दूध बेच्न नेपाली किसान भारततर्फ

milkझापा २९ असार । झापा गाउँपालिका–६ का पुण्यप्रसाद पौडेलले १६ वर्षदेखि भारतको दिघल बैंक बजारमा दूध बिक्री गर्दै आएका छन् । उनले दैनिक १ सय ५० लिटर दूध बिक्री गर्छन् । नेपालमा भन्दा भारतीय बजारमा मूल्य बढी पाइने भएपछि उनी दूध बिक्री गर्न भारतीय बजार धाउँदै आएका हुन् । ‘झापाका विभिन्न बजारमा दूधको मूल्यमा एकरूपता छैन’, उनले भने, ‘हामी कृषकबाट प्रतिलिटर ४० रुपैयाँमा दूध खरिद गरी डेरीलाई ३८ देखि ३९ रुपैयाँका दरले बेच्छौँ, त्यही दूध उनीहरू ५५ रुपैयाँमा बिक्री गर्छन् ।’ कन्काई नगरपालिकाको सुरुंगास्थित अमृत दुग्ध विकास संस्थामा काम गर्दागर्दै जागिर छाडेर पौडेलले दूध बेच्न थालेका हुन् । पौडेल अहिले भारतीय बजारमा प्रतिलिटर ३० देखि ३५ भारतीय रुपैयाँमा दूध बिक्री गर्छन् । उनी गाउँघरमा ‘दूधवाला’ का नामले परिचित छन् ।

‘दूध बेचेरै परिवारको पालनपोषण गर्दै आएको छु’, उनले भने । पौडल मात्र होइन भारतसँग सीमा जोडिएका घेरावारी, शरणामती, कुमरखोद, केचना, बनियानीलगायत ठाउँका कृषक दूध बेच्न भारतीय बजार धाउने गरेका छन् । अधिकांश कृषक आफैँ दूध बेच्न भारतीय बजार जाने गरेका छन् भने केहीले दूध संकलकमार्फत दूध बेच्ने गरेका छन् । पछिल्लो समय सरकारले पशुपालक कृषकका लागि अनुदान दिन सुरु गरेपछि जिल्लाका पशुपालक कृषकको संख्या बढेसँगै दूध उत्पादनमा समेत वृद्धि भएको छ । आव ०७२÷७३ मा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको दूध उत्पादन भएको जिल्ला पशुसेवा कार्यालयका सूचना अधिकारी कुमारसिंह खत्रीले बताए ।

सो आवमा जिल्लामा २ हजार ३ सय मेट्रिक टन दूध उत्पादन भएको थियो । उत्पादन भएको दूधमध्ये ८० प्रतिशत जिल्लामै खपत हुन्छ । ५ हजार लिटरभन्दा बढी दूध खपत गर्दै आएका एनएमसी डेरी र ऋतिका डेरीबाट कृषक लाभान्वित भएका छन् । जिल्लामा नश्ल सुधारका लागि १२ वटा सामुदायिक प्रजनन केन्द्र, १७ वटा सेवा केन्द्र र निजी क्षेत्रले समेत काम गर्दै आएका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया