पशु चौपायामा खोरेत रोगको प्रकोप, औषधिको अभाव

create_thumb.php

बझाङ । पशु चौपायामा खोरेत रोग देखापरेको छ । खोरेत रोगको प्रकोप फैलिएपछि औषधि लिन आएका स्थानीय बासिन्दा खाली हात घर फर्कनु परेको छ । खप्तड छान्ना गाउँपालिका–६ बयानाका लोकेन्द्रबहादुर थापा ६५ वटा बाख्रामा खोरेत रोग देखिएको बताए ।

“सत्ताइस बाख्रा थला परेका छन् न घाँस खान्छन् नत हिँडडुल गर्न सक्छन्,” उनले भने । औषधि लिन छान्ना पशु सेवा कार्यालयमा गएपनि नपाएपछि जिल्ला पशुसेवा कार्यालय आएका छन् । पशुसेवा कार्यालले औषधि सकिएको भनेपछि थापा निराश भएका छन् ।

पशुसेवा कार्यालयका कर्मचारीले बाहिर एग्रोभेटबाट फलानो औषधि किनेर लैजानु भन्दै कागजमा लेखिदिने गरेका छन् । औषधि किन्न पैसा नहुँदा पीडित रित्तोहात घर फर्कन थालेका छन् ।

लामो समयदेखि भेडापालन व्यवसाय गर्दै आएका नवराज सिहं खोरेत रोगले दिनहुँ भेडा मर्न थालेको बताउँछन् । उनले करिब २०० भेडा पालेका छन् । “भेडामा खोरेत रोग लागेको छ, औषधि अभावका कारण अहिलेसम्म १५ वटा भेडा मरिसके,” उनले भने ।

खोरेत रोगले पशु चौपायाको मुख पाक्ने, घाँस खान नसक्ने, खुट्टा सुन्निने र पाक्ने, ज्वरो आउने गरेको छ । सदरमुकाम चैनपुुरसँग जोडिएको जयपृथ्वी नगरपालिका–८ मा समेत खोरेतले पाँचवटा बाख्रा र गाई मरेको सो वडाका वडाध्यक्ष नवराज कोइरालाले बताए ।

मस्टा गाउँपालिकामा समेत पशु चौपायामा खोरेत रोग देखिएको जिल्ला पशुसेवा कार्यालयका प्राविधिक कर्णबहादुर खड्काले बताए । “पशुलाई खोप लगाउन नमान्दा खोरेत देखापरेको हो,” उनले भने ।

वरिष्ठ पशु सेवा चिकित्सक जीतेन्द्रमान श्रेष्ठ पशु चौपायाको औषधि उपचारका लागि रु तीन लाख मात्र वार्षिक बजेट आउने गरेको बताउँछन् । खरिदका लागि न्यून रकम आउने गरेका कारण औषधिको समस्या भएको उनको भनाइ छ । जिल्लामा १२ वटा पशु सेवा केन्द्र रहेका छन् ।

प्रतिक्रिया