मिटरब्याज र ढुकुटीले समाजमा भाडभैलो

राधिका बोहरा
paisaधनगढी । कैलालीका विभिन्न गाउँदेखि सहरसम्म चर्को व्याजदरमा मिटर व्याज र ढुकुटी खेलाउने समुहहरूले ठगी गर्दै गएपछि समाजमा भाडभैलो मच्चिन थालेको छ । घरमा श्रीमानलाई छलेर ढुकुटी र मिटरब्याजमा पैसा दिएकाहरूको घरवारसमेत बिगँ्रदै गएको छ ।  मिटर व्याजमा बढी व्याज पाउने र ढुकुटी खेलेर एकै पटक धेरै पैसा आउने लोभका कारण धेरै जना घरवारविहीन समेत भएका छन् । कयौंले करौडांै रकम लिएर फरार भएका घटनाहरू एकपछि अर्को बाहिर आईरहेका छन् ।

चर्को व्याजदिने भन्दै ठूलो रकम लिएकाहरुले बर्सौ बित्दा पनि पैसा फिर्ता नगरेपछि लेनदेनको विषयलाई लिएर सार्वजनीक स्थलमै कुटाकुट समेत हुन थालेको छ । कम मेहनतमै लाखांै कमाई  हुने प्रलोभनमा मिटर व्याज दिने समुह तथा मिटर व्याजमा संग्लनहरुबीच कुटाकुट हुन थालेपनि प्रहरी प्रशासनले खासै चासो दिएको छैन ।

केही समयअघि मात्रै मिटर व्याज र ढुकुटीको सिकार भएर डेरी व्यवसायी दीपक खड्का विदेश पलायन भए भने खाद्यान्न व्यवसायी विकाश अग्रवाल, राजेश गुप्ता, नितेश शर्मा लगाएत आधा दर्जन भन्दा बढी व्यवसायीहरु चर्को मिटर व्याज तिर्न नसकेर भागेका छन् ।
श्रीमती मार्फत ढुकुटीको कारोबार गरिरहेका धनगढीका केही संमभ्रान्त परिवारका पुरुषहरू त्यही पैसामा विलासिताको जीवन बिताई रहेको स्रोतले जनाएको छ । मिटर व्याजको कारोबारले महंगा गाडी चढ्न सफल उनीहरु केही स्थानीय राजनीतिक दलको आडमा तथा केही प्रहरी प्रशासनको आडमा नै अवैध मिटर व्याज र ढुकुटीको कारोबार गरिरहेको पाईएको छ । मिटर व्याज र ढुकुटीको कारोबारमा प्रहरी अधिकृतका श्रीमतीहरु समेत संलग्न रहेको एक मिटर ब्याज र ढुकुटी कारोबारीले बताए ।

प्रहरी अधिकृतका श्रीमतीहरु, धनगढीका केही संमभ्रान्त परिवारका महिलाहरु, अधिकृत स्तरका सरकारी कर्मचारीका श्रीमतीहरु र ठूला व्यापारिक घरानाका महिलाहरु आफू कहाँ आएर मिटर व्याजमा लगाईदिन भन्दै पैसा दिने गरेको उनले बताए । यस्तै प्रहरी अधिकृतका श्रीमतीहरू समेत यसमा संलग्न रहेकाले प्रहरीले यो विषयमा पन्छिने गरेको स्थानीयहरुले बताएका छन् ।

मिटर व्याजमा र ढुकुटी खेलाउनेहरुसंग प्रहरीले कमिसन लिने गरेको पनि खुल्न आएको छ । धनगढीका एक मिटर व्याज कारोबारीले सबै पक्षलाई मिलाएर आफूले काम गरेको र अन्तमा आफूसँग कमिसन लिनेहरुले नै आफूलाई फसाएको खुलासा गरेका छन् । प्रहरीका घुमुवाहरूले समेत मिटर व्याज र ढुकुटी कारोबारीहरु सँग महिनावारी असुल गर्ने गरेको पाईएको छ ।

मिटर ब्याज र ढुकुटीले कतिपयको पैसा मात्रै स्वाहा भएको छैन, ईज्जत र प्रतिष्ठा पनि धमिल्याइदिएको छ । आर्थिक अपराध मिटर व्याज र ढुकुटीमा उच्च र वौद्धिक वर्गको समेत संलग्नता देखिएको छ । उनीहरुले संगठित रुपमा नै अपराध गर्छन् । प्रहरीका अनुसार यस्तो अपराधमा मुख्य योजनाकारको प्रत्यक्ष संलग्नता देखिँदैन, उनीहरुलाई अप्रत्यक्ष पहुँचवालाको संरक्षण हुन्छ । यसले गर्दा पनि नियन्त्रणमा कठिनाई देखिएको छ ।

चर्को व्याजमा रकम लिनेले दिन्न भनेपछि, त्यसअघि नै लिइएको चेक बाउन्स गराएर थुनाउने, आफंै कुटने जस्ता आपराधिक क्रियाकलाप बढिरहेका छन् । गत शुक्रबारमात्रै सेवा नर्सिङ् होमकी सञ्चालीका कल्पना गैरे र सीता केसी बीच धनगढी चौराहामा कुटाकुट हुँदा गैरेको टाउकोमा चोट लागेर उनको नेपालगञ्जमा उपचार भईरहेको छ । गैरेले सीता केसी विरुद्ध किटानी जाहेरी दिएकी छन् । तर प्रहरीले सीता केसीलाई  केही दिन पहिला पक्राऊ गरेर बोलाएको समयमा उपस्थित हुने गरी छोडेको कैलालीका प्रहरी प्रमुख  अर्जुन चन्दले बताए । कैलालीमा सम्पन्न र सौखिन महिलाहरु बढी मात्रमा मिटर व्याज र ढुकुटीको चक्करमा फसेको उनले बताए ।

अहिले जिल्ला प्रशासन कार्यालय कैलालीमा दैनिक जसो ६ देखि आठ जनासम्म मिटर व्याज र ढुकुटीे खेलाउनेले ठगेको भन्दै उजुरी गर्न आउने गरेको कार्यालयले जनाएको छ । दुवै पक्षलाई बोलाएर छलफल गर्न बाहेक आफूले केही पनि गर्न नमिल्ने जिल्ला प्रशासनले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीले मिटर व्याजमा ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ गरेकामध्ये  धनगढी उपमहानगरपालिका– ८ क्याम्पस रोडकी मञ्जु बम र सोही ठाउँकी कविता चौधरी र धनगढी उपमहानगरपालिका– २ सन्तोषी टोलका निलम पनेरुलाई  बाउन्स चेक दिएर ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ परेकी बम र चौधरीलाई अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको र पनेरु बिहीबार मात्र पक्राउ परेकाप्रहरीले जनाएको छ ।

उता कैलालीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले ढुकुटी र मिटर व्याज खेल्ने खेलाउने विषयमा प्रहरीको कुनै सरोकार नभएको बताएका छन् । सो कार्य नियन्त्रण गर्ने कार्य प्रहरीको नभएकोसमेत उनले बताए ।

प्रतिक्रिया