लमजुङलाई अलैंची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव

बेँसीसहर १३ भदौ । स्थानीय कृषकले लमजुङ जिल्लालाई अलैँची जोन कार्यक्षेत्र बनाउन प्रस्ताव गरेका छन् । आइतबार भएको अलैँची कृषकको भेलाले अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन क्षेत्रको प्रस्ताव गरेका हुन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनका लागि अलैँची जोन कार्यक्षेत्र प्रस्ताव गरिएको अलैँची व्यवसायी महासंघका जिल्ला अध्यक्ष अजय तामाङले बताए । उनका अनुसार प्रस्तावित कार्यक्षेत्रमा दूधपोखरी, दोर्दी, मस्र्याङ्दी, क्वहोला सोथार गाउँपालिका र बेँसीसहर नगरपालिकाको केही क्षेत्र रहेको छ । कार्यक्षेत्रमा बेँसीसहर नगरपालिका–५ नाल्मा–१० बाँझाखेत रहेको छ भने मस्र्याङ्दी गाउँपालिका अन्तर्गत १ देखि ८ सम्मको भूभागलाई समेटिएको छ ।

यसैगरी, दूधपोखरी गाउँपालिकाको गौडा, विचौर, दूधपोखरी र इलमपोखरीलाई समेटिएको छ भने दोर्दी गाउँपालिका ४ देखि ९ सम्मका वडालाई समेटिएको छ । होलासोथार गाउँपालिका अन्तर्गत सिङदी, पसगाउँ, भुजुङ, उत्तरकन्या, भोजे, गिलुङका केही वडा परेका छन् । अलैँची जोन कार्यक्षेत्र घोषणाका लागि न्यूनतम ५ सय हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधानअनुसार ६ सय २५ हेक्टर क्षेत्रफल प्रस्ताव गरिएको अध्यक्ष तामाङले बताए ।यसअघि, जिल्लामा एउटा ब्लग र २० वटा पकेट क्षेत्र निर्धारण गरिएको थियो ।

ब्लगका लागि न्यूनतम ५ सय रोपनी र पकेटक्षेत्रका लागि १ सय रोपनी क्षेत्रफल निर्धारण गरिएको छ । प्रस्तावित कार्यक्षेत्रलाई जिल्ला कृषि विकास कार्यालयमार्फत कृषि मन्त्रालय पठाइएको छ । मन्त्रालयको स्वीकृतिपछि सो क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन हुनेछ । अलैँची प्रवद्र्धन केन्द्रित सो परियोजना १० वर्षसम्म सञ्चालन हुने अध्यक्ष तामाङको भनाइ छ । कार्यक्रम कार्यान्वयन भएसँगै थप १ सय ५० क्षेत्रफल जमिनमा कार्यक्षेत्र विस्तार गरिने तामाङले बताए ।

प्रतिक्रिया