राणाको राजावाद

surya khadka

मुलुकले १०औँ गणतन्त्र दिवस मनाइरहँदा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्र पुर्नबहालीको एजेन्डा अघि सारेका छन् । स्थानीय तहको तेस्रो चरणको चुनाव सम्पन्न हुन केही दिन मात्रै बाँकी रहँदा अप्रत्याशित रूपमा राजतन्त्रले पनि केही न केही स्थान पाउनुपर्ने उनको धारणा संयोग मात्रै होइन ।

सिधै राजा वा राजसंस्थाको नाम नलिए पनि उनले विराटनगरका पत्रकारहरूसँग परम्परागत संस्थालाई कुनै न कुनै स्थान दिनुपर्छ भन्दै राजसंस्थालाई स्थान दिनुपर्ने माग गरेका हुन् । उनले पृथ्वीनारायण शाहको नामै लिएर देशनिर्माता भएको बताइरहँदा परम्परागत शक्तिको रूपमा अथ्र्याउँदै राजसंस्थाको हैसियत माग गरेका छन् । राणा परम्परावादी पार्टीका अध्यक्ष मात्रै होइनन् १ सय ४ वर्षे राणा शासनका अवशेष पनि हुन् ।

जसरी २ सय ४० वर्षको राजतन्त्रका अवशेष ज्ञानेन्द्र शाह हुन् त्यसरी नै १ सय ४ वर्षको राणा शासनका अवशेष पशुपतिशमशेर हुन् । उनले राणाशासन नै फिर्ता गर्नुपर्छ नभनेर किन राजतन्त्र फिर्ता गर्नुपर्छ भने त ? भन्ने प्रश्न निकै पेचिलो छ । केही हप्ताअघि मात्रै कमल थापा नेतृत्वको राप्रपाबाट अलग भएर आफ्नै नेतृत्वमा राप्रपा प्रजातान्त्रिक दलको पुनर्गठन गरेका राणाले विराटनगरमा गएर आफ्नो नेतृत्वको दल राजसंस्थावादी भएको उद्घोष गरे ।

विराटनगर त्यही सहर हो जहाँबाट कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले देश गणतन्त्रमा जानुअघि नै बेबी किङको माग गरेका थिए । कमल थापा नेतृत्वको राप्रपाले आफूहरू मात्रै राजसंस्थाको मुद्दा बोक्ने असली राजसंस्थावादी भएको दाबी गरिरहेका बेला नवगठित राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले पनि कमल थापाभन्दा अघि बढेर राजसंस्थालाई स्थान र हैसियतकै माग गरेका छन् । यसले एकातिर राणा नेतृत्वको दल पनि राजसंस्थावादी रहेको खुलेको छ भने कमल थापाको हातबाट राजसंस्थाको मुद्दा पनि खोसिएको पुष्टि भएको छ । सिद्धान्ततः अब दुबै राप्रपा राजसंस्थावादी दलका रूपमा देखापरेका छन् । स्मरणीय के छ भने पार्टी एकताको एक महिना नबित्दै गत चैतमा राप्रपाबाट अलग भएका डा.प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपा राष्ट्रवादीले पनि राजसंस्थावादी दलका रूपमा आफूलाई उभ्याउँदै आएको छ ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले संविधानले प्रत्याभूत गरेको धर्मनिरपेक्षताको यसअघिदेखि नै विरोध गर्दै आएका थिए । देशमा हिन्दूराष्ट्र स्थापना हुनुपर्ने आफ्नो पुरानो अडान उनले स्थानीय पत्रकारहरूसँगको भलाकुसारीमा पनि दोहो¥याएका छन् । राप्रपा नेपालसँग गत फागुनमा एकीकरण गर्नु अघिसम्म राणा नेतृत्वकै राप्रपाले गणतन्त्र स्वीकार गरेको थियो भने पनि देश हिन्दूराज्य हुनुपर्ने माग पनि सँगसँगै अघि सार्दै आएको थियो । गत फागुनमा राप्रपा र राप्रपा नेपाल एकीकृत भएपछि भने राप्रपा पनि राजसंस्थावादी दलका रूपमा परिणत भएको थियो । राणाको भनाइ छ, ‘हामी हाम्रो संस्कार, संस्कृति र इतिहासमा गौरब लिने पार्टी हौँ । यो मुलुक बनेको भनेको शाह बंशले एक गरेर हो । त्यसैले हामीले त्यो परम्परागत संस्थालाई पनि केही स्थान दिनुपर्छ भनेर सोच्छौँ ।

मैले भनेँ नि, परम्परागत संस्थाहरूलाई पनि केही स्थान दिनुपर्छ भन्नेसम्म सोच हो । त्योभन्दा बढ्ता पनि होइन, त्योभन्दा कम पनि होइन । सुन्नोस् न, अब परम्परागत सोच बोकेनौँ, इतिहास पनि बोकेनौँ, केही पनि बोकेनौँ भनेपछि त हामी कहाँ जाने ? हामीचाहिँ फुट्ट उफ्रिएका त होइनौँ नि । हामी एउटा सन्दर्भमा उम्रिएको हो । एउटा सन्दर्भमा जन्मिया हौँ । त्यो सन्दर्भ सम्झेर अगाडि जानुपर्छ । मैले तपार्इंलाई के भनेको हो भने हाम्रो विगत छ, हाम्रो संस्कृति छ, हाम्रो परम्परा छ । ती सबैलाई समेटेर हामी अगाडि बढ्नुपर्छ । यो मुलुकमा ८१ प्रतिशत हिन्दू छन् । ९४ प्रतिशत हाम्रो पराम्परागत धार्मिक शक्तिबाट आएका मान्छे छन् । त्यसले स्थान पाउनुपर्छ भन्ने कुरो हो हाम्रो । ठिकै छ, त्यो हामीले के भन्या भने धर्मनिरपेक्ष गर्दाखेरि हामीले पूरा सोचविचार गरेर गर्न नसकेको हो ।’

अध्यक्ष राणाको यो पछिल्लो अभिव्यक्ति उसले स्वीकार गरेको गणतान्त्रिक संविधानको मर्म र भावनासँग मेल खाँदैन । भर्खरै ५० सदस्यीय मौजुदा रहेको शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा ३ मन्त्री र ३ राज्यमन्त्री थपेसँगै ५६ सदस्यीय सरकारमा सत्तारोहण गरेको राणाको दलको सत्ता यात्रा र अध्यक्षको पछिल्लो अभिव्यक्ति पनि परस्पर विरोधी हुन् । गणतन्त्रवादी दलको सत्तागठबन्धनसँगै सत्तामा बसेर राजसंस्थाको हैसियत खोज्ने नैतिक आधार नभए पनि राप्रपा प्रजातान्त्रिकले स्थानीय तहको अन्तिम चरणको र संघीय प्रदेश र संसद्को आगामी मंसिरमा तय भइसकेको चुनावको पूर्वसन्ध्यामा आफू राजसंस्थावादी भएको सन्देश दिएको छ ।

उसले राजसंस्थावादी कित्ताको जनमत आफ्नो पक्षमा पार्न र कमल थापा विरोधी राप्रपाको मत बटुल्न यो अभिव्यक्ति दिएको हुनुपर्छ । किनभने राणा जत्तिका पठित र पाका नेताले संविधानअन्तर्गत नै गणतान्त्रिक सत्तामा हिस्सेदार रहेर यस्ता राजसंस्थावादी माग राख्नु गलत हो भन्ने नबुझेको तथ्य पक्कै होइन ।
अर्कोतर्फ राप्रपा प्रजातान्त्रिकले सरकारमा मन्त्री पठाउँदा समावेशी, समानुपातिक प्रतिनिधित्व नगराएको झोकमा पार्टीभित्रै व्यापक असंतुष्टीहरू बढिरहेका बेला असंतुष्ट सांसद र नेता कार्यकर्ताहरूलाई नयाँ मुद्दामा ध्यान मोड्न पनि रणनीतिक रूपमा अध्यक्ष राणाको यो संविधान विरोधी भनाइ आएको हुनुपर्छ । किनभने कमल थापा पक्षीय राप्रपाबाट राणाको दलमा सामेल अधिकांश सांसद सत्तामा जान नपाएर राणासँग रिसाएर अप्रिय निर्णय गर्ने घुर्की लगाइरहेका छन् ।

अध्यक्ष राणाको पछिल्लो अभिव्यक्तिले सानो झुन्डको रूपमा मात्रै सीमित हुन पुगेको डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी र राणा नेतृत्वको प्रजातान्त्रिक राप्रपाबीच पार्टी एकताको संभावना पनि बढाएको छ । प्रजातान्त्रिक राप्रपाका नेता राजाराम श्रेष्ठ डा.लोहनीसँग पार्टी एकताको संभावना बढेको बताउँछन् । अर्का नेता सुरेश आचार्यले पनि यी २ दलबीच एकताको सम्भावना रहेको बताएका छन् । उता डा.लोहनीको दलका सहअध्यक्ष केशरबहादुर विष्टले अनौपचारिक रूपमा एकता प्रयास जारीरहेको बताएका छन् । सिद्धान्ततः एकै कित्तामा उभिएका कारण पनि यी २ दल मिल्ने संभावना बढेको छ । स्मरणीय के छ भने यी दुबै दल कमल थापा नेतृत्वको राप्रपाबाट चोइटिएर बनेका दल हुन् ।

दुबै दलले हलो चुनाव चिन्हमा दाबी गरेका छन् । संयोगवश निर्वाचन आयोगले पनि दुबै दललाई हलो नै संघीय र संसदीय चुनावका लागि चुनाव चिन्हका रूपमा दिएको छ । अध्यक्ष राणाको यो पछिल्लो अभिव्यक्ति राजसंस्था र हिन्दुत्वको मुद्दा आफ्नो बपौती भएको ठान्ने कमल थापालाई चुनौति हो भने नागारिक हैसियतमा रहेका पूर्वराजा ज्ञानेन्द्रका लागि सकारात्मक ऊर्जा हो । आफ्नो पछिल्लो वक्तव्यमा आफूलाई पद प्रतिष्ठाभन्दा देशभक्ति नै महत्वपूर्ण रहेको जनाएका पूर्वराजा ज्ञानेन्द्रका लागि पशुपतिशमशेर राणा स्तरका नेताले हैसियत मागिदिनु पक्कै पनि उनका लागि ऊर्जा हो ।

राजावादी भनिने र कमल थापा वरपर गोलबन्ध हुन नसक्ने तप्कालाई पशुपति राणा नेतृत्वको दल नयाँ राजनीतिक चौतारी पनि बन्ने संकेत देखिन्छ । देशमा गणतान्त्रिक संविधानको सर्वस्वीकार्यता वृद्धि हुँदै गएको र संविधानले निर्दिष्ट गरेका चुनावी अभ्यासहरू सम्पन्न हुँदै जाँदा संविधान कार्यान्वयन सफल भइरहेको छ । यस परिवशेमा हिन्दूराज्यका पक्षमा बहस जारी रहे पनि राजसंस्थाका पक्षमा बहस कमजोर पर्दै जान थालेको छ । तर, राप्रपाका तिनै वटा खेमा राजसंस्थावादी देखिनु र खासगरी अध्यक्ष राणाको बोली राजसंस्थाको पक्षमा चर्को रूपमा आउनु राजावादीका लागि सुखद् सञ्चार हो । तर, गणतन्त्रवादीहरूका लागि भने यो अर्को झस्का नै हो ।

नवगठित राप्रपा प्रजातान्त्रिक पार्टीका अध्यक्ष राणाले गत बिहीबार बिराटनगरको एक पत्रकार सम्मेलनमा राजसंस्थालाई कुनै न कुनै स्थान दिइनुपर्ने प्रस्ताव गरेर आफ्नो दलको नीतिगत बाटोबारे स्पष्ट गरेका छन् । अध्यक्ष राणाले पछिल्लो अभिव्यक्तिसँगै राजावादी भनिने दलहरू बीचमा मात्रै होइन गणतन्त्रवादी सत्तासहयात्रीहरूसँग पनि नयाँ बहस र तरंग सुरु गरेका छन् ।

प्रतिक्रिया