म्याग्दी । म्याग्दीको तीनवटा ग्रामीण बस्तीमा एकै साथ खानेपानी आयोजना निर्माण भएको छ । जिल्ला समन्वय समितिअन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएको आयोजनाबाट एक सयभन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका– ६ घारमा बिरौटा, मङ्गला– २ तल्लो हिदीमा पात्लेपानी र मालिका– ४ ओखरबोटमा खालखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरिएको परियोजनाले जनाएको छ । एक करोड १६ लाख ७५ हजार १ सय ४५ रुपैयाँको लागतमा निर्माण भएको तीनवटा आयोजनाबाट एक सय १९ घरधुरीका सात सय ७३ जनसंख्या लाभान्वित भएका परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिए ।
यसै महिना सञ्चालनमा आएका तीनवटै आयोजनामार्फत प्रभावित क्षेत्रका सबै उपभोक्ताको घरमा निजी धारा जडान भएको छ । परियोजना, जिल्ला समन्वय समिति र गाउँपालिकाको अनुदान सहयोगमा उपभोक्ताले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् । उपभोक्ताले कुल लागतको ३५ प्रतिशत श्रमदान गरेका छन् । सार्वजनिक धारा र असुरक्षित मुहानको पानी खानेपानी उपभोग गर्दै आएका सर्वसाधारणको घरमै धारा जडान भएपछि समयको बचतसँगै दैनिकी सहज भएको बिरौटा खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ठाकुर बरुवालले बताए ।
उनकाअनुसार पानीको मितव्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि मिटर जडान तथा मासिक न्यूनतम शुल्क निर्धारण गरिएको छ । परियोजनामार्फत म्याग्दीमा थप चारवटा खानेपानी आयोजना निर्माणाधीन छन् ।
प्रतिक्रिया