सात वर्षदेखि दाम्लामै छन् रक्की

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका नौ वर्षीय रक्की सुनारलाई परिवारले घरभित्रै डोरीले बाँधेर राख्दै आएका छन् । मस्तिष्कको राम्रो विकास नभएका सुनारलाई परिवारजनले दुई वर्षको उमेरदेखि नै बाँधेर राख्दै आएका हुन् ।‘जे पायो त्यही खाइदिने र जता मन लाग्यो त्यतै हिँडिदिने भएकाले घरभित्रै बाँधेर राख्दै आएका छौ’, रक्किकी बज्यै हिरादेवी सुनारले भनिन्, ‘पहिले आमा, बुबा भनेर बोल्थ्यो, हाल बोल्नसमेत नसक्ने अवस्थामा छ ।’ घरको आर्थिक अवस्था कमजोर भएकाले सामान्य उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लगे पनि ठीक हुन नसकेको उनले बताए ।
एक कट्ठा ऐलानी जग्गामा बनेको छाप्रोमा बस्दै आएको सुनार परिवारसँग कमाई खाने जग्गा नहँुदा घरका महिलाले दैनिक दाउरा बिक्री गरी साँझ–बिहानको छाक टार्दै आएका छन् । रक्कीका बुबा रमेश कहिलेकाहीँ मजदुरी गर्न भारततर्फ जाने गरेका छन् । ‘दाउरा बिक्री गरेको पैसाले खानलाई त पुग्दैन’, हिरादेवीले भनिन्, ‘उपचार खर्च गर्नका लागि पैसा चाहिन्छ त्यो हामीसँग छैन ।’ जथाभावी दिसापिसाब गर्ने भएकाले रक्कीलाई परिवारजनले खानपिनमा पनि ध्यान नदिँदा उनको शरीरसमेत सुक्दै गएको छ ।
‘कुपोषणका कारण आँखाभित्र पसेका छन्, हातखुट्टा पूरै सुकेका छन् । हाड र छाला मात्रै बाँकी छ’, समाजसेवी कमल विकले भने, ‘चाँडै उपचार नपाए ज्यान जाने खतरासमेत छ ।’ बन्धनमुक्त गरी उपचार गरिदिने दाताको खोजीमा रहेको उनले बताए ।‘परिवारको आर्थिक अवस्था दयनीय भएकाले दाताले सहयोग जुटाए नौ वर्षीय बालकको ज्यान बच्ने थियो’, उनले भने । राम्रो अस्पतालमा उपचार पाए उनी ठीक हुने भएकाले उपचारका लागि आर्थिक सहयोग जुटाउन सबैको हातेमालो जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया