कुलमानलाई भोट हाल्न पाए लाइनमै बस्थेँ ः राई

parbati-rai
काठमाडौं । १९ वर्षपछि मुलुकमा हुन लागेको स्थानीय निर्वाचनले मोडल पार्वती राईलाई कुनै उत्साह थपेको छैन । काठमाडौंको अस्तव्यस्त, धुलो–धुवाँ र हिलो व्यवस्थापनमा यो चुनावले असर पार्छ जस्तो उनलाई लाग्दैन । उदयपुरकी पार्वती काठमाडौंमा बस्छिन् । काठमाडौंको अस्तव्यस्तताले दिक्क भएपनि यसलाई पार लगाउने विषयमा कुनै पनि दलका नेता गम्भीर नभएको उनको आरोप छ । ‘म त चुनाव आयो भनेर कत्ति पनि उत्साहित छैन । चुनावले पात्र मात्रै फेर्ने हो, प्रवृत्ति फेर्दैन’, उनले भनिन् ।
अहिले मुलुकमा भएकामध्ये एकजना मात्रै नेताप्रति उनलाई विश्वास छ । ‘जनार्दन शर्मा र कुलमान घिसिङलाई भोट हाल्न पाए लाइन बसेर भएपनि हाल्थेँ’, उनले भनिन् ।
शर्मा ऊर्जामन्त्री भएपछि लोडसेडिङ अन्त्य भएको भन्दै नेताले चाहेमा हरेक समस्या समाधान गर्न सक्ने उनी बताउँछन् । देशमा नेताहरूले चाहे भने काम गर्न सक्छन् । तर गर्नै नचाहने धेरै भएको उनको भनाइ छ ।
मन्त्री शर्मा र विद्युत् प्राधिकरणका सीइओ घिसिङले राम्रो काम गरेको अनुभव गरेकी पार्वतीले घिसिङलाई राजनीतिमा ल्याउनुपर्ने धारणा व्यक्त गरिन् । ‘अहिलेका नेताहरूले राम्रो काम गर्न सक्दैनन्, अब कुलमान घिसिङजस्ता व्यक्तिलाई राजनीतिमा ल्याउनुप¥यो । उहाँहरूले आफ्ना कार्यकर्ताभन्दा माथि उठेर काम गर्नुहुन्छ’, उनले थपिन् । मतदाता सूचीमा उनको नाम उदयपुरमा छ । यसपाली भोट हाल्न जानुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘त्यहाँ पनि खासै गतिला नेता छैनन्, म जान्नँ ।’ नेताहरूले मुलुकका लागि काम नगर्नुमा सर्वसाधारण जनता पनि दोषी भएको अनुभव उनले गरेकी छन् ।

प्रतिक्रिया