महोत्तरी २५ वैशाख । विभिन्न स्थानमा सार्वजनिक रूपमै बाजा बजाएपछि यहाँ ध्वनि प्रदूषण बढेको छ । विवाह, व्रतबन्ध, पूजाजस्ता कार्यमा यहाँका सडकमा दिउँसै समाजलाई अपच हुने किसिमको गीत बाजामार्फत बजाएपछि ध्वनि प्रदूषणका कारणले जनजीवन प्रभावित हुने गरेको छ ।जात्रापर्वमा मनोरञ्जनका लागि बाजा बजाएपछि आसपासलगायत छिमेकीको जनजीवन नै प्रभावित हुँदै आएको गौशाला नगरपालिका–१२ का चन्देश्वर सिंहले बताए । यसबाट राती चोरी, डकैतीजस्ता घटना बढ्ने सम्भावना प्रबल रहेको सिंहको भनाइ छ ।
त्यस्तै जन्तीका साथमा आउने डिजेसँगै नृत्य गर्ने जन्ती र स्थानीयवासी युवाबीच तालमेल नमिल्दा विवाहको समयमै कतिपय स्थानमा ठूलो विवाद हुँदै आएको गौशाला नगरपालिका–१ का नरेशकुमार महतोले बताए । प्रहरी प्रशासनले समेत यस्ता ध्वनि प्रदूषण रोक्नका लागि कुनै ठोस कदम उठाउन नसक्नु दुःखद रहेको उनको प्रतिक्रिया छ ।मनोरञ्जनका नाममा वातावरण नै प्रदूषित हुने गरी बाजा बजाउनेलाई कारबाही गरिनुपर्ने शिक्षिका सुनिता कुमारीले बताए । ध्वनिको मात्रा कम गरी मनोरञ्जनको साधन बजाउन उनले सुझाव दिए । यस्ता ध्वनि प्रदूषण रोक्ने उपायबारे छिट्टै जिल्ला प्रहरी कार्यालय महोत्तरीले ठोस नीति ल्याउने प्रहरी उपरीक्षक लम्सालले बताए ।
प्रतिक्रिया