कस्तो विडम्बना, सच्चा नेपाली बन्नका लागि जुनसुकै देशमा बसेका नेपाली मूलका मानिसले गरेका आन्दोलनको पनि समर्थन गर्नुपर्ने भयो । बुढापाका भन्थे, ‘जतिसुकै माया गरे पनि र जतिसुकै राम्री भए पनि जेठी स्वास्नी लोग्नेका लागि कहिल्यै प्यारी हुँदिन । आजकल यो कुरा साँचो हो जस्तो लाग्छ । जे गरे पनि, जति छाती ठोकेर रोएकराए पनि मधेसी सधैँ पराया भयो यो देशमा । मधेसमा देखिएको राष्ट्रियता र प्रजातन्त्रप्रतिको भावनाको सही कदर र प्रशंसा कहिल्यै भएन । मधेसीको समस्याको मुख्य जरो ‘नीति ठीक, नियत बेठीक’ भएकाले हो यसो भएको । तपाईं नै भन्नुहोस्, के मधेसीका समस्या सम्बोधन गर्दा राष्ट्रियता नस्ट हुन्छ त ?
आफ्नो घरमा आगो लागेका बेला अर्काको घरको आगो निभाउन खोजे आफ्नै घर खरानी हुन्छ । मधेस र पहाड एकै रथका पांग्रा हुन् भन्ने घ्यान नभएसम्म यो द्वन्द्व सदैव रहन्छ । मधेस समस्या जति ढिलो हुँदै जान्छ त्यति नै विदेशी तत्वले आफ्नो स्वार्थका लागि राजनीति गर्न ठाउँ पाउँछन् । पहाडका दल मात्र होइन, मधेसकेन्द्रित दलहरू पनि यो विषयमा गम्भीर हुने बेला आएको छ । मधेसी समुदायको राष्ट्रियता र एकतामाथि शंका गर्नु महाअपराध हो । त्यसकारण जातीय राष्ट्रवादबाट नागरिक राष्ट्रवादतिर जाने बेला आएको छ । साँचो कुरा के हो भन्दा नेपालमा जनताले संघीयताबारे बुझेका छैनन् । न त संघीयता उनीहरूका चासोकै विषय हो । अभाव, गरिबी, उत्पीडन, शोषणमा पिल्सिएका नेपालीलाई संघीयताले छुन सकेको छैन ।
हामी नेपालीलाई जातजाति नामको राज्य होइन, केवल सुन्दर शान्त नेपाल चाहिएको छ जहाँ जात, धर्म, भाषा, इत्यादिका आधारमा भेदभाव नगरियोस् । जातीय र भाषाका आधारमा राज्य सम्भव छैन । नेपालजस्तो मुलुकमा संघीयता लागू गर्नु विदेशीका लागि छलखेल गर्नका लागि सजिलो वातावरण बनाउनु मात्र हो । जुन संघीयताको कुरा गरिएको छ त्यसले यो देशलाई एक ढिक्का बनाउँदैन । संघीयतामा रमाउने हो भने नेपाललाई मात्र तीन प्रदेशमा विभाजन गर्नुपर्छ । नेपालमा संघीयता भनेको एक आना जग्गामा सात कोठाको घर बनाएजस्तै हो । भारतमा गोर्खाल्यान्ड र नेपालमा मधेसी र जनजातिको लडाइँमा खासै फरक छैन । दुई÷चार जना मित्रले मेरो अभिव्यक्तिप्रति शंका पनि व्यक्त गरे ।
असमानता र अन्यायविरुद्ध हुने कुनै पनि आन्दोलनलाई विश्वको कुनै पनि कुनामा बस्नेहरूले समर्थन गर्न सक्छन् । त्यसमा मेरो टाउको दुःखाइ छैन । मेरो धारणा केवल अरूको देशको समस्याभन्दा आफ्नैमा ध्यान दिनुपर्छ कि भन्ने मात्र हो । पहाड र तराईको अलग्गै प्रदेश बनाउनुपर्ने, पहाडको क्षेत्रफलको तुलनामा मधेसमा धेरै तह बनाउनुपर्ने जस्ता माग राख्नेहरूसँग मेरो प्रश्न छ– भाषाकै आधारमा छुट्टै राज्य दिने हो भने नेपालमा २३ वटा राज्य बन्नुपर्छ । भारतमा जम्मा शून्य दशमलव २९ प्रतिशतले नेपाली बोल्छन् । यसो भयो भने त्यहाँ पनि नेपाली बोल्नेलाई छुट्टै राज्य दिएर सम्भव हुन्छ ? नेपालमा ४४ दशमलव ६ प्रतिशतले नेपाली बोल्छन् । ११ दशमलव ६७ प्रतिशतले मैथली बोल्छन्, पाँच दशमलव ९९ प्रतिशतले भोजपुरी बोल्छन्, शून्य दशमलव २९ प्रतिशतले चामलिङ बोल्छन् । शून्य दशमलव २५ प्रतिशतले बघंगी बोल्छन् ।
ती सबैले भाषाका आधारमा छुट्टै राज्य दे भनेर लड्ने ? यस्तो अवस्थामा यो सानो देशको के हालत हुन्छ ? धैर मित्रहरू नागरिकताको कुरा सवाल उठाइरहन्छन् बेलाबेला । दुई÷चार जना मधेसी नेता मात्र किन, ०६२÷६३ यता निकालएका सम्पूर्ण नागरिकता खारेज गर्न किन आन्दोलन गर्दैनौँ हामी ? त्यसयता कसले दियो त नागरिकता ? डाडु पन्युँ कसको हातमा थियो ? गर्ने कोही होइन, खाली खोक्ने र आन्दोलनकारीलाई ठोक्ने रबैयाले देश कहीँ पुग्नेवाला छैन । जहाँसम्म भारतीय राजदूतसँग लसपसको कुरा छ, यो त परम्परादेखि चल्दै आएको हो, जसलाई देखासिकी मात्र गरेका हुन् मधेसका नेताले । भारतसँग जोडिएर लम्पसारका कुरा पनि निकै हुने गर्छन् । छोराछोरीको छात्रवृत्तिका लागि लैनचौरमा दरखास्त हाल्नेको संख्या कसको बढी छ ?
यति मात्र खोजबिन गर्दा कुरो प्रस्टिइहाल्छ । मधेसी नेतालाई मात्र गाली गर्नुसट्टा यता लागे वास्तविकता खुलिहाल्छ । एकातिर नेपालजस्तो सानो देशमा धेरै प्रदेश बनाउनु हुँदैन भन्ने अर्कोतिर दार्जिलिङलाई भने छुट्टै राज्य घोषणा गर्नुपर्छ भन्ने, नेपालमा जातीय प्रदेशको विरोध गर्ने भारतमा भने गोर्खाल्यान्डको माग ठीक छ भन्नेहरूको दोहोरो मापदण्ड रहेसम्म समस्या समाधान हुन्न । गोर्खा फौजमा मधेसी त कोही छैनन् । रह्यो– मधेसीले भारतीय भूमि प्रयोग गरेका कुरा । आन्दोलनका क्रममा नेपालको सरकारदेखि सुरक्षाकर्मीसम्म सबै मधेसी विरोधी थिए । राणा शासनविरुद्ध पनि अहिलेका टोपीधारी राष्ट्रवादीहरू भारत नै गएका थिए । भारत गएका नेपालीलाई त्यतिबेला परिवर्तन नचाहने सामन्ती राणाहरूको नजरमा राष्ट्रघाती भनिन्थ्यो ।
समयले फड्को मारेको मात्र हो, अहिले पनि परिवर्तन नचाहने सामन्तीका नजरमा मात्र मधेसी राष्ट्रघाती छन् । आफ्नै देशको भूभाग खोसिने बेलामा दार्जिलिङ नेपालको भूभाग हो र एकदिन अवश्य फिर्ता आउँछ भन्नेको भीड पनि रहेछ । आफ्नो घर र जग्गा अरूले मिचेको चाल नपाउने जमातले लिपुलेक र दसगजामा भारतले मिच्यो भनेर देशभक्तिको नमुना पेस गर्न सुहाउँछ ? दसगजामा भारतीय पुलिससँग लड्ने नेपाली मधेसका नै थिए । खोसिएको, हराएको चिज खोजी गर्नुभन्दा भइरहेकोलाई सुरक्षा गर्नु नै वेश हुन्छ । नत्र भने अहिले भएको पनि खोसिएर र हराएर जान सक्छ । विश्वमा गोर्खालीको भिन्नै पहिचान र परिभाषा छ । गोर्खाली संसारका धरै मुलुकमा छरिएका छन् । ती सबै गोर्खाली नेपाली भने होइनन् । तपाईं जुनसुकै देशको नागरिक भए पनि गोर्खाली हुन सक्नुहुन्छ तर नेपाली होइन । भारतीय गोर्खाली, भुटानी गोर्खाली, बर्मिज गोर्खाली र अरू थुप्रै देशमा बस्नेहरू, नेपाली भाषा बोल्नेहरू, त्यो देशका नागरिक हुन् ।
भारतमा गोर्खा आर्मी छ, नेपाली आर्मी होइन । मेरा विचार सबैलाई मन नपर्न पनि सक्छ । आउनुहोस्, तर्क÷वितर्क गरौँ । सही र सत्य कुरा बोल्न र लेख्न पछि नपरौँ । देशलाई द्वन्द्वतिर धकेलेर यसलाई जलाउँदै आगो तापेर कसैको हित गर्छु भन्नु र रुखको टुप्पामा बसेर फेदतर्फ काट्ने बुद्धि एउटै हो । केहीले अँगालेका अहिलेको गतिविधि करिबकरिब त्यतै उन्मुख छ । त्यसैले लहड र उत्तेजना होइन, विवेक र संयम जरुरी छ यतिखेर । देश र जनताको सोच्ने दूरदर्शी नेतृत्व भएन भने सबैले दुःख पाउनुको विकल्प छैन । बेलैमा सोचौँ । म त यदु वंशको सन्तान । नेपाल देश हुनुभन्दा धेरै अगाडिदेखि यो भूमिको रक्षा गर्दै आएका थिए मेरा पूर्वजले । यदु वंश भनेको परम पवित्र वंश हो ।
यो त्यस्तो वंश हो जसअनुसार मानव जातिको सबै पापलाई नष्ट गर्नका लागि स्वयं भगवान् परब्रह्मले मनुष्यका रूपमा अवतार लिएका थिए । जसलाई हामी श्रीकृष्ण भगवान् पनि भन्छौँ । म कुनै पार्टीसँग सरोकार राख्दिनँ तर गरिब निमुखाले दुःख नपाउन्, जमिनदारको ज्यादति शून्य होस्, हत्या हिंसा नहोस्, मेरो देश नेपालको उन्नति र प्रगति होस् भन्ने एक मात्र चाहना छ मेरो । त्यसैले त गर्व गरेर भन्छु, म नेपाली हुँ, गोर्खाली होइन।
प्रतिक्रिया