एमालेले छान्यो उम्मेदवार

काठमाडौं । एमालेले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ । काठमाडौं र ललितपुर महानगरबाहेकका उम्मेदवार टुंगो लगाएको छ । दुई महानगरमा उम्मेदवारको विषयमा गुटगत विवाद भएपछि काठमाडौं र ललितपुरमा भने टुंगो लागेको छैन । काठमाडौं र ललितपुरमा उम्मेदवार छान्न अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ । काठमाडौंमा विद्यासुन्दर शाक्य, जीवनराम श्रेष्ठ र सावित्रा भुसालको नाम सिफारिस भएको छ । तर केही नेताहरूले पूर्वमेयर केशव स्थापितलाई अघि सार्नुपर्ने बताएका छन् । उनको नाममा सहमति जुटाउने प्रयास जारी छ ।
काठमाडौं महानगरको उम्मेदवार छान्न बसेको एमाले स्थायी कमिटी बैठकमा स्थापितको नामले प्रवेश पाएको हो । पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा शंकर पोखरेलले उनको नाम प्रस्ताव गरेका थिए । उपाध्यक्ष वामदेव गौतमले उनको नाम समर्थन गरेका थिए ।
ललितपुर महानगरमा जिल्ला अध्यक्ष हरिकृष्ण व्यञ्जनकारको नाम सिफारिस गरिएको छ । बैठकले पोखरा लेखनाथ महानगरपालिकाका लागि प्रमुखमा मानबहादुर जीसी र उपप्रमुखमा मञ्जु गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी भरतपुर महानगरपालिकाका लागि प्रमुखमा देवी ज्ञवाली र उपप्रमुखमा दिव्या आचार्यलाई अघि सार्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिकको प्रमुखमा हरिबहादुर महतलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।

प्रतिक्रिया