पर्सा । स्थानीय मीना बजारको कम्प्लेक्समा व्यापारीले सढे गलेको माछा बिक्री गर्ने गरेकाले छेउछाउका वातावरण दुर्गन्धित हुनाका साथै हैजाको महामारी फैलिने आशंका बढेको छ ।वीरगञ्ज उपमहानगरपालिकाले सो कम्प्लेक्स ठेक्कामा लगाए पनि आफ्नो जिम्मेवारीबाट पन्छिँदै गएकाले माछाको दुर्गन्ध फैलिँदा नजिकै रहेको सरकारी कार्यालयका कर्मचारी तथा स्थानीयवासीलाई समेत असर परेको छ । भारतको आन्द्र प्रदेशबाट एकसाताको बाटो तय गरी वीरगञ्ज भन्सार नाकाबाट भित्रिने यस्ता दुर्गन्धित माछा पशु क्वारेन्टन चेक पोस्टका कर्मचारीहरू आर्थिक लाभमा परी इजाजत दिने गरेकाले उपभोक्ताहरू अस्वस्थकर माछा खान बाध्य भएका हुन् । यस्ता सडेगलेको र दुर्गन्धित माछा बिक्री गर्ने काम समयमा नरोकिए हैजा फैलिने सम्भावना बढेर जाने स्थानीयवासी शंकर खतिवडाले बताए ।
दैनिक १५ देखि २० क्विन्टलसम्म माछा भारतबाट नेपाल भित्रिने तथा उक्त माछा ताजा राख्न व्यापारीले बरफ र घातक रसायन प्रयोग गर्ने भएकाले यसको प्रयोगबाट उपभोक्ताको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै आइरहेको अर्का स्थानीयवासी राजु खड्गीको भनाइ छ ।नगरपालिकाले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक नगरेकाले आमनागरिक दुर्गन्धको सिकार भएका छन् । माछाको दुर्गन्धले सरकारी कर्मचारी तथा स्थानीयवासी प्रभावित भएको बारे जिज्ञासा राख्दा वीरगञ्ज उपमहानगरपालिकाको कार्यकारी अधिकृत पीताम्बर अधिकारीले गैर जिम्मेवारीपूर्वक भने, ‘माछा गन्हाउँछ भने मैले के गर्ने ?’
विक्कीप्रसाद गुप्ताले ठेक्का लिएको सो कम्प्लेक्सभित्र माछा बजारलाई व्यवस्थित नगर्दा बजार दुर्गन्धित भएकोबारे प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेसँग जिज्ञासा राख्दा उनले माछा व्यापारी र नगरपालिकाका कर्मचारीलाई बोलाएर छलफल गरी माछा बजार व्यवस्थित गर्न निर्देशन दिइसकेको बताए ।
अत्यधिक गर्मीका कारण व्यापारीले ल्याउने सढेगलेका माछा, मासु पसलबाट निस्कने फोहर पानीले वातावरण दुर्गन्धित पार्ने भएकाले सोको व्यवस्थापन समयमा नगरिए आउँदा दिनमा वीरगञ्जमा हैजाको महामारी फैलन सक्ने चिकित्सकहरुको सुझाव छ ।
प्रतिक्रिया