‘मिस पूर्वाञ्चल’ मा २६ सुन्दरी भिड्दै

Miss Purbanchalकञ्चनपुर, ११ भदौ । नेपालमा विभिन्न शीर्षक तथा समुदाय र क्षेत्रका आधारमा सौन्दर्य प्रतियोगिता भइरहेका छन् । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘मिस पूर्वाञ्चल’ को आठांै संस्करणमा २६ सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् ।

पूर्वाञ्चलकै ठूलो सौन्दर्य प्रतियोगिताको रूपमा चिनिएको यस संस्करणमा दमक र धरानबाट पहिलो चरणको अडिसनबाट उनीहरू छनौटमा परेका हुन् ।

प्रतियोगितामा छानिएका २६ मध्ये २३ जनालाई एक महिने प्रशिक्षण दिएर फाइनलमा सहभागी गराइने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले जनाए ।

दमक अडिसनको निर्णयकमा प्रा. राजेन्द्रजंग थापा र हिमशिखर टेलिभिजनका अध्यक्ष धुव्र न्यौपानेसहित ‘मिस पूर्वाञ्चल २०१५’ की ‘सेकन्ड रनर अप’ प्रमिसा बज्राचार्य थिए ।

धरान अडिसनमा सञ्चारकर्मी सुरेश राई, ‘मिस पूर्वाञ्चल २०१६’ की ‘फस्ट रन अप’ इक्सा मादेन र धरान हेल्दी होमकी सञ्चालिका सुप्रिया माझी रहेका थिए ।

प्रतियोगिहरूको व्यक्तित्व विकास, फेसन, ¥याम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याट्वाक लगायतका विविध विषयमा सम्बन्धित क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण दिइने श्रेष्ठले बताए ।

उनले भने, ‘प्रतियोगितालाई पूर्वाञ्चलव्यापी र पर्यटन प्रवद्र्धनमा सहयोग मिल्ने गरी विभिन्न प्याकेजका कार्यक्रम पनि राखेका छौं ।’

प्रतियोगिताका विजेताले उपाधिसँगै स्कुटीसहित  अध्ययनका लागि युएन कलेजको छात्रवृत्ति र विदेश भ्रमणको अवसर पाउने श्रेष्ठले बताए ।

त्यसैगरी, ‘फस्ट’ र ‘सेकेन्ड रनर अप’ ले क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कारसँगै छात्रवृत्ति पाउँनेछन् । सो प्रतियोगिताको कोरियोग्राफरको भूमिकामा प्रियारानी लामा रहेकी छन् ।

प्रतिक्रिया