बीस किलोको ट्युमर निकालियो

मोरङ । विराटनगरमा रहेको नोेबेल अस्पतालले २० किलोको ट्युमर भएको व्यक्तिको सफल शल्यक्रिया गरेको छ । अस्पतालले सुनसरीको दुहवी–१ का मोहम्मद इस्ताकको कानको पछाडिको भागमा रहेको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । अस्पतालका वरिष्ठ न्युरोसर्जन डा. आइप चेरियन नेतृत्वको टोलीले इस्ताकको ट्युमरको सफल शल्यक्रिया गरेको र यस्तो शल्यक्रिया कमैको हुने गरेको जानकारी दिए । उनले यस्ता शल्यक्रिया गर्नका लागि धेरै मेहनत गर्नुपर्ने भएकाले पनि यो शल्यक्रिया जटिल रहेको बताए ।
यस्ताखालका ट्युमरले हड्डीमा असर गर्ने तथा नसा धेरै हुने र त्यसलाई व्यवस्थापन गर्दै शल्यक्रिया गरिएको डा. चेरियनले बताए । विगत पाँच वर्षदेखि सामान्य गाँठोजस्तो देखिएकोमा विगत एक वर्षदेखि उक्त गाँठो बढ्दै जाँदा २० किलोसम्म भएको इस्ताकले जानकारी दिए । उनले एकाएक बढ्दा आफूलाई डर लागेर अस्पताल आउँदा समस्याको रूपमा देखिएपछि शल्यक्रिया गरिएको बताए ।
आर्थिक अवस्था कमजोर रहेका बिरामीका लागि यो मुख्य समस्याका रूपमा रहने भएकाले शल्यक्रिया गर्न पनि समस्या हुने गरेको छ । चिकित्सकका अनुसार रक्त नसासँग जोडिएकाले पनि ५० प्रतिशत खतराको अवस्थामा रहेको थियो । तर, गर्दै जाँदा समस्यालाई समाधान गर्न सकेकोमा चिकित्सकले अर्को सफलता हात परेको बताए ।

प्रतिक्रिया