राप्रपा विभाजन, सत्तास्वार्थको अल्झन

ramu gaireरामप्रसाद गैरे
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन भएपछि फेरी नेपालको राजनीतिमा पूर्वपञ्चहरूको चरित्र चर्चाको विषय बनेको छ । पार्टी फुट्नु र जुट्नु नेपालको राजनीतिमा त्यति नौलो कुरा होइन, पार्टीहरू विभिन्न कालखण्डमा फुट्दै, जुड्दै आइरहेका छन् ।  प्रमुख पार्टीहरू विभाजन हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो ।  राष्ट्रव्यापी संगठन भएका दलहरू फुट्नुभन्दा जुट्नु नै मुलुकका लागि फाइदा हुन्छ । दुर्भाग्य दलहरू फुट्नु मुलुकको लागि घातक भएको छ, यतिबेला राप्रपा फुट्नु पनि मुलुकको लागि घातक सिद्ध भएको छ । सत्ता स्वार्थका लागि पार्टी विभाजन हुनुलाई त्यति महत्व दिनु सान्दर्भिक ठहरिँदैन । राप्रपा पञ्चायती पृष्ठभूमिबाट जन्मिएको पार्टी हो, पूर्वपञ्चहरू मिलेर गठन भएको राप्रपा विभिन्न कालखण्डमा फुट्दैजुट्दै आइरहेको छ । यो कुनै अनौठो कुरा होइन । यो पार्टीमा फुट र जुट्को लामो शृंखला देखिएको छ । सिद्धान्त विचार र नीति नमिलेर होइन, हरेक कालखण्डमा सत्तामा जाने होड्बाजीकै कारण विभाजन हुँदै आइरहेको छ । अहिले पनि खास कुरा सत्तामा जाने भागबन्डा नमिलेकै कारण विभाजन भएको हो, यो सत्य कुरालाई कसैले नकार्न सकिँदैन ।

झन्डै ३ दशकको अवधिमा राप्रपाले जुटेरभन्दा फुटेर सत्ता स्वार्थमा बढी फाइदा लिएको देखिन्छ । क्षणिक फाइदाका लागि पार्टी विभाजन गर्नु राम्रो कुरा होइन, व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थलाई ध्यानमा राख्दा मुलुकको राजनीतिक भविष्य अन्योलतातर्फ गएको संकेत देखिन्छ । ठूला राजनीतिक दलहरू मुलुकप्रति त्यति जिम्मेवार नहुँदा मुलुकको समस्या समाधान हुन सकिरहेको छैन, दलहरू सत्तास्वार्थबाहेक अरू केही सोचेनन्, राप्रपाले पनि सत्तास्वार्थकै कारण पार्टी विभाजन ग¥यो, यो मुलुकको लागि त्यति राम्रो संदेश दिएको छैन । मुलुकको भाग्य र भविष्य निर्माण गर्ने दिशातर्फ अगाडि बढ्नु पर्नेमा सत्ता स्वार्थका लागि पार्टी विभाजन गर्नु राष्ट्रका लागि कति उचित हो ? तत्कालीन सत्ता स्वार्थमा अल्झिएर मुलुकको भविष्य अध्याँरो बनाउने काममा राप्रपा लागेको देखिन्छ । अहिले पार्टी विभाजन गरेर सत्तामा जाने होडबाजी चलाउने बेला होइन । ०७४, ७ माघभित्र ३ तहका निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन गर्ने चुनौती दलहरूका सामु छन् । यी महत्वपूर्ण जिम्मेवारी पूरा गर्न सबै दलहरू इमानदारीका साथ लाग्नु पर्छ । प्रमुख दलहरू विभाजनमा लाग्नु भनेको मुलुकमा अस्थिरता निम्ताउनु हो, मुलुकलाई निकास दिन प्रमुख दलहरू इमानदारीका साथ एकजुट भएर लाग्नुपर्छ । ठूला दलहरू विभाजन हुनुभनेको राष्ट्रका लागि घातक भएको कुरा विगतका दिनहरूले प्रष्ट पार्छ । राप्रपा नेपाल र राप्रपाबीच ६ महिनाअघि तामझामका साथ भव्य समारोहबीच पार्टी एकता भएको थियो । ६ महिनाभन्दा बढी पार्टी एकता टिक्न सकेन, यो के हो ? भावनात्मक रूपमा पार्टी एकता भएकै थिएन । त्यही भएर पार्टी बलियो हुन सकेन । ६ महिनाको अवधिमा राप्रपा विभाजन हुनु सत्ता स्वार्थकै ठूलो खेल हो । दुबै पक्षले एकअर्काेलाई आक्षेप लगाउने काम अभैm रोकिएको छैन, राप्रपा विभाजन हुनुको मुल कारण सत्तामा जाने खेल नै हो ।

अर्को कुरा, प्रस्तावित संविधान संशोधन विधेयकलाई लिएर देखिएको परस्पर विरोधी दृष्टिकोण पनि एउटा कारण हो । राप्रपा विभाजनलाई यतिखेर सबैले महत्वका साथ हेरिरहेका छन् । सत्ता गठबन्धन दलहरूले पनि राप्रपा विभाजनलाई महत्वका साथ हेरेका छन् ।  ६ महिनाअघि राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता भएपछि पार्टीको नाम राप्रपा राखिएको थियो । तर, दुबै पार्टी एकता भए पनि कार्यकर्ताबीच भावनात्मक एकता भएको कहीँ कतै देखिएन ।

राजनीतिक विष्लेषकहरूले ६ महिनाअघि नै भनेका थिए, राप्रपा र राप्रपा नेपालबीचको एकता फुटेको सिसा जोडिएको हो, आखिर अहिले त्यही भएको छ । गत मंसिरमा कमल थापाको नेतृत्वमा एक भएको राप्रपा भावनात्मक रूपमा त्यती बलियो थिएन र राजनीतिक मुद्दामा अस्पष्ट थियो । नेपालको परिवर्तित राजनीतिकलाई आत्मसाथ गर्दै पशुपतिशमशेर राणा नेतृत्वको पक्षले गणतन्त्र  स्वीकार गरेको थियो भने राजतन्त्र र हिन्दू राज्यका पक्षमा कमल थापाले नेतृत्व गरेका थिए । यी २ दलबीच एकीकरण भएपछि फरकफरक मुद्दालाई कसरी एउटै मुद्दा बनाउने भन्ने विषयमा राप्रपाभित्र ठूलो विवाद थियो । राजनीतिक मुद्दामा प्रष्ट नभई पार्टी एकीकरण हुँदा राप्रपाभित्र ठूलो समस्याको रोग बाँकी थियो । पार्टी एकतापछि पार्टीभित्रको समस्या समाधान गर्न कमल थापाले नसकेको आरोप पनि पार्टीभित्र लाग्ने गरेको थियो । एजेन्डामा प्रष्टता नभई पार्टी एकीकरण हुनु राप्रपाको लागि दुःखद् कारण बन्यो । त्यसैको कारकतत्व नै अहिले पार्टी विभाजन हुनु हो ।

एजेन्डामा एकमत हुन नसक्दा र सांगठनिक असन्तुष्टी व्यवस्थापन गर्न नसकेका कारणले गर्दा एकीकरण लगत्तै राप्रपाका वरिष्ठ नेता डा.प्रकाशचन्द्र लोहनीले पार्टी परित्याग गरेका थिए । प्रकाशचन्द्र लोहनीले चुनाव चिन्हको विषयलाई लिएर असहमति जनाएका थिए । कमला थापा र पशुपतिशमशेर राणाबीच पनि पार्टी एकतापछि आन्तरिक विवाद चुलिँदै गएको थियो । कमल थापाले एकलौटी ढंगले पार्टी चलाएको आरोप राणा पक्षबाट बेलाबेलामा लाग्ने गर्दथ्यो भने थापाले आपूmलाई असफल बनाउने खेल सुरु भएको अरोप राणा पक्षलाई लगाउने गर्दथे । पार्टीभित्रको आन्तरिक किचलो नै पार्टी विभाजनको मुल कारक तत्व हो, राजतन्त्र कि गणतन्त्र, हिन्दू राष्ट्र कि, धर्म निरपेक्षता भन्ने विवाद राप्रपाभित्र बहस चलिरहेको थियो । पछिल्लो समय वर्तमान सरकारमा सहभागी हुने कि नहुने भन्नेमा मत मतान्तर जोडिएको थियो । सरकारमा कसको नेतृत्वमा जाने भन्ने विषयमा पार्टीभित्र विवाद केही समयअघि चलेको थियो । सबैभन्दा ठूलो कुरा सरकारमा जाने कुराले नै पार्टी विभाजन भएको देखिन्छ । प्रादेशिक सिमांकन हेरफेर गर्ने उद्देश्यले ल्याइएको संविधान संशोधन विधेयकप्रति थापा र राणापक्षको फरकफरक दृष्टिकोण थियो, त्यो पनि फुट्लाई सहयोग पुग्ने आधार बनेको थियो । धेरैको विश्लेषण फरकफरक भए पनि मुल कारण सत्तारोहणसँग सम्बन्धित देखिन्छ ।

कांग्रेस–माओवादी केन्द्रलगायतको सत्ता गठनबन्धनले संसद्मा ३७ सिट भएको राप्रपालाई सत्तारोहणका लागि आग्रह गर्दा संसद्मा विचाराधीन संविधान संशोधन विधेयकमा समर्थन गर्नुपर्ने सर्त राखेका थिए । तर, राप्रपाका अध्यक्ष कमल थापा आफ्नो पार्टीका सबै संसद्लाई संविधान संशोधन विधेयकप्रति एकमत बनाउन असफल भएर हो या त्यो बाटोमा जान नचाहेर हो, त्यो कुरा भने अझै बुझ्न सकिएको छैन ।

सरकारमा जाने विषयमा पार्टीभित्र नेताहरू बीच एकमत हुन सकेन, यी सबै विवाद लम्बिँदै जाँदा अन्ततः पशुपति शमशेर राणा पक्षले पार्टी फुटाएर राप्रपा–लोकतान्त्रिक नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेको छ । राप्रपासँग प्रष्ट सैद्धान्तिक धार छैन, स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको जनमतले पनि राप्रपाको हैसियत प्रष्टसँग देखाइदिएको छ । स्थानीय तहको निर्वाचनमा राप्रपाले अत्यन्तै निराशाजनक परिणाम भोग्नुप¥यो । संसद्मा चौथो स्थान लिएको राप्रपाको स्थानीय तहको नतिजा लाजमर्दो छ । पार्टीले बोकेका एजेन्डा बारे पार्टी कार्यकर्ता अलमलमा परेको देखिन्छ । राप्रपासँग प्रष्ट विचार छैन, पार्टी विचारको आधारमा अघि बढ्ने गर्दछन्, त्यो राप्रपामा देखिएन । ढुलमुले नीतिले पार्टीलाई नोक्सान पु¥याउँछ, अहिले त्यही भएको हो ।

प्रतिक्रिया