा पनि लिएको हुन्छ । द्वन्द्ववादले विग्रह र विभाजन मात्र नभई यसले उल्टै नयाँ सिर्जना र सोचको विकास गर्छ भन्ने कुरालाई उनीहरूले अध्ययनको विषय बनाउन सकेको पाइँदैन । जसका कारण कम्युनिस्टलाई बुझ्ने तरिका र व्यवहार पनि उत्तिकै पृथक् बन्दै जान पुगेको देखिन्छ ।
नेपाली कम्युनिस्ट आन्दोलनलाई राष्ट्र, राष्ट्रियता र समृद्धिसँगै जोडेर लैजान सक्ने गरी जननेता स्व. मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको अनशरण नगरी नेपाली कम्युनिस्ट आन्दोलन अगाडि जान सक्दैन भन्ने ज्ञान ढिलै भए पनि नेपालका विभिन्न कम्युनिस्ट पार्टीका नेता कार्यकर्तामा परेको छ । आज बहुदलीय जनवादले सबैलाई एकै बाटोबाट अगाडि बढ्न प्रेरित गरिरहेको छ । उग्रवामपन्थी बाटोबाट अगाडि बढेका र सुस्त गतिमा माक्र्सवाद र लेनिनवादी संगठनहरूलाई अब विभाजनबाट नभई एकीकृत र सुदृढ कम्युनिस्ट आन्दोलनले मात्र समाज रूपान्तरण सम्भव छ र वर्गीय एकता आजको आवश्यकता हो भन्ने कुरालाई आत्मसात गरेर अघि बढ्ने अवसर जुटाइदिएको छ ।
प्रतिक्रिया