जलविद्युत् प्रभावितलाई मुआब्जा वितरण

muabja bitran

तनहुँ २८ वैशाख । तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण हुने एक सय ४४ मेगावाट क्षमताको तनहँु जलविद्युत् आयोजनाका प्रभावित बसिन्दालाई ३२ करोड ९५ लाख चार हजार आठ सय ७१ मुआब्जा वितरण गरिएको छ । एक सय ७० जना प्रभावितलाई उक्त मुआब्जा वितरण गरिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँकी लेखापाल राधिका गौतमले प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिने काम भइरहेको बताइन् । जग्गाको अवस्था हेरेर प्रतिरोपनी दुई लाखदेखि आठ लाखसम्म मुआब्जा दिइएको जानकारी उनले दिइन् ।

आयोजनाको बाँधस्थल साविक काहुँ, शिवपुर, जामुने, कोटदरबार, रिसिङ, रानीपोखरी, भिमादलगायत गाविसका बासिन्दालाई मुआब्जा उपलब्ध गराइएको बताइएको छ ।त्यस क्षेत्रका बासिन्दाका लागि ६५ करोड ७० लाख मुआब्जा वितरण गरिने प्रजिअ फणिन्द्रमणि पोख्रेलले बताए । आयोजनाले एक हजार दुई सय ५० रोपनी जग्गाका धनीलाई मुआब्जा रकम वितरण गर्ने जनाएको छ ।

आयोजनाले चार वर्षअघि झापुटारका प्रभावित क्षेत्रका बासिन्दालाई प्रतिआना एक लाखदेखि तीन लाखसम्म मुआब्जा दिएको थियो । त्यतिबेला आयोजनाले एक सय ३८ रोपनी जग्गा प्राप्त गर्दा ४२ करोड मुआब्जा वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया