यस्तो पनि हुँदो रहेछ प्रयोग गर्ने तरिका

Dr. Rajkumar Pokhrel copyयो लेख आज कताबाट थालौं म आफैं अलमल्लमा छु । तथापि, एउटा त लेख्नै प¥यो भनेर लेख्न बसेको छु । माअ‍ोवादी विद्रोहको थालनी हुँदा ०५२ मा म झापामा थिएँ । माओवादी कार्यकर्ता चतुरमान सिंह राजवंशी यो लोकमा आज छैनन् होला उनी त्यसवेला हाम्रा विद्यार्थी थिए । उनी माओवादीका चल्तापुर्जा कार्यकर्ता । कहिले कहीँ हामीसँग विवाद हुन्थ्यो जब संगठन निर्माण, संस्कृति र कार्यकर्ताको आचरणको विषयमा कुरा चल्दथ्यो उनी पछि हट्दथे । माओवादी विद्रोहको सन्दर्भमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संकटकाल लागू गर्नुभन्दा पहिले उनीसँगको एकदुई भेटमा राजनीतिक कुराकानी भएको थियो । उनले त्यसवेलाका थुप्रै माले कार्यकर्तालाई प्रयोग गर्नेे माओवादी रणनीतिअन्तर्गत झापामा सांगठानिक जीवन सुरु गरेका थिए ।

एकपटक झापाको दुर्गापुरमा भएको उनको ‘प्रयोग’को योजना भत्किएपछि दोस्रोे सुरुंगाको भेलामा प्रयास गरे । तर, त्यो पनि असफल भएपछि पहिलो र दोस्रो प्रयासमा प्रतिवाद गर्ने हामी केहीको अनुपस्थितिमा दमकमा तेस्रो भेला गरी उनले प्रयोगको थालनी गरे । तर, आज त्यो प्रयासमा न आज उनी जीवित होलान् नत उनले प्रयोग गरेर बनाइएका मानिसहरू उनको संगठनमा क्रियाशील छन् । सायद बुझेपछि मानिसको बाटो तय हुन्छ । मलाई लाग्छ कुनै समय प्रणव मुखर्जीको प्रंशसा गर्ने एमाले अध्यक्ष केपी ओलीले पनि आजको राजनीतिमा ‘प्रयोग’को अर्थ बुझेको हुनु पर्दछ ।

यो लेख तयार पारिरहँदा रेकर्ड नहेरी ठ्याक्कै त मिति बिर्सिएको हुन सक्छ तर, ०५५ तिरको भाद्र महिना होला । म आफू विद्यावारिधिको शोधार्थी थिएँ । बागबजारस्थित होटल त्रिबोली (त्यसवेलाको नाम)मा डेड घन्टा जत्ति त्यसवेला भारतीय कूटनीतिक क्षेत्रमा काम गर्ने त्रिपाठी थरका व्यक्तिसँग मेरो कुराकानी भएको थियो । उनले भनेको कुरा आज पनि मलाई याद भइरहेको छ । दासढुंगा दुर्घटना थिएन भारतीयहरूले गरेको हत्या हो भनेर मैले भन्दा उनले मलाई सम्झाउँदै भनेका थिए, ‘भारतीयहरू हत्या गर्दैनन्, हत्या त सिआइएले चैं गर्दछ । भारतीयहरू त कुनै नै कुनै उपायबाट आफ्नो पक्षमा पारेर उसको राजनीतिक जीवन समाप्त पारिदिन्छ । नेपालमा ठूलाठूला राष्ट्रवादीहरू भारतीय प्रयोगमा आए र सकिएका पनि छन्।’ उनले यत्ति भनिरहँदा उदाहरण चैं दिन नचाहेकोले उदाहरण आफैंले खोज्न मलाई बाध्य बनाएको थियो । यस्तै कुरा ०६५ को साउन २८ गते शनिबार अर्का भारतीय कूटनतिज्ञ रञ्जन रायसँगको कुराकानीमा पनि पाइयो । यसको अर्थ नेपालका थुप्रै नेता भारतले खेलाउँछ र उठ्नै नसक्ने गरी फसाउँछ र फ्याँकिदिन्छ, यही रहेछ प्रयोगको राजनीति ।

मदन भण्डारीलाई प्रयोग गर्न कहिले व्यापारी त कहिले कूटनीतिज्ञको रूपमा कानादेखि लिएर लंगडासम्म देखिने भारतीयहरू अघि सरे । तर, प्रयोगमा नआएपछि उनी मारिए । मलाई आज यो लेखिरहँदा ०५४ सालको तत्कालीन एमालेको याद आएको छ । एमाले राष्ट्रवाद र राष्ट्रघातको चेपुवामा परेर विभाजित भयो । त्यसवेला एमालेको नेतृत्वभित्र पनि हरकिसन सिंह सुरजित, सीताराम यचुरी वा प्रणव मुखर्जी देखिने पात्रहरू थिए र नदेखिने त अरु कोही थिए । त्यसैले एमाले पार्टी फुट्यो । राष्ट्रवादी नेता मानिएका बामदेव गौतमको पनि योगी ब्रह्मानन्द उदासीनसँगको सम्पर्कबारे त्यसवेला कसैलाई थाह थिएन । आम निर्वाचनमा बामदेव शून्य सिटमा रूपान्तरित भएपछि बामदेवको प्रयोजन सकियो र बामदेवको राष्ट्रवादी पार्टी अलपत्र प¥यो ।

राजा वीरेन्द्रको हत्या पछि राजा भएका ज्ञानेन्द्र शाह पनि सुरुका दिनमा भारतीय प्रभावमा सायद नपरेका होइनन् । सायद उनी त्यसवेलाको भारतमा सत्तारूढ भारतीय जनता पार्टीले आफ्नो गद्दी सुरक्षित राखिदिने कुरामा विश्वस्त थिए । विभिन्न भारतीय सूत्र र स्रोतहरू उनको सम्पर्कमा थिए । दरवार हत्याकाण्डमा भारतीय योजनाको उनले कतै मुख खोलेनन् र आजसम्म पनि खोल्न सकेका छैनन् । रञ्जन रायको भनाईलाई आधार मान्ने हो भने त उनलाई गद्दी च्युत गराउन यस्तै सूत्रको प्रयोग गरी चिनियाँ कार्ड खेल्न लगाइयो र फ्याँकियो । भनिन्छ, यसका लागि टी. हर्निसले निकै ठूलो मिहिनेत गरेका थिए ।

रञ्जन राय भन्दथे, ‘यदि भारतले सिपी गजुरेल र मोहन वैद्यलाई भारतमा नथुनिदिएको भए न नेपालमा गणतन्त्र आउने थियो न संविधानसभाको निर्वाचन नै । प्रचण्डको अस्थिर र महत्त्वाकांक्षी योजनामा नेपालको दरबारसँग सम्झौता हुने लक्षण देखिएको थियो । तर, उनी आफ्नो युद्ध बिसाउने योजनामा आतुर भएको थाह भएपछि त्यसको अनुकूलता भारतले मिलायो । माओवादीभित्रको सहजताका लागि बाटाको अवरोधहरू पन्छिए र भारतीय योजनामा नेपालमा माओवादी राजनीतिलाई बिसर्जन गराउने मौका पाइयो । नत्र प्रचण्डले त झण्डै दरबारसँग हातेमालो गर्न खोजेको ।’ यसको सत्यता के कति छ भन्ने कुरा ०५७ को जेठ महिनादेखि फागुन महिनासम्मको जनादेश नामको पत्रिकामा प्रचण्डका जे जति लेख प्रकाशित भएका छन् तिनलाई हेर्दा पनि अनुमान गर्न सकिन्छ । तत्कालीन एमाले नेता तथा लेखक नारायण ढकालले कान्तिपुर दैनिकको मंसिर महिनाको एक अंकमा माओवादी गन्तव्यका विषमा आशंका गरेर एउटा अंकमा लेख नै लेखेका छन् । यदि यो सत्य हो भने माओवादीभत्रैबाट सिपी गजुरेल र मोहन वैद्यलाई फसाइयो । माओवादीको रुट परिवर्तन भयो र १२ बुँदे सहमतिमा पदार्पण भयो । सुनिन्छ, त्यसको बार्गेनिङ पछिल्ला दिनमा ओली सरकार ढाल्नमा प्रयोगसमेत भयो । यसको सत्यता मापन गर्न जरुरी छ ।

पहिलो संविधानसभा निर्वाचनपछि सरकार गठनमा ढिलाइ गर्दा भारतीय दबाब खेप्नुपरेको भनेर बालुवाटारभित्र बरबराउने गिरिजाप्रसाद कोइराला र उनको आवाजका साक्षी बासु कोइराला आज यो धरतीमा छैनन् । गिरिजालाई भेट्न कुरेर पर्खिरहेको यो बबुरो यहाँ कलम चलाउँदै छ । किन त्यसवेला हतारो परेको थियो भारतलाई सरकार परिवर्तन गर्न वा के गिरिजा त्यसै बरबराइरहेका हुन त ? यो प्रश्नको जवाफ आजसम्म खोज्न सकिएको छैन । माओवादीले देखाएको राष्ट्रपतिको ललिपप नपाएकोले गिरिजा झोकिएका हुन् कि भनेर सोच्ने वातावरण बालुवाटारभित्र उनी जंगिएको वेला थिएन । फेरि अचम्मको कुरा के छ भने गिरिजापछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल त्यसवेला प्रखर नेपाली राष्ट्रवादी नेता देखिए । रामराजा प्रसाद सिंहलाई खेलाएर, माधव नेपाललाई राष्ट्रपतिको आश्वासन दिएर देखिनेमा अशोक मेहता, एस डी मुनी र नदेखिनेमा स्वदेशी तथा नेपाली विभिन्न पात्रको प्रभावले माधव नेपाललाई राष्ट्रपतिको कुर्सीमा आउन दिइएन ।

दाहालले प्रधानमन्त्री भएदेखिनै राष्ट्रवादी धारलाई अघि सारे ।प्रधानमन्त्रीबाट राजीनामा दिँदा विदेशी प्रभुसामु नझुक्ने वाचा गरे । बानेश्वरको आमसभालाई सम्बोधन गर्दै नेपाली शासकहरू भारतको नोकर भएको र आफू अब सिधै भारतसँगै वार्ता गर्ने उद्घोषसमेत गरे । ०६६ पुस २५ गते राजधानीको राष्ट्रिय सभागृहमा भारतीय विद्वान नायकसँग एउटै सभामा बोल्दै राजा वीरेन्द्रसँग आफ्नो सम्झौता र समझदारी स्थापित हुन लागेको अवस्थामा राजा वीरेन्द्रको हत्या भएको र त्यसमा भारतको हात रहेको भनेर भन्न पनि पछि परेनन् । पहिलो संविधान सभामा उनको दल सबैभन्दा ठूलो थियो तर त्यो नकाम भयो । संविधानसभाको अर्को निर्वाचन भयो । अर्को निर्वाचन हुँदा उनको अविगत बामदेवको जस्तो चैं भएन, समानुपातिक समेत धेरै सिटसंख्या भएका कारण । बहुमतीय निर्वाचनभित्र त पहिलेको भन्दा झण्डै सय सिट नै गुमाउन पुगेका थिए भने उनी आफैं पनि माधव नेपालले आफू हारेको वेलामा सदनमा ल्याइदिएर प्रधानमन्त्री हुने गुन लगाइदिएको बदला नतिरेको भए संसदमा प्रतिनिधित्व गर्ने र दोस्रोपटक प्रधानमन्त्री हुने अवसर पाउने थिएनन । सायद यी सवै प्रयोगका राजनीति हुन सक्छन् । आजसम्म राष्ट्रवादको पथमा अविचलित सिपी मैनाली र उनको पार्टी संविधान संशोधनको सवालमा कतै लोभले “प्रयोग”को राजनीतिमा परेको र भोलि प्रचण्डलाई जस्तै बार्गेनिङ गर्ने र गराउने स्थानको निर्माण गरिएको भन्ने चर्चाले अहिले स्थान लिएको पनि सुन्नमा आएको छ । सत्यता पछि देखिएला ।

प्रयोगको औजारमा रमाउने हो भने तेस्रो चरणको स्थानीय निर्वाचनमा सिमाना र संस्कृतिका आकारले आफ्नो बुत्ता नपुग्दा माओवादीलाई अहिलेको सरकारी गठबन्धन सही नै होला । त्यो कुरा चितवनको निर्वाचनले पनि सावित गरेको छ । अरूलाई ‘प्रयोग’ गर्ने र आफू ‘प्रयोग’ हुने राजनीतिको खेलमा लागेको माओवादीले वर्तमानमा सामान्य केही र क्षणिक लाभ हासिल गरको पनि छ । तर, यही बाटोबाट अघि जाने हो भने माओवादी पाठशालामा हुर्किएका कार्यकर्ता र उनीहरूको मनोभावनाको विश्लेषणको आधारमा कालान्तरमा माओवादी भनिनेहरू या कांग्रेसमा विलय हुनुपर्ने या गुरु मोहन विक्रमको बाटोमा संगठनलाई पु¥याउनुपर्र्ने दिन पनि नआउला भन्न सकिँदैन । यदि यस्तो भयो भने माओवादी विद्रोह नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा खलपात्र मानिनेछ र त्यसबेला पुष्पकमल दाहालले के पगरी पाउने हुन् इतिहासमा त्यो शब्दको चयन त्यसैबेलाका इतिहासका लेखकहरूले खोज्लान् ।

प्रतिक्रिया