लिटिल एन्जल्स आठौँपटक टिम च्याम्पियन

la championकाठमाडौं १४ भदौ । आयोजक लिटिल एन्जल्स स्कुल (एलए) ले १०औँ एलए÷जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । सर्वाधिक ४८ अंकसहित एलए समग्रमा टिम च्याम्पियन बन्न सफल भयो । एलएले आठौँपटक टिम च्याम्पियनको उपाधि उचाल्यो । आठौँ संस्करणमा भने एलए र सेन्ट जेभियर्स संयुक्त विजेता बनेका थिए । डिफेन्डिङ च्याम्पियन सेन्ट जेभियर्सले ३६ अंक जोड्दै दोस्रो स्थानमा चित्त बुझायो । २४ अंकसाथ प्रिमियर इन्टरनेसनल स्कुल तेस्रो भयो ।

प्रिमियरलाई तेस्रो बनाउन प्रशंसा मोक्तान एक्लैको भूमिका रह्यो । प्रशंसाले एकल स्पर्धामा दोहोरो स्वर्ण जितिन् ।  प्रतियोगितामा एकल स्पर्धामा दोहोरो स्वर्ण जित्ने प्रशंसा एक्ली खेलाडी हुन् । प्रशंसाले यू–९ र यू–१० गल्र्स सिंगल्समा स्वर्ण चुमिन् । प्रिमियरबाट जम्मा २ खेलाडीले सहभागिता जनाएका थिए । अर्का खेलाडीमा प्रशंसाकै दाइ प्रसिद्ध हुन् । प्रसिद्ध पदकविहीन बने । प्रतियोगिताको अन्तिम दिन ३ सिंगल्स स्पर्धाका फाइनल खेल भएका थिए । यू–१४ ब्वाइज सिंगल्समा सेन्ट जेभियर्सका आदित सुवेदीले स्वर्ण जिते । उनले फाइनलमा शुभताराका सम्यकभूषण बज्राचार्यलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरे ।

सोही स्पर्धाको गल्र्समा एलएकी सलोनी तामाङ च्याम्पियन बनिन् । हात्तीवनस्थित घरेलु कोर्टमा भएको फाइनलमा सलोनीले एस स्कुलकी रायना शाहलाई ७–६ र ६–० को सीधा सेटमा हराइन् । सलोनीले सिकुम सुब्बासँग मिलेर यू–१४ गल्र्स डबल्समा पनि स्वर्ण जितिन् । काष्ठमण्डप विद्यालयका प्रणव मानन्धर यू–१० ब्वाइज सिंगल्समा पहिलो भए । फाइनलमा प्रणवले नेपाल पुलिस स्कुलका प्रसिद्ध बस्नेतलाई ६–० र ६–२ को सोझो सेटमा पाखा लगाए ।

 यसअघि सिंगल्सको यू–८ ब्वाइजमा सेन्ट जेभियर्सका निसाद जोशी र गल्र्समा सरस्वती बोर्डिङ स्कुलकी सुप्रिया तामाङ, यू–९ को ब्वाइजमा जोन डेबीका आयुशमान हजुर घले तथा यू–१२ ब्वाइजमा अक्षरा स्कुलका आदित्य सुवेदी र गल्र्समा एसकी रायना शाहले स्वर्ण जितेका थिए ।विजेतालाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, एलएका अध्यक्ष पिबी लिम्बू, एलएका प्रिन्सिपल मुकुन्दराज शर्मालगायतले पुरस्कार वितरण गरे ।

प्रतिक्रिया