इराकमा आइएसको गतिविधि बढ्दो

बगदाद । इराकमा भइरहेको हिंसात्मक द्वन्द्वका क्रममा परी गत जुन महिनामा मात्र चार सय ११ जनाको मृत्यु भएको छ ।यस अवधिमा अरू दुई सय ९४ जना घाइते पनि भएका इराकस्थित राष्ट्रसंघीय मिसनका अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । मिसनको कार्यालयद्धारा जारी वक्तव्य र मिसनले सार्वजनिक गरेको तथ्यांकमा सुरक्षाकर्मीतर्फ मारिएकाहरूको विवरण भने समावेश नगरिएको स्पष्ट पारिएको हो । ‘हामीले उल्लेख गरेको तथ्यांकमा सुरक्षा निकायतर्फ मारिएकाहरूको विवरण समावेस गरिएको छैन,’– प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै सुरक्षाकर्मीतर्फ मारिएकाहरूको तथ्यांक पनि पुष्टि हुन नसकेको अर्काे एक समाचारमा जनाइएको छ । मारिएका सर्वसाधारणमध्ये अधिकांश इराकको उत्तरी प्रदेश निनेभेहका रहेका छन् । जहाँ दुई सय ८९ जना मारिएका थिए भने अरू ९३ जना घाइते भएका छन् । इराकी सुरक्षाकर्मीहरू र इस्लामिक स्टेट (आइएस) का लडाकूहरूबीच पश्चिम मोसुलमा भएका भिडन्तहरूमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
इराकका लागि राष्ट्रसंघीय प्रतिनिधि र मिसन प्रमुख जान कुबिसले मोसुलमा भइरहेको द्वन्द्व र आईएस लडाकूहरूको आक्रमणबाट आम नागरिकहरूलाई जोगाउन आह्वान गरेका छन् । आतंककारीहरूको समूहले लगातार आम नागरिकहरूलाई नै लक्षित गर्नुका साथै उनीहरूलाई नै ढाल बनाएर अघि सार्ने गरेका अधिकारीहरूको भनाई छ । ‘आतंककारीहरूले मोसुलमा नागरिकहरूलाई मानव ढाल बनाएका छन्, त्यसैले त्यहाँको सुरक्षा र नागरिकको हित रक्षाका लागि थप चासो राख्नु पर्ने देखिन्छ,’– राष्ट्रसंघीय विशेष प्रतिनिधिले भने । इराकका कतिपय उत्तर पश्चिमी क्षेत्र सन् २०१४ जुन देखि नै आइएसको नियन्त्रणमा रहेका छन् । लामो समयदेखिको अस्थीरता र लगातारको हिंसाका कारण यहाँका नागरिकमा अत्यन्तै निराशा देखिन्छ । जसका कारण पनि आइएसका गतिविधिहरूमा तीव्रता देखिन्छ । ती भूभाग फिर्ता लिन इराकी सुरक्षा निकायहरूले निकै संघर्ष गरिरहेका छन् । तर, सफलता प्राप्त हुन सकिरहेको छैन ।

प्रतिक्रिया