कुनै घटनाले निर्वाचन रोकिँदैन ः प्रधानमन्त्री

prachanda copy
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जुनसुकै अवस्थामा पनि स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने सरकारको प्रतिबद्धता रहेको बताएका छन् ।
आफ्नै निजी निवास लाजिम्पाटमा सोमबार सिन्धुपाल्चोकमा क्रियाशील कांग्रेस र एमालेका विभिन्न तहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले निर्वाचन हुँदैन कि भनेर कुनै पनि आशंका नगर्न आग्रह गरे । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोगको प्रस्तावका कारण निर्वाचन रोकिन्छ कि भनेर विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त भइरहेको बेला प्रधानमन्त्रीले भने ‘मंगलबार निर्वाचन आयोगले उम्मेदवारी मनोनयनको कार्यक्रम राखेको छ । पहिलो चरणमा हुने निर्वाचनका लागि प्रक्रिया सुरु हुन्छ, महाअभियोग र निर्वाचनसँग कुनै पनि साइनो सम्बन्ध छैन ।’
प्रधानमन्त्रीले निर्वाचनको सम्पूर्ण प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा कोही कसैले व्यक्त गर्ने आशंका र कुनै पनि पक्षबाट आउने आक्षेपले सरकार विचलित नहुने र निर्वाच्न गराएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे ।
‘महाअभियोग दर्तापछि राजनीतिमा तरंग आएको छ, तर महाअभियोग संसदीय प्रक्रियामा जान्छ, यसले निर्वाचनमा कुनै असर गर्दैन’, उनले भने, ‘भोलि मनोनयन दर्ता हुन्छ र ३१ वैशाखमा पहिलो चरणको निर्वाचन सम्पन्न हुन्छ, यसमा कुनै भ्रम पाल्न जरुरी छैन, निर्वाचनमा भाग लिने सबै राजनीतिक दल भ्रममा नपरी भोलिको मनोनयनमा सहभागी हुनुहोस् ।’
प्रधानमन्त्री दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा सोमबारैै आफूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता खड्गप्रसाद ओलीसँग छलफल गरेको जानकारी गराउँदै राष्ट्रको आवश्यकता र जनताको चाहना निर्वाचन मात्रै रहेको बताए ।
मधेसवादी दलले समेत निर्वाचनमा आउने इच्छा व्यक्त गरेको र पहिलो चरणको निर्वाचनको प्रक्रिया अगाडि बढाउँदै लैजाने र संविधान संशोधनको प्रक्रिया पनि अगाडि बढाउने सन्दर्भमा सहमति जनाएको उनले बताए । प्रधानमन्त्रीले पहिलो पटक सिंहदरबारको अधिकार गाउँ नगरमा पुगेको र त्यसका लागि माओवादी नेतृत्वको वर्तमान सरकार नै प्रमुख हिस्सेदार रहेको बताउँदै निर्वाचनलाई सफल बनाई जनताले आफ्नो अधिकार लिने बेला आएको छ भने ।
सो अवसरमा कांग्रेस सिन्धुपाल्चोकका जिल्ला समिति सदस्य बुद्धराज बस्नेत र स्थानीय नेता पशुपति बस्नेतको नेतृत्वमा ४० जना तथा एमालेका जिल्ला समिति सदस्य दुर्गा नेपालको नेतृत्वमा २० जना, संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य रामसिंह लामा, ताम्सालिङ नेपाल राष्ट्रिय पार्टीका केन्द्रीय सदस्य राजन भोम्जन, तेजेन्द्र लामा, शङ्कराज तामाङ, लक्ष्मी तामाङ र टेकराज जोशीलगायत माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
नवप्रवेशीलाई प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका नेता अग्नि सापकोटा, नेता केशव नेपाल र सरल सहयात्री पौडेलले स्वागत गरेका थिए ।

प्रतिक्रिया