चुनावमा पतिपत्नीबीच झगडा

Taukoma-Tanka-lagayeko-abasthama-Padma

पोखरा २९ वैशाख । आजभन्दा १२ वर्षअघि अन्तरजातीय विवाह गरेकी कास्कीको रूपा गाउँपालिकाकी पद्मा क्षेत्री गुरुङले चुनावमा उम्मेदवार बनेकै कारण आफ्नै पतिबाट मरणासन्न हुने गरी कुटिन्छु भनेर सायदै सोचेकी थिइनन् । तर, स्थानीय निर्वाचनमा भाग लिएकै कारण उनी अस्पताल भर्ना हुने अवस्थामा पुगिन् ।स्थानीय चुनावले महिलाहरूलाई अधिकार र अवसर दुबै दिएको छ । तथापि चुनावमा मनहरू विभाजित हुन्छन् ।

एउटै परिवारका सदस्यसमेत भिन्नाभिन्नै दलमा लाग्न सक्छन् । र, भिन्नाभिन्नै दलबाट उम्मेदवारसमेत बन्न सक्छन् । तर, लोकतान्त्रिक संस्कारको विकास हुन नसकेको समाजमा यसले पद्माको परिवारमा जस्तै घरपरिवारभित्र झगडा निम्त्याउँछ । कास्कीको रूपा गाउँपालिका वडा नम्बर ५ की महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री गुरुङका लागि यो स्थानीय पतिबाटै चुनाव कुटाई खाने दुर्भाग्यपूर्ण दिनका रूपमा परिणत भयो ।
स्थानीय चुनावले लोकतन्त्र र अधिकारको अभ्यास हुनुपर्ने ठाउँमा पद्माको घरभित्रै झगडा र कुटपिट निम्त्यायो । रूपा गाउँपालिका वडा नम्बर ५ की महिला उम्मेदवार पद्मा आफ्नै पतिबाट कुटिएकी हुन् । सोही वडाको वडाध्यक्षमा टेकबहादुर गुरुङले उम्मदेवारी दिएका थिए, जो पद्माका जेठाजु हुन् । वडाध्यक्षमा उठेका जेठाजु टेकबहादुरको भन्दा फरक पार्टीबाट भाइबुहारी पद्माले सोही वडामा महिला वडा सदस्यका लागि उम्मेदवारी दिइन् । बुहारीले भिन्नै दलबाट चुनाव लडेपछि जेठाजु रिसले आगो भए । जेठाजुले बुहारीलाई उम्मेदवारी फिर्ता लिन भाइ यामबहादुर गुरुङमार्फत दबाब दिए । तर, पद्माले उम्मेदवारी फिर्ता लिन मानिनन् । जेठाजुको आग्रहअनुसार उम्मेदवारी फिर्ता नगरेको आरोपमा उनी पतिबाटै निर्घात कुटिइन् । पतिबाट कुटिएकी पद्माको टाउकोमा गम्भीर चोट लागेको छ । दाहिने हातमा भित्री चोट लागेको छ । उनको उपचार पोखराको फेवासिटी अस्पतालमा भइरहेको छ ।

उनको टाउकोमा चारवटा टाँका लगाइएको छ । उम्मदेवारी फिर्ता नलिए मार्दिन्छु भन्दै पतिले घाँटी थिच्दा घाँटीमा दाग लागेको उनले देखाइन् । फरक पार्टी र फरक विचार भएपछि गुरुङ दम्पत्तीबीच बेलाबेला सामान्य भनाभन पहिले पनि हुने गथ्र्यो । क्षेत्रीकी छोरीलाई गुरुङ परिवारले कहिलेकाहीँ घरको चुलो छुन नदिने, कुलपूजामा सामेल हुन नदिनेलगायत व्यवहार पहिलेदेखि नै हुने गरेको उनले गुनासो गरिन् ।  जब स्थानीय तहको निर्वाचन हुने भयो । एउटा कम्युनिस्ट पार्टीले रूपा गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा पद्माका जेठाजु टेकबहादुरलाई उठायो । अर्को कम्युनिस्ट पार्टीले बुहारी पद्मालाई सोही वडाको महिला वडा सदस्यमा उम्मेदवार बनायो । उम्मेदवार नै भएपछि पद्मा चुनाव प्रचारमा लाग्न थालिन् । घरकै सदस्य विपक्षमा लागेर अर्को दलको प्रचारमा जुटेको भन्दै टेकबहादुरले पद्माका पति अर्थात् आफ्नो भाइ यामबहादुरलाई आफ्नी पत्नीलाई सम्झाउन चेतावनी दिए ।
पद्माका पति यामबहादुर पोखरा लेकसाइडको कुटी रिसोर्टमा सुरक्षा गार्डको काम गर्छन् । दाजुले बोलाएपछि घर पुगेका यामबहादुरले घर पुगेलगत्तै पद्मालाई हातखुट्टा भाँचेर भए पनि दाजुलाई चुनाव जिताउँछु भने । बाहिर भाँडा माझिरहेकी पद्माले यो कुरा सुनेपछि त्यसो नभन्न र आफूलाई स्वतन्त्र रूपमा चुनाव लड्न दिन आग्रह गरिन् । त्यसपछि यामबहादुरले बुबाका घरमा पूजा छ भन्दै पद्मालाई त्यहाँबाट लिएर हिँडे । बाटामा भेटिएका मानिसहरूसँग पद्माले आफूलाई भोट दिन आग्रह गरिन् । त्यहीबेला यामबहादुरले आफ्नी पत्नीलाई देखाउँदै यसको पार्टीको अनुहार पनि हेर्न मन लाग्दैन भन्दै गाली गरे ।जवाफमा पद्माले तपाईं दाजु टेकबहादुरलाई जिताउन लाग्नुस्, म आफ्नो तरिकाले चुनाव लड्छुभन्दा तलाईं मार्दिन्छु भन्दै पिट्न खोजेपछि मानिसहरूले छुट्याए । लगत्तै उनले पद्मालाई घरमा लिएर आए । घर पुगेर कोठामा पस्नेबित्तिकै उनले घाँटी थिचेर मार्ने कोसिस गरेको र आफू उम्किएर बाँच्न सफल भएको पद्माले बताइन् ।
पिटाइ खाएपछि दिउँसो नजिकैको झाडीमा लुकेकी उनी राती घर जाँदा पछाडिबाट बाँसको चिर्पटले टाउकोमा ३ पटक र ढाड तथा हातमा प्रहार गर्दा आफू घाइते भएको उनको भनाइ छ । कुट्नका लागि सासू र देउरानीले समेत सहयोग गरेको पद्माको आरोप छ । हात भाँचिनुका साथै रगताम्मे हुने गरी कुटिए पनि उनलाई कसैले उद्धार गरेन । उनी बुधबार राती पुरानो घरमा रात काटेर बिहीबार बिहान अस्पताल आएकी हुन् ।उनले पिटाइ खाए पनि कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने अडान दोहो¥याएकी छन् । उनले हारको मानसिकताबाट ग्रसित भएर जेठाजुले आफूलाई कुटाएको गुनासो गरिन् । उनले उपचारपछि कारवाहीका लागि प्रशासनमा उजुरी दिने बताइन् । उनले आफ्नो जित सुनिश्चित रहेको पनि दाबी गरेकी छिन् ।

प्रतिक्रिया