चौतारीको पराजय र नैतिक जिम्मेवारी

Kamal Neupane copy

नेपाल पत्रकार महासंघ नेपाली पत्रकारहरूको पेसागत संगठन हो । यो संगठनको भर्खरै मात्र २५आैं महाधिवेशन धुमधामका साथ सम्पन्न भएको छ । देशभरका पत्रकारहरू केहीदिन चुनावी अभियानमा होमिए । महाधिवेशनबाट उनीहरूले नयाँ नेतृत्व पनि चयन गरिसकेका छन् । नवनिर्वाचित नेतृत्वले शपथ खाई आफ्नाे कार्यभार पनि सम्हालिसकेको अवस्था छ । यतिबेला निर्वाचनमा विजयी र पराजित संगठनहरूबीच निर्वाचनका बारेमा चर्चा र समीक्षा चलिरहेको छ । कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टर लगायतका संगठनहरू विजयी सभा मनाउँदै विभिन्न संघसंस्था र राजनीतिक दलबाट बधाई थाप्नमा व्यस्त देखिन्छ । तर, २ कार्यकाल आफैँले कब्जामा लिएको एमाले निकट प्रेस चौतारीमा भने अहिले भाँडभैलो मच्चिन थालेको छ ।

आपसी विवाद टिकट वितरणमा मनपरी, र अन्तर्घातका कारण चौतारीले निर्वाचनमा लज्जास्पद हार बेहोर्नुपरेको एकतर्फीको बुझाइ छ । अर्कोतर्फ प्रेस चौतारीको वर्तमान कार्य समिति र एमालेको प्रचार विभागको लापरवाहीका कारण पनि चुनामा पराजित हुनुपरेको आरोप आइरहेको छ । महासंघका निवर्तमान अध्यक्ष महेन्द्र विष्ट मौन देखिन्छन् । अहिलेका चौतारीका अध्यक्षलगायत केही माथिल्लो तहका नेता पत्रकारहरूको दिमाग चड्किएको छ । नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशन क्रमभंगता तोड्दै भयो । महाधिवेशनबाट विजयी नेता पत्रकारहरू माला थाप्न नेताको घरदैलोमा व्यस्त छन् । पराजित हुने अन्तरघातको आरोप प्रत्यारोपमा छन् । गणितीय हिसाबले तेस्रो माओवादी केन्द्र निकट प्रेस सेन्टर विजयी भएको छ भने वैशाखी बनेको कांग्रेस निकट प्रेस युनियनका ओठ रसिला भएका छन् ।

तर, प्यास मेटाउन नपाएको छटपटी त्यहाँभित्र पनि दमरहित भएर बसेको छ । सबैभन्दा पराजित क्रोध र छटपट एमाले निकट प्रेस चौचारी नेपालमा देखिएको छ । पत्रकार महासंघको इतिहासमा सबैभन्दा लज्जास्पद पराजय चौतारीले पहिलोपटक भोगेको एमाले वृत्तमा चर्चा छ । २ कार्यकाल लगातार नेतृत्व गरेको चौतारी महासंघमा सबैभन्दा सानो सावित भएको छ । यसको दोषी को ? निर्वतमान महासंघका अध्यक्ष महेन्द्र विष्ट कि चौतारीका अध्यक्ष गणेश बस्नेत यहाँनिर प्रश्न खडा भएको छ । विष्टले आपूmपछिको जिम्मेवारी चौतारीलाई नै सुम्पिन नसक्नु र बस्नेतले २५औँ महाधिवेशनमा गतिलो भूमिका निर्वाह गर्न नसक्नु नै चौतारीको हार हुनसक्ने आँकलन पनि गरिएको छ । चौतारी किन पराजित भयो ?

यसको समीक्षा गर्ने जिम्मा चौतारीको नेतृत्वलाई छ । तर, चौतारी गणितीयरूपमा मात्र होइन, रणनीतिक कौशलबाट पनि पराजित भएको हो भन्दा कुनै अप्ठ्यारो नहोला । जिल्ला तहमा संगठन मजबुद बनाउन नसक्नु महासंघको जिल्ला तहमा संगठन फितलो र खुरापातीको संख्या धेरै भएकै कारण पार्षद संख्या घट्नु लगायतका कारण पनि चौतारी पराजयका उदाहरण मान्न सकिन्छ । एमाले निकट पत्रकारहरूलाई संगठित गर्ने ४ तह छन् । पहिलो पार्टी प्रचार विभाग, दोस्रो प्रेस चौतारीको केन्द्रीय समिति, तेस्रो सल्लाहकार र चौथो चौतारीका सबै सदस्य । पत्रकार महासंघका अघिल्ला निर्वाचनमा सबैभन्दा सक्रिय भूमिका प्रेस चौतारीको हुने गरेको पक्कै हो । तर, यसपटक चौतारी सेरोमोनियल भूमिकामा रहेको देखियो ।

यो कमजोरी प्रेस चोतारी केन्द्रीय समिति र नितान्त अध्यक्ष बस्नेतकै हो भन्दा त्रसिनुपर्ने र आक्रोशित हुनुपर्ने ठाउँ छैन । पदमा बसेर मात्र नेता र भइँदैन भन्ने कुरा अध्यक्षले भुलेजस्तो छ संगठनलाई कसरी चुस्त बनाउने र निवार्चनमा जितको तक्मा आफनो हातमा पार्ने भन्ने रणनीति बनाउनु र साथीभाइसँग भाइचाराको व्यवहार गरी अघि बढ्नु प्रमुख कुरा हुन्छ जस्तो लाग्छ । यो अहिलेका अध्यक्ष लगायतका चौतारीका महामहिम नेताजीहरूले गर्न नसकेको देखियो । चुनाव जित्न अर्काको मन जित्नुपर्छ भन्ने कुराको सिकाइ र बुझाइ चौतारीका महामहिम नेताजीहरूमा कमी देखियो ।  चौतारीभित्र महासंघको अधिकार लिएको प्रचार विभाग सफल हुन नसकेको यथार्थ हो । सफल हुन नसक्नुको कारण खुल्दै जालान् अहिले नै व्यक्तिगतरूपमा यो र त्यो भनि भनिनहालौँ ।

तर, यसको पूर्णरूपमा जिम्मेवारी चौतारीको नेतृत्वपंक्तिले लिनैपर्छ । निर्वाचनमा कुठाराघात गरेको भन्ने यदि चौतारीको नेतृत्वलाई लाग्छ भने सबैभन्दा पहिला चौतारीको नेतृत्व नै दोषी ठहरिन्छ र पार्टीले चौतारीको नेतृत्वपंक्तिलाई कारवाही गर्नुपर्छ । किनकी, चौतारीकै सदस्यबीच देखिएको मनमुटाव र उनीहरूबीचको असमानताको खाडल पुर्ने काममा चौतारीले किन महाधिवेशन पहिला सोचेन ? यसको जवाफ चौतारीको नेतृत्वले दिनैपर्छ । यसअघिका निर्वाचनमा पनि यस्ता अन्तर्घातीलाई कारवाही गरिएकै हो तर कारवाहीमा परेकाहरू नै चौतारीमा एकछत्र देखिएका छन् । यो कस्तो कारवाही ?  चौतारीका २ सल्लाहकारका कारण पार्टी प्रचार विभाग र चौतारी नीरह भयो भन्ने चर्चा अहिले बजारमा चलिरहेको छ ।

यदि यसो हो भने को हुन् ती २ सल्लाहकार नाम किटानीसहित सार्वजनिक गर्न चौतारी अग्रसर हुनुपर्छ र उनीहरूमाथि कारवाही सार्वजनिक रूपमै गर्न सक्नुपर्छ । होइन भने व्यक्तिगत रूपमा शंकाको भरमा आरोपप्रत्यारोप लगाउँदै सडकका चोक र गल्ली कुर्लिंदैमा चौतारीमा सुधार आउने अवस्था देखिँदैन । यसैले महामहिम अध्यक्षजीले यस बारेमा गहन अनुसन्धान गरी दोषी पत्ता लगाएर नीति नियम संगत दोषीमाथि कारवाही गर्न आँट गर्नुपर्छ यसो गर्न सकिँदैन भने कृपया तपार्इंहरूका थोत्रा गाला नबजाउनु नै उपयुक्त होला । आगामी दिनमा चौतारीको शाख जोगाउने हो र महासंघमा आफ्नाे हालीमुहाली जमाउने हो भने आजैबाट संगठनको सुधारमा लाग्न जरुरी छ । नत्र चुनावको एक महिनाअघि तानामाना बुन्दैमा फेरी पनि चौतारीले यस्तै नियति भोग्नुपर्नेमा दुई मत छैन ।

लामो समयदेखि चौतारी र हालको प्रेस सेन्टरसँग महासंघमा चुनावी तालमेल हुने गरेकोमा अहिले कसरी सेन्टर र युनियनबीच तालमेल हुन गयो यसको कारण के चौतारी खोज्न जरुरी देखिन्छ । अहिलेको महाधिवेशनको नतिजालाई हेर्दा चौतारीका अध्यक्ष गणेश बस्नेत मात्र नभई सिंगो पार्टी पंक्ति र पार्टी प्रचार विभागसमेत असफल भएको छ । यो एमाले र चौतारीले स्वीकार्नै पर्छ ।  अध्यक्ष गणेश बस्नेतलाई पूर्णतया असफल पार्न एक पूर्व सल्लाहाकार अनामनगर अड्डा नै जमाएर बसे र कहिले युनियन, कहिले प्रेस सेन्टरसँग गोप्य बैठक गरेर चौतारी हराउने मुख्य भूमिका खेलेको तथ्य लुकेको कुरा सार्वजनिक भएको छ । यस्तो अवस्थामा चौतारीका ती खुरापाती सल्लाहकारको नाम किटानी गर्दै उनीमाथि कारवाही गर्न चौतारीलाई महाभारत किन ?

अध्यक्ष बस्नेतलाई यति गर्ने आँट राख्दैनन् र चौतारीको शाख गुमाउने माथि एक्सन लिँदैनन् भने आफूले अध्यक्ष पद छोडेकैमा बेस होला । किनकि, यो हारमा उनी प्रत्यक्ष जोडिएका छन् र यसको जिम्मेवार पनि उनी नै हुन्भन्दा फरक नपर्ला ।  महाधिवेशनअघि प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार संघ, मिडिया नेपाल लगायत ५ संगठन चौतारीसँग मिल्न तयार भएको कुरा सुनिएको हो यो पछि किन र कसको कारणले हुन सकेन चौतारीले यसको पनि खोजी गर्न आवश्यक देखिएको छ । सल्लाहकारको भूमिकाले चौतारीभित्रका अन्य उम्मेद्वारहरूले जित्न सक्ने अवस्था हुँदाहुँदै पनि पराजित भए भन्ने यतिबेला उपत्यकामा चर्चा छ बास्तविकता के हो चौतारीले यस विषयमा तत्काल छानबिन गर्नुपर्छ । र, यथार्थ बाहिर ल्याउन सक्नुपर्छ ।

उपाध्यक्षका उम्मेदवार मात्रिका पौडेल र महासचिव पदका उम्मेदवार बालकृष्ण बस्नेतलाई हराउन सल्लाहकार नै खुलेयाम मैदानमा आए भन्ने कुरामा कतिको सत्यता छ यो पनि खोजौँ र यसो हुनुको कारण के हो ? ती सल्लाहकार र यी २ उम्मेदवारबीचको आपसी लफडा या संगठनभित्रै कुनै लडाइँ खास मियो पत्ता लगाएर अघि बढ्न जरुरी देखिन्छ । यसमा चौतारीको वर्तमान नेतृत्वको ध्यान जानुपर्छ ।  महासंघको महाधिवेशनमा राजनीतिक चरित्र बोकेको शुद्ध संस्थामा बद्नामको दाग लागेको छ । यो दाम मेटाउन अब अध्यक्ष बस्नेतले जे जस्तो चुनौती पनि सामाना गर्न सक्नुपर्छ । यसका चौतारीको नेतृत्व कति गम्भीर बन्छ । यो चासोको विषय पक्कै आमपत्रकारमाझ बनेको छ ।  यतिबेला चौतारी आत्मगत कमजोर भएको छ ।

पराजय र अन्तर्घाती खोज्ने र कारवाही गर्ने हिक्मत चौतारी नेतृत्वसँग छ ? दोषीलाई कारवाही गर्ने ताकत अध्यक्ष गणेश बस्नेतलगायतका महामहिम नेताजीहरूले राख्छन् कि राख्दैनन् चौतारी निकट आमपत्रकारहरूको अहिले चासोको विषय बनेको छ ।  चौतारीले संगठित रूप अपनाएर अन्तर्घात गर्नेलाई कारवाही गरेन भने यो संस्कारका रूपमा विकास हुने निश्चित छ ।  अन्तर्घाती कारवाही परेनन् भने संगठन समाप्त पारेको आरोप चौतारीको इतिहासमा गणेश बस्नेतलाई लागि रहनेछ । यस विषयमा अध्यक्ष बस्नेत लगायतको टिम गम्भीर भएर समस्याको समाधान र चौतारीभित्रको गुटउपगुट तथा खुरापात र अन्तर्घातलाई निमिट्यान्न पार्न आवश्यक देखिन्छ ।

अपेक्षा र आशा गरौँ यसपटकको निर्वाचनमा चौतारीको लज्जास्पद पराजय किन ? कसरी ? र कसले ? केही समयमै बाहिरिनेछ । र, दोषीमाथि कारवाही हुनेछ । चौतारीको शाख र महिमा तथा गरिमा जोगाउन अध्यक्ष बस्नेत लागि पर्ने छन् । किनकि, यो उनको नैतिक जिम्मेवारी पनि हो ।

प्रतिक्रिया