साकार हुँदै ओलीको बोली

babukaji photo_ copyभरखरै सम्पन्न स्थानीय चुनावमा एमाले पहिलो दल बन्नुमा ओलीको सबल नेतृत्वको विशेष योगदान छ । उनको राष्ट्रवादी अभिव्यक्ति र छविका कारण काँग्रेस, माओवादी, मधेसवादी दल मात्रै नभएर पर्दा पछाडिको खेलाडी भारतसमेत निरीह बन्दै गएको चुनावी नतिजाले प्रष्टयाएको छ । आफूलाई ठूलो पार्टी दाबी गर्दै आएको काँग्रेसको हैसियत स्थानीय चुनावमा सत्ता, शक्ति र सम्पत्तिको चरम दुरुपयोगका साथै माओवादी केन्द्रसँग गठबन्धन गर्दा पनि एमालेलाई उछिन्न नसक्नु शुभ संकेत होइन ।

माओवादी केन्द्रको हैसियत त झन शिला खोज्नुपर्ने गरी खस्किएको चुनावी नतिजाले देखाएको छ । चितवनमा मतपत्र च्यात्ने अराजनीतिक कार्यले रााजनीतिक इतिहासमा कालान्तरसम्म माकेकोछविमा कालो पोत्ने काम गरेको छ । ओलीलाई सरापेर आफ्नो भविष्य खोज्नेहरू दिन प्रति दिन जनमतबाट नांगिदै गएको तथ्यले पुष्टि गर्दै छ । प्रदेश नं. ६ को चुनावलाई आफ्नो पक्षमा पार्न सरकार र मन्त्री स्वयंले नै आचारसंहिता उलंघन गरेको निर्वाचन आयोगले भन्नु कानुनी राज्यको उपहास हो । एमालेले २असोजको चुनावमा कम सीट जिते पनि समग्र देशभरमा पहिलो पार्टी रहने लगभग निश्चित छ ।

यसरी देशी विदेशी शक्ति लागेर, सम्पूर्ण ठूला पार्टीहरू चुनावी गठबन्धन गर्दा पनि एमालेलाई जित्न नसक्नुको प्रमुख कारण तत्कालीन ओली नेतृत्वको सरकारको काम तथा उनले उठाउँदै आएका भविष्यदर्शी योजना लगायतका जनमुखी कार्य नै हो भन्ने कुरामा शंका छैन् । सिमरा अन्तर्राष्ट्रिय विमानस्थल, फास्टट्रयाक लगायतका राष्ट्रिय गौरवका आयोजना आफैँ बनाउने, नाकाबन्दी ताका तेल, ग्यास लगायतको आयातका लागि भारतसँग मात्र निर्भर नपरेर चीनसँग पनि सहकार्यको ढोका खोल्ने जस्ता स्वाभिमानी कार्यले लम्पसारवादलाई निरुत्साहित गर्न पहलको जस ओलीलाई जान्छ ।

ऐतिहासिक संविधान सभाबाट संविधानको घोषणापछिको पहिलो प्रधानमन्त्री हुने अवसर केपी ओलीलाई सहजै प्राप्त भएको थिएन । संविधान जारी हुनुभन्दा अगाडीदेखि नै मधेसी मोर्चाको आन्दोलन तथा विनाशकारी महाभूकम्पले अस्तव्यस्त बनाएको बिसम परिस्थितिमा प्रधानमन्त्री हुनु चुनौती नै थियो । आफ्नो व्यंग्यात्मक तिखो अभिव्यक्तिका कारण बेलाबखत चर्चामा आइरहने ओली प्रधानमन्त्री हुने क्रममा नेपालको राजनीतिमा नयाँ मूल्य र मान्यता स्थापित भएको थियो । किनकी भारतको इच्छा विपरित नेपालमा राजनीतिक निर्णय हुन सक्दैन् अर्थात् प्रधानमन्त्रीको बन्नका लागि त अपरिहार्य नै हुन्छ भन्ने भ्रमलाई उनी प्रधानमन्त्री हँुंदाको प्रक्रिया र पहलले गलत साबित गरिदिएको थियो । संंविधानलाई जलाउने र कार्यान्वयननै हुन नदिने चुनौती दिँदै आएका मधेसी मोर्चा समेतबाट प्रधानमन्त्री पदको चुनावमा आफ्नो विपक्षमा मत हाल्न विबस बनाइएर सांसदहरूलाई नैतिक पाठ सिकाउँदै विजयी हुनु ओलीको अर्को सफलता थियो ।

एक युगमा एकपल्ट संविधान सभाबाट संविधान निर्माण तथा हस्ताक्षर गर्ने दुर्लभ र अनुपम अवसरलाई अरूको लहैलहैमा लागि बाहिष्कार गरेका अभागी सभासदहरू ओलीको भनाईअनुसार नै अघोषितरूपमा नाकाबन्दी खुलेपछि जिल्ल परेका थिए । ओलीको अडान कै कारण अहिले मधेसवादी दलहरू निर्वाचनमा भाग लिन विबस भएको जगजाहेर छ । पूर्वाग्राही भई सतही विश्लेषणको आधारमा ओलीका प्रत्येक काम र कुराको खिल्ली उडाउने मात्र नभै आफ्नो बलबुता र बुद्धिले भ्याएसम्म उछितो काट्ने केही स्वघोषित बुद्धिजिबी र राजनीतिज्ञहरूको लागि पनि अघोषितरूपमा नाकाबन्दी खुल्नुले राम्रै पाठ सिकाएको थियो । उखान टुक्काबाट आफ्ना भनाई सटिक रूपमा राख्न सक्षम ओलीका बाँकी योजना र भविष्यवाणी साकार हुँदै गएका अनेकौँ उदाहरण छन् । उनका उखानटुक्का र योजना आलोचकले भने जस्तो हचुवाका भरमा आएका होइन रहेछन् भन्ने प्रमाण मधेस आन्दोलनका क्रममा भनिएका अभिव्यक्तिले पुष्टि हुन्छन् ।

केही मधेसवादी दलले दाबी गरेको विशाल मानव सांग्लोलाई माँखे सांग्लोको सज्ञा दिँदा तीव्र आलोचना खेप्नुपरेको भए पनि अन्तत चुनावी माँखे सांग्लोमा स्वयं आन्दोलनकारी दल नै परेका छन् । अरूको खुट्टामा उभिएर गरिएको आन्दोलन खाउँ भने दिनभरिको सिकार नखाउँ भने कान्छा बाबुको अनुहार हुँदै गएको छ ।काठमाडौंमा विद्युतीय गाडी चलाउने, एक वर्ष भित्र लोडसेटिङ मुक्त गर्ने, नदीनालाका तुइनलाई विस्तापित गरी झोलुंगे पुल बनाउने, ग्यास सिलिन्डरको विकल्पको रूपमा घरघरमा ग्यासको पाइप फिट गरिदिने आदि कुराहरू प्रधानमन्त्रीको भावि योजनालाई पनि ओलीको हावादारी गफको रूपमा चर्चा गरियो । विश्वका अधिकांश मुलुकमा प्रयोग हुँदै आएको विकासका चरणहरू अब नेपालमा पनि लागू गर्नुपर्छ र त्यसतर्फ लक्षित योजना बनाउँछु भन्दा अनेक आक्षेप लगाउनु पूर्वाग्राही र हास्यस्पद थियो ।

विज्ञान र प्रविधिको तीव्र गतिमा विकास र विस्तार भइराखेको आजको २१औँ शताब्दीमा स्वभाविक रूपमा अंगिकार गरिने विषयमा समेत आलोचना र नकारात्मक टिप्पणी गरिने मानसिकतालाई के भन्ने ? दाउरा, टुकी बाल्ने, टांगा रिक्सा नै चलाउने आदिको विकास गर्ने योजनाको पो प्रशंसा हुन्थ्यो कि ? कुनै बेला ओलीले भनेको गोरु गाढा चढेर अमेरिका पुग्न सकिन्न भन्ने भनाई यस्ता परम्परागत पूवाग्राही आलोचक प्रति लक्षित थियो भन्ने पुष्टि भएको छ । ओली नेतृत्वको ९ महिने शासनकालमा गरिएका जनमुखी र राष्ट्रहितका कार्यहरू पछिल्ला सरकारले बाध्य भएर अवलम्बन गर्नुपर्ने अवस्था आएको छ । पछिल्लो उदाहरणको रूपमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा चीनबाट रेल ल्याउने सम्झौताको पहल गर्न बेइजिङ पुगे भने अलि अगाडि विमलेन्द्र निधी लगायतले भारतलाई दिन तयार भएको फास्टट्रयाक ओली सरकारका पालामा आफैँ बनाउने निर्णयअनुसार नेपाली सेनाले कार्य प्रारम्भ गरिसकेको छ ।

हुन त विगत वर्षहरूका सरकारले अनेक योजना, कार्यक्रम तथा प्रतिबद्धता ल्याउने तर बीचैमा बिर्सने रोग नौलो होइन । अहिले पनि अधिकांश मन्त्रीहरूबाट स्वेत पत्र, प्रतिबद्धता पत्र जारी गर्ने होड नै चलेको छ । यस्ता प्रतिबद्धता पत्र कार्यान्वयनको कसीमा कतिको खरो उत्रिन सक्छन् भन्ने कुराको अध्ययन अनुसन्धान नगरिकन हचुवाका भरमा दिइएका आश्वासन गफ मात्रै साबित भएका थिए । विगतका सरकारका कार्यकालमा । छिटोछिटो सरकारको परिवर्तन हुने तर लामो समयका लागि योजना बनाउने अनि अघिल्लो सरकारका योजनाहरू नयाँ सरकारले स्वामित्व नलिने प्रवृतिले ओली सरकारले ल्याएका लामो अवधिमा मात्र सम्पन्न हुने योजना तथा कार्यक्रम कार्यन्वयनमा शंका गर्नु अनौठो थिएन ।

प्रधानमन्त्रीले बोले अनुसारका नयाँ योजनाका के, किन, कसरी, कहिले, कहाँ, र कसले गर्ने भन्ने मार्ग चित्रसहितको स्पष्ट र भरपर्दो कार्यक्रम सार्वजनिक नहुँदा शंकाको सुविधा प्रदान गरेको हुन्छ नै । लामो अवधिका तुलनामा जनताले छोटो अवधिमा प्रत्यक्ष अनुभूति गर्ने खालका आफ्नो सरकारको कार्यकालमै सम्पन्न गर्ने जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमबाट मात्र जनविश्वास आर्जन गर्न सकिने वास्तविकता ओली सरकारले बुझेर कार्यान्वयन ल्याएको थियो ।ओली सरकारका पालाका राम्रा र लोककल्याणकारी कामलाई ओझेलमा पार्ने गरी एकोहोरो धारे हात लागाउँदै केही दल र नेताहरू हात धोएर लागे पनि जनताले नपत्याउने रहेछन् भन्ने कुराको प्रमाण विगतमा सम्पन्न स्थानीय चुनाव नतिजाले पुष्टि गरिसकेको छ ।

झिंगाले सरापेर डिंगा मर्दैन भनाइलाई आत्मसाथ गर्र्दै, फोहर मात्रै देख्ने र बसेर दुर्गन्ध र रोग फैलाउने झिंगे प्रवृतिभन्दा पनि फूलमा बसेर मह बनाउने मौरीको सहकार्य संस्कार सबै दलमा भएमा मात्र देश समृद्धि तर्फ लम्किने वास्ताविकतालाई आत्मसात गर्न तम्सिनु आजको आवश्यकता हो ।

प्रतिक्रिया