वैदेशिक रोजगारसँगै बढ्दो गृहस्थी–टुटाइ

आधाजसो देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको आजको समयमा वैदेशिक रोजगारलाई नकार्न त के योविनाको अवस्था कल्पनासम्म गर्न सकिन्न । अझै हाम्रोजस्तो विकाशशील मुलुकमा त वैदेशिक रोजगार एक मेरुदण्ड नै बनिसकेको छ । आज चाहेर या नचाहेर लगभग हरेक परिवारका कमसेकम एक सदस्य त देश बाहिरै छन् । दैनिक सयौँको संख्यामा बेरोजगार नेपाली युवाजत्था मनभरी उज्यालो भविष्यको कल्पना, आँखाभरि वियोगको आँशु र झोलाभरी रहरको गुन्टा बोकेर अन्तर्राष्ट्रिय विमानस्थलको बहिर्गमन विभागमा लाम लागिरहेका हुन्छन् ।

रहर बाध्यता र मनभरी अनेक त्रास भए पनि आँखामा त्योभन्दा कहालिलाग्दो वियोगको बादल ती सबैका अनुहारमा प्रDips shahष्ट देख्न सकिन्छ । जति नै बाध्यता विवशता भए पनि, ‘आ ! यो देशले के दियो र मलाइ ?’ भने पनि अन्तमा एक पोको लुगा र एउटा हरियो राहदानी च्यापेर अन्तहीन सपनाको दुनियाँमा नितान्त कसैको चाकरी गर्न जाँदै छु भन्ने सम्झिँदै आफ्नो माटो छोडेर उड्नै लाग्दा भने हरेक नागरिकको हृदय बेस्सरी हल्लिन्छ एक भयानक सन्त्रासमा ।

दुःखजिलो गरेर बाबुआमाले आज लगभग हरेक नेपाली सन्तानलाई थोरैतिनो शिक्षा दिलाएकै हुन्छन् । जब ती आर्जित ज्ञानमा प्वाँख भरेर आफ्नै आकाशमा प्रविधि र परिवर्तनको कावा खाने खाने बेलाको सुरुआत हुन्छ तब ती सबैको हृदयमा बेरोजगारीको कालो बादलले ध्वाँसो पोतिदिन्छ । अनि वाध्य भएर त्यही ध्वाँसो पुछ्ने, पखाल्ने र टल्किने सपना बोकी ती सबैले देश छाड्छन् र त्यसरी मुस्किलले आर्जन गरेको ज्ञान कहीँ दूरदेशमा पराइको चरणमा चढाउन वाध्य पारिन्छन् । हामी कर्मशील युवाकै हातले आज मध्यपूर्वका बन्जर मरुभूमी हरियाली बन्दै छ ।

हाम्रै पाखुराको बलले विदेशी गगनचुम्बी महल ठडिएका छन् । हाम्रै मिहिनेती हातपाखुराले विदेशका गल्ली, बगैँचा, पार्क, बाटोघाटो, सपिङ मल, अस्पतालका शौचालय र एअरपोर्टका भुइँ भित्ता टलक्क टल्किएका छन् । हाम्रै विराट हृदय र कोमल हातले विदेशका रोगी बिरामी स्याहारिएका छन् र लामो र खुशीमय जीवन बाँच्दै छन् । उता आफ्नो सहर फोहोरको थुप्रोमा पुरिनैलाग्दा हामी यता अर्काको भुइँ टल्काउन वाध्य छौँ । उता स्याहार र गतिलो उपचार नपाई बितेका आफ्ना वयोवृद्ध मातापिताको दुःखद खबरले भक्कानिँदै परेलीमा आँशु रोकेर यता अर्को रोगी बिरामीको लामो र स्वस्थ जीवनको लागि रातदिन लागिपरिरहेका हुन्छौँ । यो रहर हो भने सायद २५ प्रतिशत होला । बाँकी ७५ प्रतिशतचाहिँ विकल्पहीन भयानक वाध्यता नै हो ।
यसरी रहरले कहरले विदेशिएर पनि हरेक नेपाली युवाले कमसेकम धेरैथोरै रेमिट्यान्स भए पनि देशलाई बुझाएकै छ । ‘नहुनु मामा भन्दा कानो मामा जाति’ भनेझैँ देशको युवाशक्ति विदेशिए पनि त्यसबाट आर्जित पैसाले कमसेकम तिनका बाबुआमाले दुई पैसा देख्न पाएका छन् । तिनका परिवारले कमसेकम केही मात्रामा सुधारिएको जिन्दगी जिउन पाएका छन् र तिनका सन्तानले कमसेकम केही राम्रो शिक्षादीक्षा र उचित लालनपालन पाएका छन् । र, समग्रमा तिनका जीवनस्तर केही त बदलिएको छ । यसरी भए पनि मन बुझाउनुपर्ने अवस्था थियो र छ ।

तर, आज यही मन बुझाउने बाटो पनि क्रमशः भत्किँदै गएको आभास हुन थालेको छ । वैदेशिक रोजगारबाट आर्जित ज्ञान, अनुभव र उकासिएको जीवनस्तरसँगै क्रमशः आज धेरै नेपालीको परिवार टुट्दै जान थालेको छ । धेरैको सपना तुहिन थालेको छ । धेरै बालबालिकाको अभिभावक छुट्टिँदै छन् र तिनका मस्तिष्कमा पारिवारिक दरारको नराम्रो घाउ लाग्दै छ । र, यहि टुट्नु र फुट्नु आनि एक्लिनुको पीडामा आज धेरै नेपाली एकांकी र अपराधीपन बन्दैछन् । र तीव्र रूपमा आत्महत्या र हत्याको शृंखला बढ्दै गइरहेको छ । आखिर किन त यस्तो ? यो समस्याको जड के हो ? र यसको निदान कहाँ छ ? यो आजको अत्यन्तै गम्भीर विषय बनिसकेको छ ।

तर, गम्भीर भएर सोच्ने हो भने यी तमाम समस्याको जड हाम्रै कमजोरी हो भने यो सबको समस्याको समाधान पनि हामीसँगै छ । हामी जो आफूलाई अलिकति शिक्षित मान्छौँ, जो आफूलाई केही बुझक्कड सम्झन्छौँ । हामीले यो विषयलाई कतिको गम्भीर रूपमा लिएका छौँ ? यसै प्रसंगको कुरो चल्दा भन्ने गर्छन् कि ‘टाढा भएपछि यस्तै हो, ‘दुरी रहँदा अनेक शंका उपशंका उत्पन्न हुन्छन्’, ‘एकले अर्कोलाई बुझ्नै सकिन्न’ । यी भनाइहरू सत्य पनि हुन् तर यी नै उपरोक्त मुद्दाको अन्तिम कारण र कारक अवस्य होइन । यो विषयलाई केलाउँँदै जाँदा यस्तो लाग्छ कि देख्दा सामान्य लाग्ने यो विषय निकै जटिल बनिसकेको छ । यसलाई बुझ्न सुक्ष्मदेखि अति सुक्ष्म अनि जटिलभन्दा अति जटिल विषयहरू बुझ्न, मनन गर्न र आत्मसात गर्न जरुरी छ । र त्यसको सुरुआत हामी प्रत्येकले आफैँबाट गर्नु जरुरी छ ।
भौगोलिक दुरी त हाम्रो अकाट्य बाध्यता भयो जसलाई हरहालमा स्वीकार्नु परिरहेको छ । तर, मानसिक दुरी त हामी घटाउन सक्छौँ अवस्य । बुझ्नुपर्ने कुरो के हो भने मानसिक सन्तुष्टि र आनन्द शारीरिक आनन्दभन्दा कयौँ गुणा सन्तोषजनक हुन्छ । भेटिनुको अर्थ, सँगै रहनुको मतलब पनि त केवल दुई जनाबीच हुने शारीरिक भोक निदान मात्रै होइन । सँगै हुनु भनेको एक अर्कालाई सम्झने सम्झाउने बुझ्ने बुझाउने अप्ठ्याराहरूमा पार लाग्ने बाटाहरू पहिल्याउने र आत्मीय तागत दिँदै छातीमा टाँसेर हिम्मत र साहसको महसुस गराउनु हो । यो काम हामी दुरिमा रहँदा किन गर्दैनौँ ? दिनानुदिन बढ्दै गएको प्रविधिको प्रयोगलाई हामी गलत काम र उद्देश्यको लागि प्रयोग गर्नुको साटो आफ्नो सम्बन्ध, विश्वाश र भरोसा मजबुत बनाउन किन प्रयोग गर्दैनौँ ?

छुट्टीमा बाहिर निस्केर मन भुलाउने बहानामा रित्याइने रक्सीका बोतल किन्ने पैसाको केही हिस्सा कलिङ कार्डमा खर्च गरेर आफ्नाहरूसँग दुई÷चार वातचित गर्दै मन हलुको बनाउन सकिन्छ । डिस्को छिरेर गन्दे नाचमा उडाउने पैसा ले घन्टौँ भलाकुसारी गरेर सारा दुःखसुख बाँट्न सकिन्छ । अनलाइनमा बसेर बित्थाको भद्दा फोहोरी मजाकमा फ्याँकिने समय आफ्नाहरूलाई दिएर नजिकै रहेको आभास दिलाउन सकिन्छ । र, सकिन्छ कि ‘तिमी कुनै पनि मुस्किल समयको लागि एक्लो छैनौ । म सँगसँगै छु’ भनेर विश्वाश दिलाउन सकिन्छ । आनि यो पनि सकिन्छ कि ‘मे जे छु तिम्रो कारणले छु । तिमी छौ र त म छु’ भनेर महसुस गराउन सकिन्छ । मान्छे अपवादमा कोही जन्मजात मुर्ख र दैत्य होला तर सबै मान्छे आफ्नोपन नै चाहन्छ । साथ र माया अनि भरोसा चाहन्छ र चाहन्छ आत्मीय सम्मान । त्यति पाएपछि नपग्लिने, खुसी नहुने र भरोसा कायम राख्न लागि नपर्ने मान्छे ज्यादै कम्ती हुन्छन् ।
नजिक रहन चाहनु भनेको शारीरिक आकर्षण मात्रै पटक्कै होइन । साथमा समय बिताउनु भनेको स्पर्शको लालच मात्रै अवस्य होइन । एकले अर्कोलाई समय दिनु या समयको चाह राख्नु शारीरिक संपर्क र सम्बन्धप्रतिको आशक्ती मात्रै हुँदै होइन । हामी यहीँनेर चुक्छौँ एकले अर्कोलाई बुझ्न र सम्झन अनि भएबसेको गृहस्थी गल्र्यामगुर्लुम ढल्छ हाम्रै आँखाअगाडि केवल एक धर्सो अहं र प्रतिशोधको कारण । शरीरको मिलन हुनुभन्दा धेरै अगाडि मनहरू जोडिनु पर्छ । हृदयको सच्चा सन्तुष्टि मनहरूकै मेलबाट निस्किने इमानदार भंmकारबाट मिल्छ । दुरी चाहे होस् या नहोस् तर एक अर्काको कुरा सुन्ने, सुनाउने, समस्याहरू जान्न उत्सुक भइदिने र ढाडस दिने गर्दा जिन्दगीका आधाउधी समस्या त्यसै समाधान भएर जान्छन् ।

‘तिमी कुनै पनि अप्ठ्याराहरूमा एक्लै छैनौ । हामी साथसाथ हर दुःख झेलौँला ।’ यति सुन्न पाउँदा नै अनेक विजयको महसुस हुन्छ र हिम्मत आफैँ उत्पन्न हुन्छ । तसर्थ, जीवनको रथ सजिलोगरी गुडाउने प्रथम र मूल मन्त्र एकले अर्कोलाई समय दिने हो । त्यो समय भनेको भौगोलिक दुरीमा साथको मापन हुनेहोइन । एकअर्काप्रतिको चासो र देखभालमा गणना हुने हो । बाहिर रहनेले यो भुल्नु हुँदैन कि म किन यहाँ छु, के का लागि छु, कसकसलाई कुनकुन वाचा दिएर सपना र आशा देखाएर आएको हुँ । मैले चालेका कदमकदमले प्रत्यक्ष वा अप्रत्यक्ष कसकसलाई कस्तो असर पर्छ । के यो अवसर, पैसा, र आडम्बर सधँै रहन्छ ? के मैले अहिले चालेको यो कदम दीर्घकालीन सुखद रहला ? के यो कदमलाइ लिएर मैले जीवनको कुनै मोडमा पछुताउनु नपर्ला ? म एक्लैको सोच, सपना र योजना अनि आँट र खाँचोले यहाँ आएको हुँ र आज यो बदलिँदो योजना एक्लै बनाउँदै छु ?
त्यसैगरी घरमा रहनेले पनि सोच्नु पर्छ कि मैले खर्च गरिरहेको पैसा उसले बोटबाट टिपेर पठाएको हो र ? नचाहेको भए नपठाउन सक्थ्यो, आफ्नो परिवार, जिम्मेवारी र अथाह मायाले पो पठाएको हो । उता तर्तरी पसिना चुहाउँदै हाम्रै लागि भनेर पराइको संसारमा मिहिनेत गरिरहेको बेला म कसरी यति स्वार्थी भई मनपरी गर्न सक्छु ? हाम्रो साझा सपनाको लागि उता एक्लै तड्पिरहेको मेरो मान्छेको आत्मीयता, आफ्नोपन र अनन्त माया यो पराइको एकछिनको सामिप्यता र सान्त्वनासँग तुलना हुन सक्छ ? …भनेर छातीमाथि हात राखेर सोच्नुपर्छ ।

किनकि हृदयको नजिकपन र अनन्त आफ्नोपन भौगोलिक दुरी र भौतिक भेटको हिसाबमा मापन हुँदैन । धेरै नजिक हुँदाहुँदै पनि मानसिक हिसाबमा मिलौ टाढाको अवस्था रहन सक्छ भने भौगोलिक दुरीमा कहाँकहाँ रहे पनि मानसिक रूपमा आफ्नोपनको धर्सोमा बाँधिएर हरहमेसा साथै रहेजस्तो आभास बनाउन सकिन्छ ।जुन रहरले घर बनाइन्छ, माथिमाथि पु¥याइसकेपछि त्यही घर गल्र्यामगुर्लुम ढलेर आफैँलाई किचेर समाप्त गरेजस्तो जुन सपना देखेर घर छोडिन्छ, साथ छुट्छ र एक्लैएक्लै भूगोलको दुई बेग्लै कुनामा पुगिन्छ अनि आफ्नो धरातल र आफ्नाहरूलाई नै घात गरेर छिन्नभिन्न हुनु भनेको आफ्नो मात्र नभएर कलिला निर्दोष नानीहरूको जिन्दगी पनि तहसनहस पार्नु हो ।

तसर्थ पैसा, धनसम्पत्ती आवश्यक छ र त अलग्गिनु पर्छ तर त्यहि पैसाकै मात लागेर अन्धो हुनु या सीमित समयको लागि शारीरिक समिप्याताको तीव्र आकांक्षामा संयमित हुन नसक्नुले गर्दा भगवान्ले दिएको आशीर्वाद स्वरूपको गरिब सही भरपूर आफ्नोपनले भरिएको हराभरा गृहस्थी बिगार्नु भनेको जिन्दगीकै ठूलो चिठ्ठा हातबाट गुमाउनु हो । किनकि, भाग्यले निकै कन्जुस्याइँ गर्छ र एकाधपटक मात्रै दैलो चिहाउँछ ।
सबैले सोचौँ, धैर्य र संयम सिकौँ । आजको बाध्यात्मक आवश्यकता ‘वैदेशिक रोजगार’ को बहानामा केहीथोक पाएर सबैथोक गुमाउने गल्ती नगरौँ ।

प्रतिक्रिया