कतार जाने नेपाली घटेनन्

Doha-Qatarकाठमाडौं १ असार । कतारमा उत्पन्न पछिल्लो परिस्थितिका कारण त्यहाँ जाने नेपालीको संख्या घट्ने धेरैको अनुमान थियो । तर, कतार जानका लागि श्रम स्वीकृति लिने नेपालीको संख्यामा कमी नआएको सरकारले बताएको छ । वैदेशिक रोजगार विभागले पछिल्लो १ हप्ताको विवरणको विश्लेषण गर्दै औषत रूपमा कतार जाने नेपालीको संख्यामा कमी आउने अवस्था नदेखिएको बताएको छ । २२ जेठमा इजिप्ट, बहराइन, यमन, लिबिया, साउदी अरेबिया, दुबई र माल्दिभ्सले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका थिए । त्यसपछि कतारको हवाई सेवामा पनि असर परेको थियो । तर, नेपालले इरानको हवाइ आकाश प्रयोग गर्ने सम्झौता भइसकेको छ । कतारमा उत्पन्न समस्याबारे अन्योल हुँदा २३ जेठमा भने श्रम स्वीकृति लिनेहरूको संख्या निकै घटेको थियो । तर, कतारले यसखाले प्रतिबन्धले आफूलाई कुनै असर नपर्ने बताएपछि श्रम स्वीकृति लिनेको संख्यामा खासै कमी आएको देखिएको छैन ।

वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीका अनुसार जेठ २१ देखि २८ गतेसम्म ३ हजार ८ सय ६९ जना कामदारले कतार जान अन्तिम श्रम स्वीकृति लिएका छन् । उनका अनुसार एक सातामा २ हजार ८ सय ९३ जनाले संस्थागत रूपमा श्रम स्वीकृति पाएका छन् । त्यसैगरी ९ सय ७६ जनाले व्यक्तिगत रूपमा कतार जान अनुमति पाएका छन् । विभाग अनुसार संस्थागततर्फ २१ जेठमा ५ सय ४८ जनाले कतारका लागि श्रम स्वीकृति लिएका थिए । २२ जेठमा ४ सय ९५ जना र २३ मा २ सय ३७ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै २४ जेठमा ५ सय २३ जना, २५ मा ३ सय ६३ जना रहेका छन् । २६ जेठमा ३ सय १७ जनाले कतारका लागि श्रम स्वीकृति लिएका छन् । २८ जेठमा ४ सय १ जनाले श्रम स्वीकृति लिएका छन् ।  त्यसैगरी व्यक्तिगततर्फ २१ गते १ सय ६४ जनाले कतारका लागि श्रम स्वीकृति लिएका थिए भने २२ गते १ सय ५८ जना, २३ गते २५ जना र २४ गते २ सय ३ जनाले स्वीकृति लिएका छन् । २५ जेठमा १ सय ११ जना, २६ गते १ सय ९६ जना र २८ गते १ सय १९ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् ।

कतारबाट कूटनीतिक सम्बन्ध विच्छेदपछि नेपाली समस्यामा परेको कुनै पनि किसिमको खबर नआएकाले पनि कामदारहरू आश्वस्त भएको अधिकारीको दाबी छ । सँगै सरकारले अप्ठेरो अवस्था आउन सक्ने भएकाले सतर्क रहन कतारस्थित दूतावासलाई भनेकाले पनि नेपालीहरू अहिले नै कतारमा समस्या नआउने बताउँदै श्रम स्वीकृति लिइरहेका छन् । समान्यतया विदेशिने नेपालीको संख्यामा महिनैपिच्छे उतारचढाव आउने गर्छ । यो महिनामा कतार जानेको संख्या थोरै घटे पनि त्यो अस्वाभाविक दरमा नरहने प्रक्षेपण वैदेशिक रोजगार विभागको छ । ‘कतारमा उत्पन्न पछिल्लो अवस्थाले त्यहाँ जानेको संख्या के भयो भन्ने कुरा यति छिटै विश्लेषण गर्न गाह्रो हुन्छ’ अधिकारीले भने, ‘श्रम स्वीकृति लिने संख्यामा भने खासै परिवर्तन देखिएको छैन, साविककै दरमा कतारका लागि श्रम स्वीकृति माग्नेहरू आएका छन् ।’
अधिकारीले श्रम स्वीकृति लिएकामध्ये कतिजना कतारका लागि उडे भन्ने जानकारी विभागका नआउने भएकाले ठ्याक्कै भन्न नसकिने स्पष्ट गरे । ‘त्यो विवरण अध्यागमनसँग हुन सक्छ, हामी कहाँ श्रम स्वीकृति लिने मात्रै भएकाले हामी कोही त्यही समस्याका कारण उडेनन् भने जानकारी आउँदैन’ प्रवक्ता अधिकारीले भने, ‘कतारमा अहिले नेपालीहरू कुनै पनि किसिमको संकटमा फसेका छैनन् । त्यहाँबाट सकारात्मक नै खबरहरू आएकाले पनि जानेहरूको संख्या घट्ला भन्न सकिँदैन ।’

प्रतिक्रिया